तनहुँ सेवा समाज युएइको सहयोगमा विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण
भञ्ज्याङ समाचारदाता (मिर्लुङ)

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढुङ्गास्थित अरनिको माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि वितरण गरिएको छ । तनहुँ सेवा समाज युएइको सहयोगमा विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई आइतबार पोशाक र शैक्षिक सामाग्रि वितरण गरिएको हो ।
अरनिको माध्यमिक विद्यालयको पूर्व विद्यार्थी मञ्चले आयोजना गरेको कार्यक्रममा ४५ जना विद्यार्थीलाई विद्यालय पोशाक र ३० जना विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरिएको मञ्चका अध्यक्ष गलबहादुर गुरुङले बताए ।
मञ्चका अध्यक्ष गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा भानु नगरपालिका-१३ का वडाअध्यक्ष रामबहादुर बानियाँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. होमबहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष विष्णुसिंह गुरुङ लगायतले तनहुँ सेवा समाज युएइलाई धन्यवाद व्यक्त गर्दै शैक्षिक सामग्रीले विद्यार्थीको पठनपाठनलाई नियमित बनाउन सहयोग पुग्ने बताए ।
त्यस्तै, सोही अवसरमा पूर्व विद्यार्थी मिलन गुरुङले २० थान झोला हस्तान्तरण गरेका थिए भने, कार्यक्रममा भानु-१३ का प्रकाश थापाले पुर्व विद्यार्थी अक्षयकोषका लागि १० हजार रुपैयाँ हस्तान्तरण गरेको अध्यक्ष गुरुङले जानकारी गराए ।










