धार्मिक तथा पर्यटकीय सम्पदाको संरक्षण गर्नुपर्दछ : अध्यक्ष श्रेष्ठ
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले स्थानीय क्षेत्रमा भएका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षणमा जोड दिनुपर्ने बताएका छन् । देशमा आर्थिक उपार्जनको बलियो आधार नै धार्मिक तथा पर्यटनको क्षेत्र भएको बताउँदै उनले धार्मिक तथा पर्यटकीय क्षेत्रको सर्म्वर्द्धन र प्रवर्द्धनमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने बताए ।
म्याग्देको दभुङ चण्डीदेवी संरक्षण समितिद्वारा आयोजित उक्त कार्यक्रममा अध्यक्ष श्रेष्ठले स्थानीय क्षेत्रमा पुरातात्विक महत्व बोकेको स्थलहरु असंख्य छन् तर त्यसको उचित प्रवर्द्धन हुन नसकेको बताए । उनले भने, ‘महत्व बोकेको स्थललाई संरक्षण गर्दै थप विकास गर्ने हो भने स्थानीय पर्यटन मात्र होईन वाहृय पर्यटन पनि आर्कषित गर्न सकिन्छ । जसले गर्दा विकास र समृद्धिमा टेवा पुग्दछ । जहाँ आवात जावत बढि हुन्छ, स्वतः विकास हुने हुँदा धार्मिक स्थलको महत्व बुझ्नु पर्दछ ।’
यस्तै, कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले म्याग्दे गाउँपालिका भित्र असंख्य मात्रामा धार्मिक तथा पर्यटीय स्थल रहेको भएतापनि त्यसलाई चिन्न नसकेको बताए । उनले भने, ‘सधै हामीहरु आफैमा विवाद सिर्जना गर्न उद्यत छौ, तर सम्भावनालाई परिणाममुखी बनाउन सक्दैनौ । कम्तीमा पनि आफ्नो पालिका भित्रका सबै मठमन्दिर पुगियो भनेपनि त्यसले धेरै आशा जगाउँदछ ।’
‘आफुमा भएको सुन्दरता देख्न नसक्ने तर नक्कली देखासिकीले प्रभाव पारेको हुँदा स्थानीय क्षेत्रमा भएको मठ मन्दिरको प्रवर्द्धनमा जोड दिनुपर्दछ’, उनले भने, ‘देशमा अझै काम गर्ने जनशक्ति रहेको तर अबको केही समयपछि त्यो जनशक्ति नहुने अवस्था आएको हुँदा यस तर्फहामी सबै सचेत बन्नुपर्दछ ।’
संरक्षण समितिका अध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा पालिकाका कार्यपालिका सदस्य वद्रिका घिमिरे, जानुका थापा, वडाध्यक्ष मणिभद्र वाग्ले, शिववहादुर रानाभाट, दीपक श्रेष्ठ, वडासदस्यहरु रमेश घिमिरे, समितिका सचिव सन्तकुमार श्रेष्ठ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










