तनहुँका ९२.१५ प्रतिशत संक्रमितले कोरोना जिते, जिल्लामा ८५ जना सक्रिय कोरोना संक्रमित
भञ्ज्याङ न्यूज
तनहुँमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित मध्ये ९२.१५ प्रतिशत निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले बुधबार सार्वजनिक गरेको विवरण अनुसार १ हजार ३२४ जना संक्रमित भएकामा १ हजार २२० जना निको भएका छन् ।
तनहुँमा गत जेठ १८ गते ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा पहिलो कोरोना संक्रमण पुष्टि भएको थियो। भारतबाट आएका यी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसंगै उच्च सावधानि अपनाउँदै परीक्षणको दायारलाई बढाइएको थियो ।
जिल्लाका १० वटै पालिकाले भारत लगायतका मुलुकबाट आएका नागरिकहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राखेर उनिहरुको स्वास्थ्य परीक्षण तथा स्वास्थ्यमा समस्या देखिए पीसीआर परीक्षण गर्दै आएका थिए ।
भारत तथा अन्य मुलुकबाट आएका नागरिकमा सुरुवाती चरणमा संक्रमण देखिएसंगै अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिध हुँदै पछिल्लो समय भ्रमण विवरण समेत नभएका समुदायका व्यक्तिहरुमा संक्रमण देखिएको थियो । समुदायका व्यक्तिहरुमा संक्रमण देखिन थालेपछि जिल्लाका १० वटै पालिकाले संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षणको दायार बढाएका थिए ।
१० वटै पालिकाले १२ हजार ७४ जनाको स्वाब नमुना संकलन पश्चात गरेको पीसीआर परीक्षणमा भानुका १३३ जना, व्यासका ४३६ जना, शुक्लागण्डकीका २३२ जना, भिमाद नगरपालिकाका १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, म्याग्दे गाउँपालिकाका ६८ जना, घिरिङका ६४ जना, रिसिङका ९६ जना, देवघाटका ३६ जना, बन्दिपुरका ७३ जना र आँवुखैरेनीका ६३ जना गरी १ हजार ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराएका छन् ।
जिल्लामा अहिले ८५ जना सक्रिय संक्रमित रहेको प्रमुख अधिकारीले बताए । उनका अनुसार भानुमा ५, व्यासमा २६, शुक्लागण्डकीमा २२, भिमादमा १० म्याग्देमा ४, घिरिङमा ६, रिसिङमा १, बन्दिपुरमा ७ र आँवुखैरेनीमा ४ जना सक्रिय संक्रमित छन् । संक्रमित मध्ये ६ जना दमौली अस्पतालको आइसोलेसनमा छन् भने अन्य सबै सक्रिय संक्रमितहरु होम आइसोलेसनमा बस्दै आएका छन्। देवघाट गाउँपालिका भने कोरोनामुक्त बनेको छ ।
यस्तै, तनहुँमा कोरोना संक्रमणका कारण ६ महिला र १३ पुरुष गरी १९ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ । कोरोना संक्रमणका कारण व्यासमा ६ जना, शुक्लागण्डकीमा ३ जना, भिमाद नगरपालिकामा ५ जना, म्याग्देमा ३ जना र आँवुखैरेनीमा २ जनाको मृत्यु भएको छ ।










