देवघाटका कृषकहरुलाई गाईभैंसी पालन तालिम

भञ्ज्याङ समाचारदाता देवघाट
तनहुँको देवघाट गाउँपालिकाले व्यवसायिक रुपमा गाईभैंसी पालनमा कृषकहरुलाई सहजिकरण गर्ने उद्देश्यले गाईभैंसी पालन तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले वडा नं. १ कोटामा तीन दिने गाईभैंसी पालन तालिम सम्पन्न गरेका छ । वडाका ४२ जनालाई उक्त तालिम प्रदान गरिएको छ ।
उक्त तालिमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले कोरोना प्रभावका कारण रोजगार गुमाएका गाउँपालिकाका युवाहरुलाई अब पशु तथा कृषि कर्ममा लाग्न अनुरोध गर्दै यसका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताएका थिए ।
‘पशु तथा कृषि मार्फत गाउँपालिकाको समृद्धि र विकासमा योगदान पुर्याउन सकिने हुँदा बेरोजगार सबै युवाहरु अब पशु तथा कृषि कर्ममा लाग्नु पर्दछ’, अध्यक्ष थापाले भने, ‘यो पेशामा आवद्ध हुन चाहाने युवालाई आवश्यक पर्ने सबै क्षेत्रको सहयोग र सहजिकरण गर्न गाउँपालिका तयार रहेको छ ।’
देवघाट-१ का वडाध्यक्ष भिम बहादुर गुरुङको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले युवाहरुलाई व्यवसायिक रुपमा कृषि पशुपालन क्षेत्रमा अग्रसर गराउन गाउँपालिकाले बजेटको व्यवस्थापन गरेको हुँदा त्यसको उपभोग गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा कार्यपालिका सदस्य चन्द्रप्रकाश बि.क., वडा सदस्य नानुमाया बि.क., बगमाया गुरुङ, सुन्दर भुजेल, मन बहादुर गुरुङ, देवघाट गाउँपालिका इन्जिनियर प्रमुख तिर्थराज ढुंगाना, देवघाट गाउँपालिका पशु शाखा प्रमुख पुर्णचन्द्र अधिकारि र देवघाट गाउँपालिका सवडिभिजन वन कार्यालय प्रमुख नवराज घिमिरे लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।










