महङ्गीको विरोधमा एमाले मोर्चा संगठनको विरोध
भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमालेमा आबद्ध मोर्चा संगठनहरुले आइतबार तनहुँको दमौलीमा महङ्गी र भ्रष्टाचारको विरोधमा विरोध प्रदर्शन गरेका छन् । विभिन्न मोर्चा संगठनको संयुक्त आयोजनामा र्याली सहितको विरोध प्रदर्शन गरिएको हो ।
एमाले पार्टी कार्यालयबाट निस्किएको विरोध र्यालीले दमौली बजारका विभिन्न भाग परिक्रमा गरी अनसनचोकमा कोणसभा परिणत भएको थियो । कोणसभामा नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर रानाले महङ्गी र भ्रष्टाचार नियन्त्रणमा सरकारले ध्यान नदिएको आरोप लगाए । उनले अर्थमन्त्रीले बजेट निर्माणका क्रममा वेइमानी गरेको आरोप लगाउँदै गण्डकी प्रदेश सरकारले करको दर बढाएर जनताको ढाँड सेक्ने काम गरेको बताए ।
युवासंघ तनहुँका अध्यक्ष मदन तिमिल्सिनाको अध्यक्षतामा आयोजित विरोध कार्यक्रममा एमाले व्यास नगर कमिटीका अध्यक्ष वीरेन्द्र अधिकारी, युथफोर्सका अध्यक्ष अजित पन्थ लगायतले पाँच दलीय सरकार जनताका लागि भन्दा पनि सत्ताका लागि हानथाप गरिरहेको बताए ।










