पर्यटक लोभ्याउन तनहुँमा थपिँदै पर्यटकीय गन्तव्य

कृष्ण न्यौपाने

कोभिड-१९ का कारण डेढ वर्षदेखि मुलुक आक्रान्त छ । कोरोना महामारीबाट पर्यटन क्षेत्र पनि अत्यधिक मारमा परेको छ । कोभिड-१९ का कारण तनहुँका पर्यटकीय गन्तव्य लामो समयसम्म सुनसान रहे । पर्यटकको भीडभाड रहने गन्तव्य सन्नाटा छाउँदा व्यवसायी निराश बनेका छन् । कोरोना प्रभावकै बीच जिल्लामा नयाँ पर्यटकीय गन्तव्य थपिएका छन् । भीमाद नगरपालिका-९ मोहोरियास्थित अग्लो ढुंगा, म्याग्दे गाउँपालिका-२ मा रुखमाथि बनेको घर, म्याग्दे गाउँपालिका-५ मा थाङ्दी झरना र ब्यास नगरपालिका-५ स्थित मानुङकोट महामारीबीच अत्यधिक चर्चामा रहे।

अग्लो ढुंगा र रुखमाथि बनेको घर नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । मानुङकोट पनि यसबीचमा पर्यटकीय क्षेत्रका रुपमा परिचित भयो । अग्लो ढुंगा सिंगारेर उद्यान बनाइएपछि यहाँ आन्तरिक पर्यटकको चहलपहल हृवात्तै बढेको स्थानीयवासी शिवकुमार आलेले बताउनुभयो । “गन्तव्य बनाउनकै लागि ढुंगा सिंगारेर उद्यान बनायौं,” उहाँले भन्नुभयो, “यसले कोरोनाकै बीचमा थुप्रै आन्तरिक पर्यटकलाई तान्न सफल भयो ।”

घाङ्च ल्हुमको अर्थ मगर भाषामा अग्लोे ढुंगा हुन्छ । मोहोरियाको जंगलमा अग्ला ढुंगा परापूर्वकालदेखि नै थिए । झट्ट हेर्दा आकर्षक देखिने चुच्चे अग्ला ढुंगा त्यसमै सीमित थिए । अहिले तिनै ढुंगालाई सिंगारेर उद्यान बनाइएको छ । जंगलमा बेवारिसे ढुङ्गाको प्रयोग गरी चिटिक्कको उद्यान बन्ला भन्ने कोहीले कल्पना नगरेको वडा सदस्य बाबुराम राना बताउनुहुन्छ ।

“जंगलको बीचमा थियो । तीन वर्षअघि जंगल फाँडेर देखिने बनायौँ । अहिले उद्यान बनेको छ”, उहाँले भन्नुभयो । गण्डकी प्रदेश सरकारको रु २० लाखको लागतमा सो उद्यान निर्माण गरिएको हो। उद्यान निर्माण गर्न स्थानीयवासीले दश प्रतिशत लागत सहभागिता बेहोरेका छन् । उद्यान बनेपछि पर्यटक आउने क्रम सुरु भएको वडाध्यक्ष इमानबहादुर थापाले बताउनुभयो ।

“सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा तस्बीर प्रकाशन भएपछि पर्यटकको आकर्षण बढेको हो”, उहाँले भन्नुभयो, “आन्तरिक पर्यटकको संख्या हृवात्तै बढेको छ ।” उद्यानमा चराको गुँड पनि बनाइएको छ । ढुंगाको खोपिल्टोमा चराचुरुंगीले पानी पिउन मिल्ने गरी सानो पोखरी र चराको चुच्चोबाट पानीको फोहारा झार्ने संरचना निर्माण गरिएको छ । घांच ल्हुम आसपासको क्षेत्र ढुंगाले चिटिक्क पारिएको छ ।

भीमाद-९ मा नै चमेरो गुफामा अवलोकन विन्दु बनाइएको छ । चमेरो हेर्न गुफाभित्र पस्ने प्रवृत्तिले प्रभाव पारेको थियो । चमेरो लोप हुन नदिनलाई गुफाभित्रै पस्न नमिल्ने तर अवलोकन गर्न मिल्नेगरी संरचना बनाइएको छ । चमेरो गुफाबाट मोहोरियाको घाङ्चल्हुम जोड्नलाई रेलिङसहितको सिँढी बनाइएको छ । गतवर्षविनियोजित रु २० लाखको लागतमा चार सय मिटर रेलिङसहितको सिँढी र चमेरो अवलोकन विन्दु निर्माण गरिएको हो । कोरोनाकै बीचमा थपिएको अर्को पर्यटन गन्तव्य हो रुखमाथि बनेको घर ।

म्याग्दे गाउँपालिका-२ ज्यानटाङ सामुदायिक वनस्थित थुम्काईलो डाँडोमा निर्माण गरिएको घरले धेरै पर्यटकको ध्यान खिचेको छ । चिलाउनेको रुखमाथि बनाइएको काठको घरले धेरै पर्यटकलाई आकर्षित गरेपछि कोरोनाकै बीचमा केही समय उक्त ठाउँमा पर्यटकलाई प्रतिबन्धसमेत लगाइएको थियो ।

“यो ठाउँ पर्यटकीय गन्तव्य बन्न सफल भयो, धेरै पर्यटक आउने गरेका छन्”, सामुदायिक वनका अध्यक्ष इश्वर रानाभाटले भन्नुभयो, “रुखलाई भित्रपट्टी पारेर काठले बनाइएको घर दुइ तल्लाको छ । छानोसमेत काठैले छाएको यो घरलाई ‘टि्र हाउस’ नामाकरण गरिएको छ । सामाजिक सञ्जाल फेसबुक र टिकटकमा ‘टि्र हाउस’ यतिबेला भाइरल बनेको छ।”

महामारीकै बीचमा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन सफल भएको छ म्याग्दे गाउँपालिका-५ थाङ्दीमा रहेको थाङ्दी झरना । सुनसान खोँचमा रहेको उक्त झरनाको सुन्दरता नियाल्न आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । कान्छी बाराही मन्दिरसँगै रहेको सो झरना आन्तरिक पर्यटनको गन्तव्य बनेको छ । झरनाको दृश्य नियाल्न र चिसो पानीमा डुबुल्की मार्न आउने आन्तरिक पर्यटकको ओइरो लाग्ने गर्छ । तीन वर्षदेखि चर्चामा आएको झरना कोरोना महामारीको समयमा झन् चर्चामा आउन सफल भएको छ ।

व्यास नगरपालिका-५ स्थित मानुङकोट पनि पछिल्लो समय गन्तव्यको रुपमा विकास भइरहेको छ । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्ट िशिरमा मानुङकोटको डाँडो अवस्थित छ । दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाउँदाको मस्त दृश्यपान गर्न लालायित आन्तरिक पर्यटकको भीडले गतवर्ष हलचल नै मच्चायो । कोरोनाको बेवास्ता गर्दै एकैदिन दश हजारभन्दा बढी पर्यटक मानुङकोटको डाँडो उक्लिए ।

व्यास नगरपालिका-५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले गत वर्षको दसैँपछि मानुङकोट एकदमै प्रचारमा आउन सफल भएको बताउनुभयो । “हामी निर्वाचित भएर आएपछि मानुङकोटको पहिचान गरी पर्यटकीय गन्तव्य बनाउन जुटिरहेका थियौं । पूर्वाधार निर्माणकै चरणमा छ । तर गतवर्ष दसैँपछि पर्यटकको संख्या हवात्तै बढ्यो,” उहाँले भन्नुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker