सेवाग्राहीसंग चर्को शुल्क असुलेको आरोपमा जिपी कोइरालाका चार कर्मचारी बर्खास्त
भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकीको वेलचौतरा स्थित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आफ्ना चार जना कर्मचारीलाई बर्खास्त गरेको छ । पोखराका निजी ल्याबसंगको सहकार्यमा अस्पताल परिसरमै सेवाग्राहीसंग चर्को शुल्क असुलेर पिसीआर परिक्षण गराउने र निजी फार्मेसीमा औषधी खरिद गर्न बाध्य पार्ने कर्मचारीलाई अस्पताल प्रशासनले बर्खास्त गरेको हो ।
अस्पतालमा कार्यरत फार्मैसिष्ट सुधन पन्त, ल्याब टेक्निसियन आनन्दप्रसाद ढुंगाना, रेडियोग्राफर विधान तिमिल्सिना र सुरक्षागार्ड मदन श्रेष्ठ बिरुद्ध गत जेठ १२ गते उजुरी परेको थियो । उजुरी परेपछि पहिलो पटक २ दिने र दोस्रो पटक २४ घण्टे समय तोकेर अस्पताल प्रशासनले स्पष्टिकरण मागेको थियो । उनीहरुले दुबै पटक दिएको स्पष्टीकरणले प्रशासन सन्तुष्ट नभएपछि १७ जेठमा निलम्बन गरी छानविन थालिएकोमा सोमबार बर्खास्त भएका हुन् ।
छानविनमा अस्पतालको नियम विपरित कार्य गरेकाले करार सम्झौता भंग गरी बर्खास्त गरेको अस्पतालको निमित्त कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार निलम्वन भएको मितीदेखी नै तलब सुविधा नपाउने गरी बर्खास्त गरिएको हो । उनले भने, ‘बोर्ड मिटिङ बसेरै निर्णय गर्यौँ भन्ने थियो । बोर्ड मिटिङ बस्नै सकेन्, लम्बियो । धेरै कुरा आउन थाले किन ढिलो भन्ने कुरामा। आखिर करार न हो । हाम्रै अधिकार प्रयोग गरेर भंग गर्यौ ।’
बर्खास्त कर्मचारीको करार अवधी यही असार मसान्तमा सकिदैथ्यो । समुदायस्तरबाट सञ्चालित सेतीगंगा सामुदायिक अस्पताललाई २०६७ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा नेपाली राजनितीका शिखर पुरुष पूर्वप्रधानमन्त्री स्वर्गिय गिरीजाप्रसाद कोईरालाको स्मृतीमा जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बनाउने निर्णय गरिएको थियो ।










