घिरिङको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता, गाउँपालिकाको बजेट ४० करोड
भञ्ज्याङ समाचारदाता

तनहुँको घिरिेङ गाउँपालिकाले नवौं गाउँसभा शुरु गरेको छ । जिल्लाको ग्रामीण क्षेत्रको यो गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण बढेपछि घिरिङले नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्यसंगै शिक्षा र कृषिलाई पनि प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष रन बहादुर रानाले बताए ।
‘कृषि, पर्यटन, ऐतिहासिक धरोहर, समृद्ध घिरिङ निर्माणमा हाम्रो सरोकारा’ भन्ने मुख्य नारा बनाई विकासको गतिविधि अगाडि बढाएको गाउँपालिकाले आगामी दिनमा आउने कोरोनाको तेस्रो भेरियन्टलाई मध्यनजरमा राख्दै नीति, कार्यक्रम र बजेट निर्माण गर्न लागेको अध्यक्ष रानाले जानकारी गराए ।
‘पिसिआर परीक्षण, एन्टीजेन परीक्षण, कोरोना खोप र अक्सिजनको व्यवस्थापनलाई लक्षित गरेर नीति, कार्यक्रम र बजेट निर्माण गर्न लागेका छौं, उनले भने, ‘स्वास्थ्यसंगै कोरोनाका कारण प्रभावित भएको शिक्षा क्षेत्रलाई लक्षित गरी प्रविधियुक्त शिक्षण सिकाईलाई प्रथामिकतामा राख्ने विषयमा छलफल चलाएका छौं ।’
गाउँपालिकाले शिक्षा, विपद् व्यवस्थापन, पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । नागरिकको जीवनरक्षा गाउँपालिकाको पहिलो प्राथमिकता रहेको अध्यक्ष रानाले बताए ।
गाउँपालिकाले अघिल्ला आर्थिक वर्षका अधुरा कार्यक्रमलाई निरन्तरता दिंदै बिजुली, बाटो, खानेपानी, पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास, सुशासन, विपद् व्यवस्थापन लगायतका क्षेत्रलाई समानुपातिक रुपमा समेट्ने गरी नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारी गरिएको उनले बताए ।
‘सुत्केरी महिला, दुर्घटनामा परेका विरामी, ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागारिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गर्ने कार्यक्रम पनि प्राथमिकतामा छ’, अध्यक्ष रानाले भने, ‘बैकल्पिक शिक्षण पद्धतिको प्रयोग गरी बालबालिकाको सिकाईलाई निरन्तरता दिंदै प्राविधिक विषय अध्ययन गर्नेलाई छात्रावृत्ती, कक्षा १ देखि १० सम्मको शिक्षा निःशुल्क गर्ने नीति तथा कार्यक्रम ल्याउँदै छौं ।’
यस्तै, गाउँपालिका पुरै ग्रामीण क्षेत्र भएकाले यहाँका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक क्षेत्रलाई उचित प्रवर्द्धन गरी ग्रामीण पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई पनि अगाडि बढाउँदै आएको गाउँपालिकाले मुख्य सडक खण्डहरुलाई बाढीपहिरा तथा अन्य कुनै कारणले पनि अवरुद्ध हुन नदिने गरी जेसिभी तयारी अवस्थामा राखिएको अध्यक्ष रानाले बताए।
गाउँपालिकाले सिंचाई सुविधालाई सहज बनाउँदै कृषकहरुलाई उत्पादनमा आधारित रहि अनुदान, व्यवसायीक कृषि पेशा अंगाल्ने कृषकलाई अनुदानमा आधुनिक कृषि सामाग्रि, मल, विऊविजन, प्राविधिक व्यवस्थापनका साथै उत्पादित उपजको बजारीकरणलाई समेत प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।
आर्थिक वर्ष२०७८/०७९ का लागि गाउँपालिकाले करिब ४० करोड रुपैयाँको बजेट, नीति, कार्यक्रम ल्याउने तयारी गरेको छ । गाउँपालिकाको वार्षिक आन्तरिक आम्दानी करिब १ करोड ५० लाख रुपैयाँ बराबर रहेको छ ।










