तनहुँमा पुँजीगत खर्च ११ महिनामा ५० प्रतिशत मात्र

चालु आर्थिक वर्ष सकिन लाग्दा तनहुँमा पुँजीगततर्फको बजेट आधा मात्रै खर्च भएको छ । आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा वर्षरिका लागि छुट्याइएको पुँजीगत बजेट आधा खर्च भएको हो । चालु आवको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा विनियोजित बजेटको ५०.१८ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । संघबाट प्राप्त रु तीन अर्ब ८१ करोड २४ लाख १४ हजार आठ सय २९ मा ११ महिना अवधिमा ४६.५७ प्रतिशत खर्च भएको कोलेनिकाका कोष नियन्त्रक विनोद भट्टराइले जानकारी दिए ।
भट्टराइका अनुसार चालुतर्फ ८२.३० प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ रु नौ अर्ब १६ करोड १४ लाख ६७ हजार ६१३ विनियोजन भएकामा रु सात अर्ब ५४ करोड तीन हजार चार खर्च भएको छ । गण्डकी प्रदेश सरकारमार्फत विनियोजित विकास बजेट संघको भन्दा नौ प्रतिशत बढी खर्च भएको छ । प्रदेशको पुँजीगततर्फ ५५.४८ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ रु दुइ अर्ब ६० करोड ३७ लाख छ हजार विनियोजन भएकामा रु एक अर्ब ४४ करोड ४५ लाख ४१ हजार तीन सय १४ खर्च भएको कार्यालयले जनाएको छ ।
प्रदेशमा चालुतर्फ रु ८६ करोड ५८ लाख २९ हजार नौ सय ८० विनियोजन भएकामा रु ४७ करोड ५८ लाख ५४ हजार छ सय ३२ अर्थात् ५४.९६ प्रतिशत बजेट खर्च भएको छ । योजना छनोट गरेर लागू गरेपछि सुरुको त्रैमासिकमा बोलपत्र प्रक्रिया हुने, त्यसपछि बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्न तीन महिना लगाउने र कामको रफ्तार नबढाउने लगायतका कारणले विकास बजेटको खर्च न्यून देखिएको कोष नियन्त्रक भट्टराइले बताए ।
कार्यालयका अनुसार ११ महिनामा संघ र प्रदेशको गरी ५०.१८ प्रतिशत विकास -पुँजीगत) बजेट खर्च भएको छ । पुँजीगत बजेट रु छ अर्ब ४१ करोड ६१ लाख २० हजार आठ सय २९ मा रु तीन अर्ब २१ करोड ९८ लाख ७३ हजार आठ सय ६० खर्च भएको छ । त्यस्तै चालुतर्फभने ७९.९४ प्रतिशत खर्च भएको छ । चालु तर्फ रु दश अर्ब दुइ करोड ७२ लाख ९७ हजार पाँच सय ९३ विनियोजन भएकामा रु आठ अर्ब एक करोड ५८ लाख ५८ हजार एक सय चार अर्थात् ७९.९४ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।










