सडक व्यवस्थापनका लागि उद्योग वाणिज्य संघ तनहुँको आग्रह

दमौली : पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सड्क खण्ड विस्तारसंगै सडक सुरक्षालाई व्यवस्थित गर्न आग्रह गरिएको छ । तनहुँ उद्योग वाणिज्य संघले मुग्लिन–पोखरा सडकको पूर्वी खण्ड (आँवुखैरेनी–जामुने) व्यवस्थापनका लागि विभिन्न माग गरेको छ । संघले यो खण्डमा सिसिटिभी जडान, ट्राफिक लाइट, पार्किङ लगायतलाई व्यवस्थित गर्न माग गरेको हो ।
काठमाडौदेखि पोखराको बीच भागमा पर्ने दमौली बजार क्षेत्र सबैभन्दा धेरै जनघनत्व र आवत जावत हुने गर्दछ । दमौली क्षेत्रको सडकलाई विशेष सुरक्षित, सुन्दर, सभ्य र व्यवस्थित गर्नु हाम्रो मुख्य कर्तव्य र जिम्मेवारी रहेको संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रले बताए ।
उनले भने, ‘हाम्रा अपेक्षा समस्याहरु अनगिन्ती छन्, ती मध्ये प्राथमिकता र सम्भावनाको आधारमा सम्पन्न गर्दै जानुपर्दछ। यी समस्या समाधान गर्नका लागि बजार क्षेत्रमा व्यवस्थित तवरले सिसि टिभि क्यामेरा जडान गर्नुपर्दछ। यात्रुको आवात जावतलाई सुरक्षित एवं व्यवस्थित बनाउन भोर्लेटार चोक, सफासडक चोक एवं दुर्गा मन्दिरचोकमा ट्राफिक लाईटको तत्काल व्यवस्थापन गर्नु नितान्त जरूरी छ। लामो दुरीको यात्रुहरू चढ्ने र ओर्लने ठाउँ तत्काल किटान हुन जरूरी छ ।’
हाइवेको डिभाइडरमा रोपिएका बोट विरुवाको संरक्षणका लागि पनि हाइवेको थप व्यवस्थापन जरूरी रहेको उनको भनाई छ । पार्किङको उचित व्यवस्थापन स्थानीय निकायको सहकार्यमा गरिनु आवश्यक रहेको भन्दै उनले दुई पाङग्रे, तीन पाङग्रे एवं चार पाङग्रे सवारी साधनको पार्किङको सहि व्यवस्थापन नहुँदा बजार क्षेत्र थप अव्यवस्थित एवं असुरक्षित बनेको अध्यक्ष मिश्रले बताए ।










