जेसिआई व्यास नगरले गर्भवती-सुत्केरी तथा समस्यामा परेकाको निःशुल्क एम्बुलेन्स सेवा दिने
भञ्ज्याङ न्यूज

कोभिड संकटका कारण एम्बुलेन्स नपाएको गुनासो सुनिएका बेला जेसिआई व्यास नगरले नगर क्षेत्र तथा आसपासका गर्भवती-सुत्केरी, अशक्त तथा दुर्घटनामा परेकाको उद्धारका लागि निःशुल्क यातायात सेवा थालेको छ ।
एम्बुलेन्समा जानका लागि जोखिम देखिएका तथा एम्बुलेन्स नै नपाएर समस्यामा परेकाको सेवाका लागि भन्दै क्लबले शनिबारबाट यो सेवा थालेको हो। ‘मानिसको ज्यान गैरहेको छ, संक्रमित बढिरहेका छन्,’ क्लबका अध्यक्ष लक्ष्मीभक्त खनालले भने, ‘मान्छेको ज्यान बचाउन र सुरक्षित अवस्थामा अस्पताल पुर्याउन सेवा थालेका हौं ।’
क्लबका पदाधिकारी अनुप दाहालले आफ्नो साधन निषेधाज्ञा अवधिभर उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्। प्रशासन र व्यास नगरपालिकाले पनि सेवाका लागि अनुमति दिंदै सघाउने प्रतिवद्धता जनाएको छ । क्लबका महासचिव अजर नागिलाले यसका लागि तत्काल क्लब सदस्यबाटै सहयोगको प्रतिवद्धता आएपनि थप सुभेच्छुकको साथ अपेक्षा गरेको बताए । सेवा लिन चाहने जोकोहीले उपलब्ध नम्बरमा फोन गर्न सक्ने उपाध्यक्ष पवन पौडेलले बताए ।










