बन्दिपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउँदै
भञ्ज्याङ समाचारदाता (बन्दिपुर)

तनहुँको बन्दिपुर गाउँपालिकाले आफ्नै पाठयक्रम निर्माण गर्ने भएको छ । आगामी शैक्षिक सत्र २०७८ देखि लागू गर्ने गरी गाउँपालिकाले स्थानीय पाठयक्रम निर्माणको तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । पाठ्यक्रम निर्माणका लागि प्रमुख प्रशासकीय अधिकृत सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिमा विभिन्न विद्यालयका प्रधानाध्यापक र समाजसेवी सदस्य रहेका छन् ।
आफ्नै पाठयक्रम निर्माण गरी आगामी शैक्षिक सत्रबाट लागू गर्ने नीतिअनुसार अहिले काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । गाउँपालिका भित्रका आर्थिक, सामाजिक, जातीय, सांस्कृतिक, धार्मिक, पर्यटकीय, ऐतिहासिक, कृषि, राजनीति लगायतका क्षेत्रलाई समेटेर पाठयक्रम निर्माण गर्न लागिएको गाउँपालिकाकी उपप्रमुख करुणा गुरुङले बताइन् । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सबै गाउँपालिकावासीको भावना समेटिने गरी पाठयक्रम निर्माण गरिने बताए । पाठयक्रम निर्माणका क्रममा सबै क्षेत्रको सुझाव पनि समेटिने उनले बताए ।










