निषेधाज्ञामा पनि तनहुँ जलविद्युत आयोजनाको काम धमाधम

भञ्ज्याङ समाचारदाता/दमौली

कोरोना संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले गत वैशाख २२ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण सबै क्षेत्र बन्द छन् । निषेधाज्ञाका बीचमा पनि एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम भने धमाधम भइरहेको छ । स्वास्थ्य मापदण्ड अपनाएर आयोजनाको कामलाई गति दिइएको आयोजनाले जनाएको छ । गत वर्षको निषेधाज्ञामा पनि आयोजनाको काम रोकिएको थिएन ।

आयोजनाको तीन वटै प्याकेजका कामलाई निरन्तरता दिइएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । प्याकेज १, प्याकेज २ र प्याकेज ३ का कामहरू धमाधम सञ्चालन भइरहेको घिमिरेले बताउनुभयो । “निषेधाज्ञामा काम रोकिएको छैन, सबै सुरक्षा अपनाएर कामलाई गति दिएका छौ,” उहाँले भन्नुभयो । केही समयअगाडि मात्रै सम्झौता भएको प्याकेज १ को कामका लागि निर्माण कम्पनीले आवश्यक तयारी शुरु गरेको छ । आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजको काम शुरु गर्न तयारी थालिएको छ । उक्त कामका लागि आयोजनाले सोङ्ग दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन (प्र.) लि. नेपाल जेभीसँग सम्झौता गरेको थियो ।

घिमिरेका अनुसार भियतनामी कम्पनी र नेपाली कम्पनीका प्रतिनिधिहरू फिल्डमा खटिएका छन् । दुवै कम्पनीका गरी २५ जना पूर्वतयारीको काममा जुटेको घिमिरेले बताउनुभयो । प्याकेज २ अन्तर्गतको विद्युतगृह निर्माणका लागि पनि काम भइरहेको छ । त्यसका लागि कर्मचारी र श्रमिक गरी तीन सय ७० परिचालित छन् । प्याकेज २ को कामका लागि दुइ सय ५० श्रमिक क्याम्पभित्रै छन् । कोरोना जोखिम भएका कारण वरपरका केही सीमित श्रमिकमात्रै काममा परिचालन गरिएको छ ।

“बाहिरका श्रमिकलाई पनि भित्रै राखेर काम गराउने गरी तयारी गरिएको छ, आवतजावत हुँदा जोखिम हुने भएकाले सबैलाई भित्रै राखेर कामलाई गति दिन्छौ,” घिमिरेले भन्नुभयो । यो प्याकेजका लागि ४५ जना चिनियाँ पनि परिचालित छन् । प्याकेज २ अन्तर्गत सात भागमा एकैचोटि काम भइरहेको छ । यो प्याकेज अन्तर्गत केबुल सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युतगृह खन्ने कार्यहरूको अतिरिक्त सर्च ट्याङ्कतर्फको पहुँच सुरुङ र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फो पहुँच सुरुङको निर्माण कार्य भइरहेको छ ।

प्याकेज ३ अन्तर्गतको प्रशारणलाइन निर्माणका लागि ३० जना श्रमिक परिचालित छन् । प्रशारण लाइन निर्माणका लागि टावर फाउण्डेशनको काम जारी छ । २३ वटा टावर निर्माणका लागि काम सम्पन्न भइसकेको र दश ठाउँमा काम शुरु भइरहेको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker