मनाङ, पर्यटन र तिलिचो ताल
के.बि. मसाल

किताबमा पढेको र अरुले सुनाएको तर आफु नपुगेको ठाउ सबैलाई कौतुहलको बिषय बन्दछ । घुमफिरमा रमाउने मानिसको लागि ति ठाउँहरुमा पुग्न खोज्दछन । घुम्ने अनकुल मिलेपछि साथी भाईहरुसँग योजना बनाएर घुम्न निस्कन्छन । पर्यटकहरुले जहिले पनि नयाँ, आफुले नदेखेको नौलो अनुभूती दिने, देख्दै आचश्र्य लाग्ने जस्ता कुराहरुमा आफ्नो गन्तब्य बनाउन चाहन्छन । पर्यटनमा यस्तो भनाइ पनि छ! हिमाल नदेखेकालाई हिमाल र समुन्द्र नदेखेकालाई समुन्द्र देख्न मनमा कौतुहल हुन्छ । मनाङ पुगेपछि पर्यटकहरुलाई छुट्टै अनुभव हुन्छ । कतिपय पर्यटकहरुलाई म हिमालको बिचमा छु भन्ने अनुभूती समेत हुन्छ ।
मनाङको प्राकृतिक सौन्दर्य प्रति स्वदेशी मात्र होइन वाह्य पर्यटक समेत आकर्षित हुन्छन् । मनाङमा संसारको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल र चाँदीझैं टल्कने हिमालले पर्यटकहरुको मन तान्दछ । तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरु मध्यमा पर्दछ । हिमालय पर्वत श्रृखला अन्तर्गत मनाङको अन्नपुर्ण क्षेत्रभित्र पर्ने तिलिचो ताल समुद्र सतहदेखि ४ हजार ९१९ मिटर उचाईमा पर्दछ । तिलिचो तालको लम्वाई ४ किलोमिटर चौडाई १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ । तालको क्षेत्रफल ४.८ बर्ग कि.मि.मा फैलिएको छ । तिलिचो ताल वरिपरि सेता टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज र नीलगिरि हिमाल रहेका छन ।
पर्यटनका लागि हिमालको छाया तालमा परेको दृश्य लोभै लाग्दो हुन्छ । तिलिचो ताल जानको लागि माथिल्लो मनाङ गाउँबाट खाङसार र श्रीखर्क हुँदै बेसक्याम्प पुगिन्छ । बेसक्याम्पबाट चार घण्टाको पद यात्रामा तिलिचो ताल पुग्न सकिन्छ । अन्नपूर्ण पदयात्रा गर्ने सबैले थोरोङला पास गर्दा यो ताल भएर जाने गर्छन । पर्यटकहरुको लागि तिलिचो तालको यात्रा धेरै नै रोमाञ्चक हुन्छ । तिलिचो ताल हेर्नका लागि जुनसुकै समयमा जान भने सकिँदैन । असोजदेखि मंसिरसम्म र चैतदेखि जेठ महिना तिलिचो ताल जानको लागि राम्रो समय हुन्छ ।
लमजुङको सदरमुकाम बेँसिशहर मनाङ जाने मार्ग अर्थात अन्नपूर्ण पदमार्गको प्रवेशद्वार मानिन्छ । बेसीशहर–चामे ६५ कि.मि. र चामे–खाङसार २४ कि.मि. सडक मार्ग पर्दछ । तर पदमार्गमा रुचाउने पर्यटक भने पैदल यात्रा गर्दछन। बेसिशहरबाट सुरु हुने अन्नपूर्ण पद मार्गको यात्रामा मस्र्याङदी नदीको किनारै किनार मनाङको यात्रा हुन्छ । यात्रामा खुदी, भुलभुले, ङादी, बाउनडाँडा, स्याङे, च्याम्चे जगत गाउँ हुँदै लमजुङ र मनाङको सिमाना पर्ने मार्दी खोला पुगिन्छ । स्याँगेमा साहसिक पर्यटकहरुले जिपलाइन खेलको मज्जा पनि लिन सक्दछन । यात्रामा च्याम्चेको बुड छहराले सबै पर्यटकहरुलाई आकर्षण गर्दछ । त्यसैगरी मोटर मार्गमा पर्ने अक्टोफोर्स झरनाले पनि मनाङ जाने पर्यटकहरु रमाउछन । सदाबहार छङछङ झरिरहने झरनाले यात्रामा पर्यटकलाई नयाँ अनुभव दिन्छ । अन्नपूर्ण पदमार्गमा पैदल तथा सवारी साधनबाट जाने पर्यटक एक पटक यी झरनामा नहेरी जानै चाहँदैनन् । भिर पहरा देखि छङछङ गर्दै झरेको झरनालाई पृष्ठभूमि बनाएर फोटो लिने, सेल्फी खिच्ने र टिकटक बनाउने पर्यटकहरुको भिड लाग्छ। बेँसीसहरबाट ३२ किलो मिटरको दूरीमा पर्ने च्याम्चेको बुड झरना वर्षादको बेला निकै ठूलो देखिन्छ । झरना हेर्दै सेल्फी खिच्ने पर्यटक घण्टौँसम्म भुल्ने गर्दछन ।
पर्यटकहरु मनाङमा हिमाली क्षेत्रको मनोरम दृष्य अवलोकन गर्ने उद्देश्यका साथ अन्नपूर्ण पदमार्गको यात्रा गर्दछन । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, मुस्ताङ, कास्की र म्याग्दी गरी पाँच जिल्ला पर्दछ। सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । अन्नपूर्ण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ। मनाङ पुगेपछि धेरै पर्यटकहरुले थोराङपास गर्न विशेष रुची राख्छन् । थोराङपास गरे पछि पर्यटक प्रकृति देखेर खुसीका आँसु झार्छन् । थोराङ भञ्ज्याङ चढन सफल भएकोमा साथी भाइसँग खुसी साटासाट गर्छन् । थोराङपास गर्ने पर्यटकहरु मुस्ताङको मुक्तिनाथ हुँदै म्याग्दी भएर पोखरा निस्कन्छन। मनाङको यात्रामा जाने कतिपय पर्यटकहरु लार्केपास गर्दै मनास्लु क्षेत्रमा पदयात्रा गर्ने रुचि राख्दछन । मनास्लु क्षेत्रमा जाने पर्यटकहरु थोचेबाट दुधखोलाको तिरै तिर भिमथाङबाट लार्केपास गरेर गोरखाको सामागाउँ हुँदै आरुघाट निस्कन्छन ।
मनाङको सीमा शुरु हुने स्थानलाई तालगाउँ भनिन्छ । तर मोटर मार्ग भने घेराङ गाउँ तिरबाट गएको छ । मस्र्याङदी नदीको किनारैमा रहेको ताल गाउँलाई दुई झरनाबाट कलकल झरेको पानीले सुन्दरता दिएको छ । तालगाउँको सुन्दरताका रुपमा रहेको झरनाले मनाङ प्रवेश गर्ने पर्यटकहरुलाई स्वागत गरेको आभास हुन्छ । तालगाउँ देखि कोत्रो हुदै धारापानी पुगिन्छ । धारापानी पुगेपछि पर्यटकहरुले आफ्नो गन्तब्यको निर्णय लिन पर्दछ । तपाई मनाङको कुन–कुन ठाउ र गाउँमा पुग्ने ? त्यहि अनुसार यात्राको तय गर्दा सजिलो हुन्छ । तपाई उपल्लो मनाङ जाने हो भने धारापानीबाट बगरछाप, दानाक्यु, तिमाङ, थानचोक हुदै कोतो पुगिन्छ । तर मोटर मार्ग भने यहा पनि मस्र्याङदीको किनार किनारै गएको छ । कोतोबाट तपाई यदि नार फू गाउँ हुदै काङ्गला पास भएर माथिल्लो मनाङ पुग्ने हो भने नार खोला खोलै पैदल यात्रा गर्नु पर्दछ । नार खोलाको बाटो यात्रा गर्दा पर्यटकहरुले फु गुम्बा, काङला पास, जुलुफरेष्ट, चुलुपिक, तिब्बती खम्पाहरुले बसोबास गरेका भवनका अवशेष समेत अवलोकन गर्न सक्दछन ।
तर पर्यटक नार फु नगएर उपल्लो मनाङ जाने हो भने चामे तिर लाग्नु पर्दछ । चामे मनाङ जिल्लाको सदरमुकाम हो । चामेमा प्राकृतिक तातोपानीको कुण्डमा पर्यटकहरुले नुहाउन सक्दछन । पछिल्लो समय लमजुङ हिमालको फेदीमा रहेको कजिनसारा लेक पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ। चामेबाट तलेखु, हुम्डे, भ्राताङ, स्वर्गद्वारी ढुकुर पोखरी हुँदै उपल्लो मनाङको पिसाङ गाउँ पुगिन्छ । पिसाङबाट पैदयात्रा गर्ने पर्यटकहरुको लागि अपर पिसाङ, घ्यारु, ङावल हुदै भ्राका निस्कन पनि सकिन्छ ।
मनाङको हुम्डेमा विमानस्थल पनि छ । तर सञ्चालनमा भने छैन । पर्यटकहरुका लागि मनाङ गाउँमा मिलारेपा पार्क स्थापना गरी योगा सेन्टरसमेत निर्माण भएको छ । मनाङ भन्दा माथी तिलिचो ताल जाने मार्ग तर्फ खाङसार सम्म मात्र सडक मार्ग पर्दछ । उपल्लो मनाङमा रुचि हुने पर्यटकहरुले खाङसार, घ्यारु, ङावल, टंकी, मनाङ, पिसाङ र भ्राका गाउँको सस्कृति र रीतिरिवाज पनि अध्ययन गर्दछन । पर्यटकहरु तिलिचो ताल हुँदै मुस्ताङको ठिनी गाउँ निस्कने नेसोकुण्ड पास, गंगापूर्ण ताल, आइस लेक, तारे गुम्बा, भ्राका गुम्बा, पोचो गुम्बा र मिलारेपा केभ पनि उपल्लो मनाङमा पर्यटकहरु पुग्न खोज्दछन । तिलिचो ताल, थोराङला पास, आइस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न आजभोली वाह्य पर्यटक मात्रै नभएर आन्तरिक पर्यटकसमेत पुग्ने गर्दछन । तिलिचो ताल मात्र नभई पर्यटकहरुले मनाङमा गंगापूर्ण ताल, द्रोण ताल र आईस लेक अर्थात हिम तालको पनि अवलोकन गर्न सक्दछन । हिमालसंग रमाउने पर्यटकहरुले मनाङमा लमजुङ हिमाल, पिसाङ हिमाल, काङला हिमाल, अन्नपूर्ण हिमाल, गंगापूर्ण हिमाल, जुलु हिमाल अर्थात चुलु हिमाल, थोराङला हिमाल लगायत पिसाङ पिक समेतको अवलोकन गर्न सक्दछन । थोराङला पास गर्दा पर्यटकहरुले थोराङ फेदीमा ब्लु शीप अर्थात जंगली भेडा समेत हेर्न सक्दछन। मनाङमा हिउँ पग्लिएर बनेको पहाड हेरेर पर्यटक लोभिन्छन् । हिमाल हेरेपछि दंग पर्छन् । मनाङको लोभलाग्दो वातावरण, रहनसहन, हिमाली हावाको चिसोपनले पर्यटकहरु प्रकृतिमा हराउँछन् ।
मनाङ पुग्ने पर्यटकहरु भ्राताङको स्याउ बगैंचा पनि पुग्दछन । भ्राताङमा इटली र सर्भियाबाट स्याउका बिरुवा ल्याएर हाइडेन्सिटी प्रविधिमार्फत एग्रो मनाङ प्रालिले ७३५ रोपनी क्षेत्रफलमा स्याउ खेती गरेको छ । अन्नपूर्ण पदमार्गमा जाने पर्यटक पनि स्याउ बगैँचामा रमाउने गर्दछन । स्याउको सिजनमा लटरम्म फलेको राताम्य स्याउ फार्ममा उभिएर धेरैले सेल्फी लिने र भिडिओ बनाउने गर्दछन । सुन्दा पनि अचम्म लाग्ने । मनाङको यात्राको क्रममा पर्यटकहरुले पानी छ, माछा छैन र सिचाई हुने जमिन छ तर धानखेती हुदैन । धानखेती पनि नभएको आफ्नै आँखाले देख्दा पर्यटकहरु अचम्म मान्दछन ।
मनाङ जिल्लामा प्रशस्त पानी भएर पनि माछा र धानखेती हुँदैन । मस्र्याङदी नदीको सहायक खोलाहरुमा दूधखोला, नारखोला, फूखोला, थोराङ खोला, सब्जे खोला, माडाखोला र डोनाखोला रहेका छन्। तर खोला छ, धेरै हिमाली काखमा ताल पनि छ तर मनाङ जिल्लामा माछा हुँदैन । नदी र खोला किनार र ताल जस्तो समस्थल जमिनमा पनि धानको खेती हुँदैन । मनाङमा अरु जिल्लामा जस्तै सबै जातजातीहरुको पनि बसोवास छैन । केवल गुरुङ र तिब्बती मुलका भोटे जातीहरुको मात्र बसोवास छ । मनाङमा जग्गा जमिन बेजिल्लाका नागरिकहरुलाई बिक्री गरिदैन । उपल्लो मनाङमा पर्यटकहरुले मिथेवा प्रथाको रुचिपूर्वक अध्यन गर्दछन । मिथेवालाई गाउँको अगुवाको रुपमा मान्ने गरिन्छ । मिथेवा प्रथाले गाउँमा रितिथिती बसाल्ने र मिथेवा प्रथाबाट बनेका नियम उल्लंघन गर्नेहरुलाई दण्ड, जरिवाना गर्ने गरिन्छ ।
तर पर्यटकहरुले उपल्लो मनाङ नपुगेर लार्केपास गरी मनास्लु पदयात्रा गर्ने पर्यटकहरुले धारापानीबाट आफ्नो यात्राको बाटो परिवर्तन गर्नु पर्ने हुन्छ । धारापानी गाउँबाट तिल्चे गाउँ, भिमथाङ र गोरखाको लार्के पास जान धारापानीबाट मस्र्याङदी नदी तरेर उत्तरतर्फ लाग्नुपर्दछ। थोंचे गाउँ मनाङको पुरानो सदरमुकाम हो । सदरमुकाम चामेमा सरेपछि पनि तिब्बतको केरोङ, गोरखाको लार्के र भिमथाङ हुँदै नुन आउँदासम्म थोचेमा नुन ब्यापारीको चहलपहल हुने गर्दथियो। अन्नपूर्ण पदमार्ग देखि आएको मस्र्याङदी नदी र मनास्लु क्षेत्रबाट आएको दुधखोलाको दोभानमा थोंचे गाउँ पर्दछ । थोंचेमाथि ताम्राङ गाउँ पर्दछ । पर्यटकहरुले ताम्राङ गाउँमा पुरानो गुम्बा र नाचे गाउँ र ताम्राङ जोडने ड्रोना खोलामा निर्माण भएको नेपालकै अग्लो पुलको समेत अवलोकन गर्न सक्दछन ।
थोचेबाट मनास्लु पदयात्रा गर्ने पर्यटकहरुले ऐतिहासिक नुन व्यापारिक केन्द्र तिल्चे गाउँ, गोवा गाउँ, भिमथाङ, पोकर ताल र ड्रोना ताल अवलोकन भ्रमण गर्ने रुचि राख्दछन । तिब्बतबाट नून खरिद गरी तिल्चे गाउँमा राख्ने र लमजुङ, तनहुँ र कास्कीलगायतका ठाउँका मानिस गएर चामलसँग नून साटेर ल्याउने व्यापारिक केन्द्र तिल्चे गाउँ अहिले पर्यटकीय गाउँ बनेको छ । तिल्चे गाउँका मौलिक पुराना घरहरुमा होमस्टे सञ्चालन भएका छन । तिल्चे गाउँ मनाङको निकै पुरानो बस्ती पनि हो । तिल्चे गाउँ वरपर एक प्रकारको पहेंलो फूल शिवकथ्रोन फुलिरहेको हुन्छ । प्रकृतिले सिंगारिदिएको तिल्चे गाउँ आफैंमा सुन्दर पनि छ । तिल्चेमा गाउँमा घले र गुरुङ जातिको बसोबास रहेको छ । तिल्चे गाउँ थोंचेबाट एकघण्टाको पैदल यात्रामा पुगिन्छ । तिल्चे गाउँको काख भएर दुधखोला बगेको छ । गाउँमा सुविधासम्पन्न होटल, लज तथा गेष्टहाउसहरु सञ्चालनमा छन्। पर्यटकहरुलाई गाउँको आमा समुहको घरमा राखेर सत्कार गर्दछन। गाउँमा कृष्णचरित्र, पच्यु, लामा, सेर्का लगायतका परम्परागत नृत्य प्रस्तुत गर्दै पर्यटकहरुलाई खुशि पार्दछन। तिल्चे गाउँबाट एक घण्टाको यात्रामा गोवा गाउँमा पुगिन्छ । तिल्चेबाट गोरखाको लार्के हुँदै तिब्बतको केरोङ नाका जाने पदमार्ग पनि हो । पर्यटकहरु तिल्चेबाट ताँचै हुँदै बगरछाप र ताम्राङ गुम्बा भएर नाचैं अनि धारापानी पनि निस्किन सक्दछन ।
कसरी पुग्ने मनाङ ?
लमजुङको बेँसीशहर हुँदै मनाङको चामे हुँदै मनाङ गाउँ खाङसार गाउँसम्म साना सवारी साधन चल्दछन । निजी सवारी साधन मोटरसाइकल, स्कारपियो अथवा बलेरो भयो भने झनै राम्रो हुन्छ । मनाङको यात्रामा खान बसनको लागि कुनै असुबिधा हुँदैन। हरेक गाउँमा पर्यटनका लागि साना ठूला होटलहरु हुन्छन । कतिपय गाउँमा होमस्टे समेत सन्चालनमा छन । मनाङको यात्रामा न्यानो कपडा ब्यागमा राख्न नबिर्सनु होला। जाडोबाट बच्न क्रिम तथा अप्ठयारो पर्दा चाहिने प्राथामिक उपचारका सामग्री राख्दा उत्तम हुन्छ । हिमाल क्षेत्रमा लेक लाग्ने सम्भावना हुन्छ त्यसबाट बच्ने उपायहरु थाहा पाउनु पर्छ ।









