व्यासले नकुहिने फोहोर कार्यालय प्राङ्गणबाटै व्यवस्थापन गर्ने

तनहुँको व्यास नगरपालिकाले दमौली बजार क्षेत्रबाट संकलन हुने नकुहिने फोहोर कार्यालय प्राङ्गणबाटै व्यवस्थापन गर्ने भएको छ । कार्यपालिका बैठकले फोहोर व्यवस्थापनका लागि अर्को व्यवस्था नहुँदासम्मका लागि नकुहिने फोहोर कार्यालय प्राङ्गणमा राखेर व्यवस्थापन गर्ने निर्णय गरेको हो।
नकुहिने र पुनः प्रयोगमा आउने सामग्री व्यवस्थापनका लागि जग्गा खरिद प्रक्रियामा रहेकाले सोको टुङ्गो नलागेसम्म वा अर्को व्यवस्था नभएसम्म कार्यालय परिसरमा व्यवस्थापन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
दमौली बजार क्षेत्र लगायतका स्थानबाट साउन १ गतेदेखि नगरपालिकाले फोहोर संकलन गरेको छैन । जसका कारण चोक चोकमा फोहोर थुप्रिदै गएपछि कार्यपालिका बैठकले अर्को व्यवस्था नभएसम्मका लागि वैकल्पिक रुपमा कार्यालय प्राङ्गणबाटै व्यवस्थापन गर्ने भएको छ ।
नगरपालिकाले यसअघि वडा नं. ३ मादीनदी किनार स्थित भतेरीमा नकुहिने फोहोर व्यवस्थापन गर्दै आएकोमा सम्झौता अवधि सकिएपछि फोहोर व्यवस्थापनमा कठिनाई भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको भत्काइएको पुरानो सभाहलमा नकुहिने फोहोर राखेर वर्गीकरण गरी बिक्री वितरण गर्ने योजना बनाएको नगर प्रवक्ता एवं व्यास ६ का वडाध्यक्ष जीवन गुरुङले बताए ।
उनका अनुसार फोहोरमैला व्यवस्थापनका लागि व्यास–१३ मा जग्गा खरिद गर्ने प्रक्रिया भैरहेको छ । जग्गा दिदाँ फोहोरमैलाले दुर्गन्ध हुन्छ भन्ने जनमानसको भ्रम र त्रासलाई चिर्न नगरपालिकाले उदहारणका लागि नगरपालिकाकै प्राङ्गणलाई प्रयोगमा ल्याउन लागेको उनले बताए ।
व्यास नगरपालिकामा दैनिक नकुहिने करिब ५ टन र कुहिने तीन टन फोहोर संकलन हुँदै आएको छ । कुहिने फोहोरलाई व्यास–१० दुम्सी स्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन गर्दै आएको नगरपालिकाले नकुहिने फोहोर व्यवस्थापन चुनौती झेल्दै आएको छ ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले व्यास नगरपालिका भित्र हालसालै आएको बाढी, पहिरो, हावाहुरीबाट प्रभावित विद्यालय, घर, गोठ, कुला, खेत लगायतका विषयमा पीडितहरुलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
खोला नदीको मापदण्ड स्पष्ट गर्ने, जिल्ला विपद्बाट सम्बोधन हुन नसक्ने पीडितका लागि सम्बन्धित वडाको प्राविधिक प्रतिवेदन लिई नगरपालिकाबाट सहयोग गर्ने निर्णय गरेको छ ।
यसैगरी नगरपालिकाले घर नक्सा कायम एवं अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८१ पारित गरेको छ । नगर भित्रका विपन्नका लागि घरबास सहयोग सम्बन्धी कार्यविधि निर्माण गरी आगामी बैठकमा पेश गर्न विधायन समितिलाई निर्देशन दिने निर्णय गरिएको छ ।
सदरमुकाम स्थित दमौली अस्पतालमा सर्पदशंको उपचार सञ्चालनका लागि आवश्यक पूर्वाधारमा सहयोग पु¥याउने निर्णय गरेको नगरपालिकाले जनाएको छ । यस्तै, नगरपालिकाले विभिन्न समितिमा संयोजक चयन गरेको छ । कार्यपालिका बैठकले पूर्वाधार विकास समितिको संयोजकमा वडा नम्बर ९ का अध्यक्ष सुरेश थापालाई चयन गरेको छ।
नगर खेलकुद समिति संयोजकमा वडा नम्बर ६ का अध्यक्ष जीवन गुरुङ, आर्थिक विकास समिति संयोजकमा वडा नम्बर १० का अध्यक्ष खेमराज पोख्रेल, सार्वजनिक सेवा तथा सुशासन समिति संयोजकमा वडा नम्बर ११ का अध्यक्ष दलबहादुर दुरा, विधायन समिति संयोजकमा वडा नम्बर १ का अध्यक्ष रमेशचन्द्र हड्खले, सरसफाइ जग्गा व्यवस्थापन समिति संयोजक वडा नम्बर १३ का अध्यक्ष बसन्त आले, लेखा समिति संयोजकमा वडा नम्बर ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ, सामाजिक विकास समिति संयोजकमा कार्यपालिका सदस्य चन्द्रमाया परियार, वन तथा वातावरण समिति संयोजकमा रनसिं नेपाली तोकिएका छन् ।










