व्यास नगरपालिकाले नकुहिने फोहर नउठाउने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले नकुहिने फोहर संकलन नगर्ने भएको छ । मंगलबार एक सूचना जारी गर्दै नगरपालिकाले अर्को सूचना नभएसम्मका लागि बुधबारदेखि दमौली बजार क्षेत्रमा उत्पादन हुने नकुहिने फोहर संकलन कार्य स्थगित गरिएको जनाएको छ ।
नकुहिने फोहरको केही दिन व्यक्ति स्वयंले घरमै सुरक्षित राख्न नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाका प्रवक्ता जीवन गुरुङद्वारा जारी सूचनामा कुहिने फोहरमात्रै एक दिन बिर्राई संकलन गरिने बताइएको छ ।
सूचनामा ‘कुहिने फोहर र नकुहिने फोहर घरघरबाट छुट्याउने कार्य भएतापनि नकुहिने फोहरमा कुहिने फोहर अझै मिसिएको अवस्था छ । जसले गर्दा नकुहिने फोहर बिसर्जन गर्ने स्थानमा दुर्गन्धहरु आएको स्थानीयवासीको गुनासो छ’ भनिएको छ ।
एकदिन बिराएर फोहर संकलनका लागि गाडी आउने हुँदा नकुहिने फोहरलाई अलग गरेर कुहिने फोहरमात्रै नगरपालिकाको गाडीमा बिर्सजन गर्न आग्रह गरिएको छ । नगरपालिका फोहरमैला व्यवस्थापन गर्ने कार्यमा निरन्तर लागेपनि सफल हुन सकेको छैन । विगत ३० वर्षसम्म स्थायी समाधानका लागि विभिन्न विकल्पमा कार्य भइरहेपनि समाधान हुन नसकेको जारी सूचनामा भनिएको छ ।










