दमौली अस्पतालमा थाइराइड, आँखा र दाँत उपचारको सेवा शुरु
सेवाग्राहीलाई सहज रुपमा औषधि उपलब्ध गराउन पनि ध्यान दिनुस् : उपप्रमुख जोशी
- भञ्ज्याङ समाचारदाता (दमौली)
वि.सं. २०३४ सालमा स्वास्थ्यचौकीको रुपमा स्थापना भई हाल अस्पतालका रुपमा सेवा प्रवाह गर्दै आएको दमौली अस्पतालले विभिन्न उपचार सेवाहरु थप्दै गएको छ । वि.सं. २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भई वि.सं. २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पताललाई अत्याधुनिक बनाउने प्रयास भइरहेको छ । यही प्रयास अन्तरगत शुक्रबारबाट दमौली अस्पतालमा थाइराइड, आँखा र दाँत सेवा शुरु गरिएको छ । अस्पताललाई व्यवस्थित एवं अत्याधुनिक बनाउने प्रयास स्वरुप यी सेवाहरु सञ्चालनमा ल्याएको हो । थाइराइड, आँखा तथा दाँत सेवाको शुक्रबार व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशी र दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले संयुक्त रुपमा उद्घाटन गरी शुभारम्भ गरिएको छ ।
अस्पतालले थप गरेको सेवा शुभारम्भ गर्दै नगर उपप्रमुख जोशीले सदरमुकाममा रहेको जिल्ला अस्पतालमा सेवा विस्तार हुनु खुसीको कुरा भएको बताइन् । ‘न्यून आयस्तर भएका सर्वसाधारणले स्वास्थ्य उपचार सेवा लिने सरकारी अस्पताललाई अत्याधुनिक र सहज रुपमा उपचार सेवा लिन सक्ने बनाउनुपर्छ’, उपप्रमुख जोशीले भनिन्, ‘अस्पताललाई आधुनिक उपकरण थप्दै त गइएको छ तर, सर्वसाधारणले निःशुल्क पाउनुपर्ने औषधीहरु सहजै प्राप्त गर्न नसकेको गुनासो पनि बढ्दै गएको हुँदा यस तर्फअस्पताल प्रशासन तथा अस्पताल व्यवस्थापन समितिले ध्यान दिनुपर्छ ।’
‘दमौलीका मात्रै नभई छिमेकी जिल्लाका सर्वसाधारणले समेत उपचार सेवा लिने यो अस्पताललाई सबै क्षेत्रबाट सहयोग र साथको खाँचो छ’, उपप्रमुख जोशीले भनिन्, ‘अस्पतालको स्तरोन्नतिका लागि जग्गाको व्यवस्थापन तथा अन्य सेवा सुविधा थप गर्नका लागि आवश्यक सहयोग सहकार्यका लागि नगरपालिका सकरात्मक रहेको छ ।’
दमौली अस्पताललाई सरकारले ३५ शैय्या खरिदका लागि बजेट उपलब्ध गराइसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताए । सामान्य उपचारका लागि पोखरा, चितवन र काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य गर्नका लागि अस्पताल सुधारको कामलाई तीब्रता दिइएको छ भने नयाँ नयाँ उपकरण पनि थप भइरहेको अध्यक्ष अधिकारीले बताए ।
दमौली अस्पतालबाटै थाइराइड सेवा शुरु भएपछि सर्वसाधारण यसको उपचारका लागि महङ्गो शुल्क तिरेर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुने र निजी ल्याब भन्दा ४० प्रतिशत कम शुल्कमा अब अस्पतालले नै थाइराइडको परीक्षण गर्ने व्यवस्था मिलाएको अध्यक्ष अधिकारीले जानकारी गराए ।
अस्पताललाई गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ मूल्य पर्ने थाइराइड परीक्षण उपकरण उपलब्ध गराएको छ । अध्यक्ष अधिकारीका अनुसार अस्पतालबाटै आँखाको शल्यक्रिया गर्नका लागि पनि पहल भइरहेको छ । शल्याक्रियाका लागि उपकरण ल्याउन पहल भइरहेको हुँदा आँखाका बिरामीलाई पनि शल्यक्रियाका लागि अन्यत्र जानु नपर्ने गरी काम भइरहेको अध्यक्ष अधिकारीले बताए । अस्पतालमा नयाँ दाँत हाल्ने सेवा पनि थप गर्न लागिएको छ । हाल उक्त बाहेक सबै दाँतका सेवा अस्पतालबाट प्रदान भइरहेको छ । दाँतको उपचारका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ। उक्त मेसिन खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रकम उपलब्ध गराएको थियो । उक्त मेसिनलाई करिब ५० लाख रुपैयाँ मूल्य पर्ने बताइएको छ ।
त्यस्तै, अस्पतालको उपचार सेवाका विषयमा जानकारी गराउँदै नेत्ररोग विशेषज्ञ डा. सुधा रानाभाटले उपकरण थप गर्न सकिए अस्पतालबाटै शल्यक्रिया सेवा दिन सकिने बताए । दन्तरोग विशेषज्ञ डा. सुनिल सुवेदीले शुरुवाती दिनमा दाँतको सेवा दिन कठिनाई रहेपनि उपकरण थप भएपछि सहज भएको बताउँदै कृत्रिम दाँत हाल्ने व्यवस्था मिलाउन समितिलाई अनुरोध गरिएको बताए ।
अस्पतालले हालै प्रसुतीरोग विशेषज्ञको समेत व्यवस्था गरी प्रसुती सेवा समेत शुरु गरेको छ । यसअगाडि पनि अस्पतालमा प्रसुती सेवा सञ्चालनमा रहेपनि विशेषज्ञ चिकित्सकको सरुवा भएपछि उक्त सेवा बन्द हुन पुगेको थियो । कार्यक्रममा दमौली अस्पतालका प्रमुखु डा. सुनिल पौडेलले अस्पतालको ल्याबलाई पूर्ण स्वचालित बनाइएको बताए । उनले भने, ‘सघन उपचार कक्षा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अस्पताल सुधारका धेरै काम भएको हुँदा सर्वसाधारणले सहज रुपमा सेवा प्राप्त गर्न सक्ने अवस्थामा हामी पुगेका छौं ।’
अस्पतालमा केही समय अगाडी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० लाख रुपैयाँ बराबर मूल्यको एनेस्थेसिया उपकरण उपलब्ध गराएको र उक्त उपकरण जडान पश्चात बिना अक्सिजन शल्यक्रिया गर्न सक्ने व्यवस्था भएको पनि प्रमुख डा. पौडेलले जानकारी गराए। यस्तै, १५ शैय्याको अस्पताललाई ५० शैय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुइ सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन मुख्यमन्त्रीसंग अनुरोध गरिसकिएको छ ।
कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गा मध्येबाट पाँच रोपनी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गा मध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन अस्पताल व्यवस्थापन समितिले माग गर्दै आएको छ । अस्पतालले हाल ४२ शैय्यामा सेवा प्रवाह गरिरहेको छ । अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, र्सजन, बालरोग, प्रसुतिरोगका विशेषज्ञ डाक्टरको दरबन्दी थप हुने बताइएको छ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवा समेत प्रदान गर्दै आइरहेको छ ।










