म्याग्देको एकीकृत घुम्ती शिविर : महिला, वृद्धवृद्धाले सहज रुपमा सेवा लिए

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट विशेष गरी ग्रामीण क्षेत्रका महिला, वृद्धवृद्धा तथा अपाङ्गता भएका सर्वसाधारणले लाभ लिएका छन् ।

गाउँपालिबाट प्रवाह हुने सेवा सहज रुपमा जनताकै घरदैलोमा उपलब्ध गराउने उद्देश्यका साथ गाउँपालिकाले प्रत्येक वडा र टोलटोलमा पुगेका एकीकृत रुपमा सेवा प्रवाह गरेको छ ।

एकीकृत घुम्ती शिविर अन्तर्गत गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य परीक्षण सेवाबाट ९१४ जना महिलाहरुले पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण सेवा लिएका छन् । महिलाहरुमा अत्याधिक समस्या हुने पाठेघरको मुखको क्यान्सर परीक्षणमा पालिकाका ५ वटा वडा भित्रका महिलाहरुले सो सेवा लिएका हुन् ।

यसमध्ये ३६ जना महिलाहरुमा भिआइए पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका महिलाहरुलाई थप उपचारका लागि सम्वन्धित निकायमा सिफारिश गरिएको स्वास्थ्य शाखाका प्रमुख दिनेश पण्डितले बताए । भिआइए पोजेटिभ सबैभन्दा बढि वडा नं. १ को मान्ह्रौमा गरिएको परिक्षणमा ८ जनालाई देखिएको प्रमुख पण्डितले बताए । वडा नं ७ को समिधारामा ४ जना, रानीश्वारामा ७ जनालाई पोजेटिभ देखिएको छ भने बाख्रेमा ३ जनालाई देखिएको उनले बताए ।

शिविरमा इम्प्लाण्टको सेवा ७ जना, आयुसिडी २५ जना, पिल्सको २ जना, हिस्टोरिक्टोमि १ जना, रिङ्ग प्रेसरी ३१ जना, साइटाइटिस १ जना, व्हृवाइट डिस्चार्ज ८४ जना, पिआइडी ३ जना, भ्यागलिन्टस ५ जनाले सेवा लिएका छन् । यसैगरि रेक्टोसेल ५ जना, साइटोसिल १४ जना, सरभाइटिस २३ जना, सि इरासोलन ५ जना, प्रोल्याप्सी ४३ जना, सि पोलिप ४३ जना महिलाले शिविरवाट सेवा लिएका छन् ।

यस्तै, वडा नं. ७ स्वामीधाराका सोमबहादुर सार्की शारीरिक रुपमा अपाङ्गता छन् । चार वर्ष अगाडी काम गर्दा गर्दै अचानक ढलेका सार्की त्यसपछि आफ्नै सहारामा उठ्न सकेका छैनन् । उठ्न पर्‍यो भने उनलाई परिवारको सहारा चाहिन्छ ।

सार्कीको दैनिक हृविलचियरबाट चलिरहेको छ । घरको मूली नै शारीरिक अपाङ्गता भएपछि परिवार चिन्तित छन् । सार्कीले हालसम्म अपाङ्गता परिचयपत्र पाएका थिएनन् । परिचयपत्र बनाउन गाउँपालिकाको कार्यालयसम्म जान असमर्थ सार्कीलाई गाउँपालिकाले घरमै ल्याएर परिचयपत्र प्रदान गर्दा उनको मुहारमा खुशी छाएको छ । गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरको अवसरमा वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले घरमै पुगेर सार्कीलाई निलो रङ्गको परिचयपत्र प्रदान गरे ।

‘अपाङ्ग भइसकेपछि अपाङ्गता परिचयपत्र बनाउनका लागि जान कोशिस गरेतापनि पालिकाको कार्यालय धेरै टाढा पर्छ, जान आउन पनि समस्या हुँदै आएको थियो’, उनले भने, ‘गाउँपालिकाले घरमै ल्याएर दिँदा राहतको महशुस भयो ।’ अपाङ्गता परिचयपत्र प्राप्त गरेपछि सरकारी तवरबाट प्राप्त हुने सुविधा पाउनेमा सार्की विश्वस्त छन् ।

म्याग्दे-७ स्वामीभञ्ज्याङका ६३ वर्षीया देउमाया भुजेलले घर नजिकैबाट ज्येष्ठ नागरिक परिचयपत्र पाए । ज्येष्ठ नागरिक परिचयपत्र बनाउन एक घण्टा भन्दा बढीको पैदल र सवारी यात्रा गरी गाउँपालिको कार्यालयसम्म पुग्नुपर्ने बाध्यता रहेको उनले घरदैलोमा नै परिचयपत्र पाउँदा खुशी लागेको बताए । ‘ज्येष्ठ नागरिक परिचयपत्र बनाउन गाउँपालिकाको कार्यालयसम्म पुग्नुपर्दा समस्या हुँदै आएको थियो’, उनले भने, ‘गाउँपालिकाले घरदैलोमा नै ल्याएर परिचयपत्र दिँदा सहज भयो ।’

सोही ठाउँका ज्येष्ठ नागरिक रामबहादुर थापा जनप्रतिनिधि तथा कर्मचारीले घरदैलोमा नै ल्याएर परिचयपत्र दिएकामा हर्षित छन् । ‘यो भन्दा ठूलो कुरा हाम्रा लागि के हुन्थ्यो र, स्थानीय सरकार त भनेको सुनेका थियौ, व्यवहारमा नै महशुस भयो’, उहाँले खुशी हुँदै भने, ‘सेवा लिन गाउँपालिकाको कार्यालयमा धाउनुपरेन, घरदैलोमा पनि पायौ ।’ वडा कार्यलय टाढा पर्ने र वृद्धावस्थामा हिँडेर जान नसक्ने अवस्था भएकाले घरदैलोमा नै परिचयपत्र पाउँदा राहत मिलेको थापाले बताए।

हनिलो रङ्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेपछि मासिक सामाजिक सुरक्षा भत्ता बापत रु तीन हजार उपलब्ध गराउने प्रावधान रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले दिए । सोही वडाका ५९ वर्षीय कृष्णबहादुर विकले घरमै कोभिड-१९ विरुद्धको खोप लगाउन पाउँदा खुशी लागेको बताए । उनले भने, ‘खुट्टा काटिएर अपाङ्ग भएर बस्नुपरेपछि खोप लगाउन जान पनि सकेको थिइँन, सबैले खोप लगाइसकेपनि आफू खोप केन्द्रसम्म जान नसक्दा घरमा नै आएर खोप लगाइदिएको आभारी छु ।’

जनतालाई घरदैलोमा नै सेवा दिने उद्देश्यले आयोजित एकीकृत घुम्ती शिविरका अवसरमा आठ सय २५ जनाले ज्येष्ठ नागरिक परिचयपत्र पाएका छन् । विभिन्न वडामा गरी दश जना अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

‘स्थानीय सरकार जनताको नजिकको सरकार हो, वडा तथा गाउँपालिकासम्म आएर सेवा लिनुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिका नै स्थानीयको घरदैलोमा पुग्ने अभ्यास सुरु गरेका हौ’, अधिकारीले भने, ‘यसले गर्दा र्सवसाधारणलाई राहत मिलेको अनुभूति भएको छ ।’

एकीकृत घुम्ती शिविरका अवसरमा महिला स्वास्थ्य सेवा अन्तर्गत महिलाहरुको पाठेघर परीक्षण, देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेषण एवं परामर्श सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए । यसका साथै एकीकृत घुम्ती शिविरमा परिवार नियोजन परामर्श सेवा, कोभिड-१९ विरुद्धको पहिलो, दोस्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुर्वेद सेवा, स्वास्थ्य बीमा सेवा प्रदान गरिएको छ ।

बहिरङ्ग सेवा अन्तर्गत बिरामीहरुको स्वास्थ्य परीक्षण, उपचार तथा औषधी वितरण, प्रयोगशाला सेवा अन्तर्गत रगतमा ग्लुकोजको परीक्षण, खकार परीक्षणका लागि नमुना संकलन, औलो रोगको परीक्षण हुनेछ । जन्म, मृत्यृ, बसाइसराइको सेवा घुम्ती शिविरबाटै प्रदान गरिएको छ ।

प्रशासन शाखा अन्तर्गत व्यवसाय दर्ता, राजश्व संकलन, मालपोत तथा भूमिकर संकलन सेवा प्रदान गरिएको छ । कृषि तथा पशुशाखा अन्तर्गत बीउविजन वितरण एवं कृषि अनुदान माग संकलन, गोबर परीक्षण र नतिजाको आधारमा पशुपंक्षीलाई औषधि वितरण, बाख्रा, पाठालाई बन्ध्याकरण, पशुको उपचार सेवा प्रदान गरिएको छ ।

असोज ३० गतेदेखि कात्तिक ४ गतेसम्मको दोस्रो चरणको शिविर वडा नम्बर ५, ६ र ७ मा सञ्चालन हुनेछ । यसअघि पहिलो चरणको शिविर असोज २ गतेदेखि असोज २८ गतेसम्म वडा नम्बर १, २, ३ र ४ मा सम्पन्न भइसकेको छ ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनता सधैं वडा र पालिकामा आउने नभई पालिका पनि जनताको घरमा जानुपर्छ भन्ने उद्देश्यसहित एकीकृत शिविर आयोजना गरिएको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker