पहिरोले सुरौदी गणपतेटार सिंचाईको नहर बन्द हुँदा रोपाई प्रभावित (तस्विर सहित)
राजकुमार आले/दुलेगौंडा

केहीदिन अघि परेको निरन्तरको बर्षाले कमजोर बनेको ढिस्को खस्दा सुरौदी गणपतेटार सिंचाई आयोजनाको नहर बन्द भएको छ । गएको मंगलबार शुक्लागण्डकी वडा नं-८ स्थित एक्लेडाँडाको पूर्वतर्फको भागबाट ठुल्ठुला ढुङ्गासहित पहिरो खस्दा नहर बन्द भएको हो ।
कृषकहरुले धान रोप्ने तयारी गरिरहेको अवस्थामा नहरमा क्षति पुगेपछि किसानहरु चिन्तित् बनेका छन् । ‘धान रोप्ने बेला भयो, किसानहरुले सबै तयारी गरेर बसेका छन्, नहर चलाएकै दिन ठूलठुला ढुङ्गासहितको पहिरोले नहर पुर्यो’, सिचार्ँइ आयोजनाका अध्यक्ष तेजप्रसाद सिग्देलले बताए ।
‘करिब ४० मिटर नहर ढुङ्गाले पुरेको छ । दुइचार दिनमा नहर चलाउन सकिएन भने रोपार्ँइ नै प्रभावित हुन्छ’, अध्यक्ष सिग्देलले भने, ‘यो पहिरो हटाउने उपभोक्ताहरुको तागत सक्ने अवस्था छैन । पहिरो तत्काल हटाउन आफुहरुले जिल्ला जलश्रोत तथा सिंचाई विभागमा आग्रह गरिएका छौं र उहाँहरुको प्रतिक्षामा छौं ।’
जलश्रोत तथा सिंचाई डिभिजन विकास कार्यालय दमौलीका सव-इन्जिनियर सुवित ढकालले बन्द भएको नहरको स्थलगत अनुगमन गरेका थिए । सव-इन्जिनियर सुवेदीले नहरमा ठुलठुला ढुङ्गा खसेर नहर बन्द भएको बताए ।
‘ठुलठुला बोल्डरहरु नहरमा आएर बसेको छ, जसले नहर बन्द भएको छ । बोल्डर हटाउन सानो मेसिनले हुँदैन, स्काभेटर नै चाँहिन्छ’, उनले भने, ‘यस विषयमा कार्यालयमा जानकारी गराउने छु । धान रोप्न असर नपर्ने गरी समाधानका लागि पहल गर्र्छौ ।’
वि.सं २०५४ सालमा निर्माण गरिएको ५ किलोमिटर दुरीको नहरको पानीले गणपतेका २५० हेक्टर र ढाण्डरका ५० हेक्टर क्षेत्रफलको जमिनमा सिंचाई सुविधा पुगेको छ ।










