हाम्रो संस्कृति र जनैपूर्णिमा

के.बि. मसाल

हिन्दूहरुको पवित्र पर्व जनैपूर्णिमा अर्थात ऋषितर्पणी नयाँ जनै धारण र रक्षा–बन्धन गरी मनाउने गरिन्छ । तागाधारीहरुले नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन । हिन्दू धर्मशास्त्र अनुसार जनैलाई ब्रम्हासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रम्हा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। जनैपूर्णिमा पर्व हिन्दूहरुको पवित्र सस्कृति हो। यो पुस्तौँदेखि निरन्तर अभ्यास, अनुशासन, र सामाजिक हस्तान्तरणद्वारा निर्मित साझा जीवन पद्धति हो । संस्कृति केवल भौतिक पक्ष नभई आत्मिक, बौद्धिक र आध्यात्मिक पहिचान पनि हो । संस्कृति नासियो भने कुनै जातिको मौलिक पहिचान, आत्मविश्वास र सामाजिक एकता खण्डित हुन्छ ।

जनैपूर्णिमाको दिन रक्षाबन्धन पनि गरिन्छ । विशेष गरी तागाधारीहरुबाट सप्तऋषि गौतम, भरद्वाज, विश्वामित्र, जमदग्नि, बशिष्ठ, कश्यप र अत्रिलाई तर्पण दिने भएकाले यस पर्वलाई ऋषि तर्पणी समेत भन्ने गरिन्छ । तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइका नाडिमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक राखी बाँधिदिने प्रचलन छ । यस पर्वमा नौ प्रकारका गेडागुडी मिसाएर पकाइएको क्वाँटी खाने गरिन्छ। क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षातका कारण चिसो भएको शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ । नेवारी समुदायले भने यस पर्व अर्थात जनै पूर्णिमामा गुन्हु पुन्ही मनाउने प्रचलन छ ।

व्रतबन्धलाई चूडाकर्म पनि भनिन्छ । यो परम्परागत हिन्दु संस्कार हो । संस्कृत भाषामा व्रत भन्नाले प्रतिज्ञा बुझिन्छ भने बन्ध भन्नाले बन्धन बुझिन्छ । व्रतबन्धको प्रतीक जनै ग्रहण गर्ने धार्मिक प्रक्रिया पनि हो । हिन्दु धर्ममा मानिसको आयुलाई ४ भागमा विभाजन गरियको छ। ब्रह्मचर्याश्रम ० देखि २५ वर्षसम्म, गृहस्थाश्रम २५ देखि ५० वर्षसम्म, वानप्रस्थाश्रम ५० देखि ७५ वर्षसम्म अनि सन्यास आश्रम ७५ भन्दा बढी । बालकको व्रतबन्ध प्रायः बाल्यावस्थामा नै गरिन्छ । बालकको उमेर ८ वर्ष पूरा भएपछि उ ब्रह्मचर्यको कर्म निर्वाह गर्न सक्षम मानिन्छ र प्राय यही उमेरमा उस्को व्रतबन्ध गरिन्छ । त्यसैले यस कार्यलाई उपनयन पनि भनिन्छ । व्रतबन्धको प्रतीक स्वरुप बालकले जनै ग्रहण गर्दछ अनि त्यस पछि सदैव चोखो खाने, सत्कर्ममा लाग्ने, जनै ग्रहण गर्ने, गायत्री मन्त्रको जप गर्ने, खानु अगाडि अपसानी अर्पण गर्ने जस्ता नित्य कर्महरुको पालन गर्ने प्रण गर्दछ ।

जनैको महत्व

यज्ञोपवीत जनै आर्य संस्कृतिको चिन्ह हो, यो विद्याको चिन्ह र यज्ञको वेशभूषा हो । मर्यादा पुरुषोत्तम श्रीराम, योगिराज श्रीकृष्ण, कैलाशपति शिव, चतुर्मुख ब्रह्माजी, महाराजा जनक, माता पार्वती, वाचक्नवी गार्गी, सीता, माता दुर्गा, माता रुक्मिणी, माता सरस्वती, देवी कुन्ति सतिसाध्वी द्रौपदी आदि सबै नरनारीहरु जनै धारण गर्दथे । यद्यपि आजकाल नारीले यो जनै धारण गर्ने परम्परालाई विस्थापीत गरियो जुन न्यायसंगत छैन साथै वैदीक परम्परा विपरित पनि छ ।

जनैलाई उपवीत, यज्ञसूत्र, व्रतबन्ध, बलबन्ध, मोनीबन्ध तथा ब्रह्मसूत्रका नामले पनि चिनिन्छ । यसलाई उपनयन संस्कार पनि भनिन्छ । हिन्दू समाजका हरेक वर्ग जनै धारण गर्न सक्छन । जनै धारण गरेपछि मात्रै द्विज बालकलाई यज्ञ तथा स्वाध्याय गर्ने अधिकार प्राप्त हुन्छ। द्विजको अर्थ हो अर्को जन्म । जनै धारण गरेर मात्र हुँदैन त्यसका नियमहरु पनि पालना गर्नु पर्दछ। सनातन धर्मका २४ संस्कारहरुमध्ये एक उपनयन संस्कार अन्तर्गत जनै धारण गर्नु हो । यसलाई यज्ञोपवीत संस्कार पनि भनिन्छ । कपाल मुण्डन गर्नु र पवित्र जलमा स्नान गर्नु पनि यस संस्कारमा पर्दछ । प्राचीनकालमा शिष्य, सन्त तथा ब्राह्मण बनाउनका लागि दीक्षा दिने प्रचलन थियो । त्यसैगरी जनैको पनि एक गहिरो रहस्य छ । एक विशिष्ट अभिप्राय र मर्यादा तथा एक पावन सन्देश छ । यसमा तीन दण्ड अर्थात तीन डोरा, नौ सूक्ष्म तन्तु र पांच शिखा वा गांठा हुन्छन जसलाई पञ्चशिखा भनिन्छ ।

तीन मात्र डोरा किन ?

एउटा जनैमा तीन धागा–डोरा वा सूत्र हुन्छन । हामी कहाँ तीन संख्याको ठूलो महत्व छ । सत्व, रज र तम तीनगुण, पृथ्वी अन्तरिक्ष र भूलोक गरी तीन लोक गार्हपत्य, आहवनीय र दक्षिण तीन अग्नि ईश्वर, जीवात्मा र प्रकृति आदि सत्ता पनि तीन छन अतः जनैमा तीन डोरा हुनु सुसंगत छ । जनै ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रममा रहंदामात्र धारण गरिन्छ । चतुर्थ आश्रम संन्यास आश्रममा पुगेपछि यसलाई उतारेर विसर्जन गरिन्छ । यस अभिप्रायले पनि जनैमा तीन धागा अथवा सूत्र हुन्छन ।

जनैका तीन दण्ड डोरा, सूत्र ले मन, बचन र कर्मको एकताको शिक्षा दिन्छन। जे मनमा छ त्यही वचनमा हुनुपर्छ र सोही अनुसार कर्ममा पनि उतार्नुपर्दछ । जब मन, वचन र कर्म एक हुन जान्छन मनुष्य महात्मा बन्दछ, अन्यथा त्यो दुरात्मा बन्दछ । तीन दण्ड सूत्रको एक अर्को पनि रहस्य छ त्यो यो हो कि कार्यदण्ड, वाग्दण्ड र मनोदण्ड अर्थात शरीर, वाणी र मनलाई संयममा राख्नु । कार्यसंयमद्वारा ब्रह्मचर्य पालन, गुरुजनहरुको आदर सत्कार, अहिंसा र तप आदि । वाणी संयमद्वारा सत्य, हितकारी र मधुर भाषण र स्वाध्याय गर्नु । मन संयमद्वारा मनका विकारहरू दूर गरी त्यसलाई शुद्ध र पवित्र संकल्पले मुक्त बनाउनु एवं सार्थक चिन्तन गर्नु । जनैधारीका लागि शरीर, वाणी र मनको यो संयम अत्यावश्यक छ ।

तीन धागामा एक अर्को रहस्य पनि लुकेको छ । यो संसार त्रिगुणात्मक छ सत्व, रज र तम तीन पोयाले समस्त प्राणी बांधिएका छन । जनैका तीन धागाले यसैको स्मरण गराउंदछन कि हामीले यस संसारबाट निस्कनु छ, मुक्त हुनु छ। संन्यासी संसारको माया, मोह र ममताबाट निक्लेर जान्छ । यस कारण ‘संन्यास आश्रममा जनै फुकालिन्छ ।

गायत्री मन्त्र

यस मन्त्रलाई महामन्त्र, गुरुमन्त्र र सावित्री मन्त्र पनि भनिन्छ ।
ॐ भूर्भुवः स्वः। तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात ।।
अर्थः
भूः सत्यस्वरूप ! प्राण ! सकल जगत्को जीवनको आधार, प्राणभन्दा पनि प्रिय ! स्वयंभू !
भुवः सर्वज्ञ ! अपान ! अशेष दुःखहरुबाट रहित! सम्पूर्ण जीवजगतको दुःख दूर गर्ने!
स्वः (आनन्द ! व्यान ! नाना विध जगत्मा व्यापक भएर सबैलाई धारण गर्ने, सबैका आनन्द साधन तथा आनन्ददाता)
सवितुः (सर्वजगत उत्पादक, सर्वेश्वर्य प्रदाता, सकल संसारका शाषक, समग्र शुभ प्रेरणा दिने ।)
देवस्य (सर्व–सुखप्रदाता, कमनीय, दिव्य गुणयुक्त)
वरेण्यम (स्वीकार गर्न योग्य, अतिश्रेष्ठ, वरणीय)
तत् (त्यस जगत प्रसिद्ध)
भर्गः (शुद्धस्वरुप, पवित्रकारक, चैतन्यमय पापनाशक तेजलाई)
धीमहि (हामी धारण गरौं तथा ध्यान गरौं)
यः (जो)
नः (हाम्रा)
धियः (बुद्धिहरुलाई)
प्रचोदयात (शुभ प्रेरणा गरुन अर्थात नराम्रा कर्महरुबाट हटाएर उत्तम कर्ममा प्रवृत्त गरुन ।)

सत्व, रजहाम्रो सस्कृति र जनै पुर्णिमा, तम, यी तीन गुणहरुले यो संकेत गर्दछन, कि यी तीन गुणहरुदेखि माथि उठेर त्रिगुणातीत हुनुपर्दछ । माता, पिता र आचार्य यी तीन गुरु हुन । यी तीनै जनाको आदर, सम्मान र सत्कार गर्नु पर्दछ । जनै र ‘गायत्री’को परस्पर घनिष्ट सम्बन्ध छ । यससंगै परमेश्वर परमाणु को सर्वश्रेष्ठ नाम ‘ओमु मा अक्षर पनि तीन छन अ, उ र म । महाव्याहुति पनि तीन नै छन ‘भूः भुवः स्वःु र गायत्री मन्त्रमा पाद पनि तीन नै छन ‘तत्सवितुर्वरेण्यमु ‘भर्गो देवस्य धीमहिु ‘धियो यो नः प्रचोदयातु ।

रक्षाबन्धन के हो ?

येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु । यसले तिमी सुरक्षित बन, विचलित नहोउ भनि धागोरडोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा हिन्दु धमावलम्वीबीच आज पनि त्यत्तिकै प्रचलित छ । समयको परिवर्तनसंगै तागाधारी जनैधारीहरु को संख्या घट्दै गएपनि जनैपूर्णिमाको दिन भने मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन डोरो उक्त मन्त्र पढ्दै ब्राम्हणले यजमानको नाडीमा बाँधिए रक्षा हुन्छ भन्ने प्रचलनलाई सबैले स्विकार गरेको पाइन्छ ।

यसैगरी जनैपूणीमाकै दिन देह शुद्ध गरी देवता, सप्तषि तथा पितृको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ‘ऋषितर्पणीुका नामले पनि चिनिन्छ । यस दिन सप्तषिद्र्वारा कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ । त्यस दिन एघारथरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।

पर्वको पौराणिक कथा

पौराणिक कथा अनुसार देवराज इन्द्र र दैत्यराजबीच १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो। यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे। यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बाँच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिएका थिए । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस भनी रक्षाको विधान श्रावण मासको पूर्णिमाको शुभ मूहूर्तमा इन्द्रलाई रक्षाको बन्धन बांध्दै निम्न मन्त्र जप्नुहुन्छ ।
येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल ।।

तत्पश्चात इन्द्राणीले इन्द्रको दाहिने हातमा रक्षासूत्र बाँधे र जुन रक्षासूत्र बांध्नाले देवराज इन्द्र विजयी बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो । त्यही रक्षासूत्रको सम्झना गर्दै रक्षाबन्धन बाँध्ने प्रचलन रही आएको छ ।

अर्को एक कथा अनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासंग राखी बांध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी बांध्दछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । त्यसै अनुरुप यस दिन यमदुत र यमुनाको कथा अनुसार दिदी बहिनीले दाजुभाईलाई राखी बांध्ने प्रचलन पनि चल्दै आएको छ । यस्तै, तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रुपमा पनि लिइन्छ । त्यस दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायू र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker