मादीमा तालसहित बस्ती विकासका योजना तयार गरिने

भञ्ज्याङ समाचारदाता
तनहुँको व्यास नगरपालिकाले मादी नदी किनारका क्षेत्रको एकिकृत विकासका लागि गुरुयोजना निर्माणका लागि सम्झौता गरेको छ । नगरको पर्यटन प्रवर्द्धनका लागि भन्दै वडा नं. ३ र ५ मा पर्ने मादी नदीलाई तालका रुपमा विकास गरी अघि बढाउने सम्बन्धी प्रस्ताव गत वर्ष भएको लगानी सम्मेलनमा पनि प्रस्तुत गरिएको थियो ।
सोही कार्यलाई अघि बढाउनका लागि गुरुयोजना तयार पार्न नगरपालिकाले प्रतिष्पर्धाबाट छनोट भएको कम्पनी इकोकोड नेपाल तथा प्यारागन जेभीसँग सम्झौता गरेको हो । संस्थाले मादी आसपासका १८ किलोमिटर क्षेत्रका ३, ४, ५, ६, ७ र १० नम्बर वडामा बस्ती विकाससहितका कार्यक्रमका लागि पनि गुरुयोजना बनाउने भएको छ । नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपानेले इकोकोडका प्रतिनिधि प्रवेश अधिकारीसँग यस सम्बन्धी सम्झौता गरेका छन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल तथा इञ्जिनियर राजु पौडेल लगायत सहभागी थिए ।










