तनहुँको पीसीआर रिपोर्ट ढिलो आउँदा चुनौती बढ्यो, व्यासले आफै पीसीआर परीक्षण गर्ने तयारीमा
भञ्ज्याङ न्यूज

तनहुँमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दै गएका छन् । संक्रमितको पहिचानका लागि गरिने पीसीआर परीक्षणको रिपोर्ट समयमा नआउँदा तनहुँका पालिकाहरुले विभिन्न चुनौतीहरु झैल्दै आएका छन् ।
तनहुँका स्थानी पालिकाहरुले स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पोखरा पठाउँदै आएका छन् । परीक्षणका लागि पठाइएको स्वाबको रिपोर्ट एक हप्तासम्म पनि पाउन गाह्रो हुने गरेको व्यास नगर नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानले बताएका छन् ।
‘समयमा आधिकारिक रिपोर्ट नपाउँदा संक्रमितहरुलाई व्यवस्थापनमा विभिन्न खाले चुनौतीहरु झेल्नु परेको छ’, नगरप्रमुख न्यौपानले भने, ‘यो समस्या समाधानका लागि नगरपालिकाको सोमबार बसेको कोभिड समिक्षा बैठकले पीसीआर परीक्षणका लागि अनुमति दिन माग गर्दै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र मार्फ सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरिएको छ ।’
यस्तै, नगरपालिकाले एक स्वास्थ्य ल्याब कम्पनीसँगको सहकार्यमा नगरपालिकामा नै पीसीआर परीक्षण गरेर द्रुत नतिजा दिने नगरप्रमुख न्यौपानेले बैठकमा प्रस्ताव गरेका थिए । यसरी परीक्षणको प्रति व्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्न सक्ने बताइएको छ । शुल्क तिर्न नसक्ने नागरिकको हकमा नगरपालिकाले आवश्यक प्रवन्ध गर्ने विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको समिक्षा बैठकले कोभिड-१९ बाट मृत्यु भएमा मृतकको आफन्ताले आफै दाहसंस्कार गर्न चाहेमा आवश्यक सुरक्षित रहने सामाग्री उपलब्ध गराउने र आफन्तले आफै दाहंसस्कार गर्न नचाहेको अबस्थामा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र मार्फ अन्तिम संस्कारमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
कोभिड-१९ बाट मृत्यु हुनेहरुको अन्तिम संस्कारमा घाटको समस्या देखिएकाले मृतक परिवारका परम्परागत घाटकै दायाँ वा वायाँ भागमा जलाउने कार्यको व्यवस्थापनमा सहयोग गर्न वडा अध्यक्षबाट सम्बन्धित घाट समितिसंग समन्वय गरी आवश्यक व्यवस्था गर्ने विषयमा नगरपालिकाले निर्णय गरेको नगर प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी गराएका छन् ।
त्यस्तै, कोरोना संक्रमण पुष्टि भएका संक्रमित राख्नका लागि नगरपालिकाबाट तयार भएको आइसोलेसनको तयारी पूर्ण भएको हुँदा होम आइसोलेसनमा बसेका विरामीहरुलाई अनुगमन गरी घरमा राख्न नहुने वा नमिल्ने बिरामीलाई सामुदायीक आइसोलेसन केन्द्रमा राख्ने व्यवस्था मिलाउने भएको छ ।
नगरपालिका भित्र धेरै रुघा, खोकी तथा ज्वोरोका बिरामिहरु देखिएको भन्ने गुनासो बढ्दै गएको तर, उनिहरु परीक्षणको दायारामा आउन नचाहेको भन्दै सम्पुर्ण टोल विकास संस्था, स्वास्थ्य स्वंयसेविहरुलाई परिचालन गरी पीसीआर परीक्षणको दायरा बढाउने कार्यमा वडा समितिको सहयोग लिने निर्णय भएको बताइएको छ ।










