‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रम : म्याग्दे गाउँपालिकाका २४ जना महिलालाई पोषणभत्ता वितरण

दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले ‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रममार्फत २४ जना महिलालाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले थर्पु आधारभूत अस्पतालमा चालु आर्थिक वर्ष २०८२/८३ मा संस्थागत सुत्केरी गराएकालाई प्रतिसुत्केरी रु पाँच हजारका दरले पोषणभत्ता उपलब्ध गराएको हो ।

संस्थागत सुत्केरी भएका १७ र सुत्केरी अवस्थामा जटिलता आएर अन्यत्र पठाइएका सात जनालाई रु पाँच हजारका दरले भत्ता उपलब्ध गराइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिनुभयो ।

संस्थागत सुत्केरी गराउनेलाई गाउँपालिकाले रु पाँच हजार र नेपाल सरकारबाट यातायात खर्चवापत रु आठ सय उपलब्ध गराइँदैै आइएको छ । गाउँपालिकाले सुत्केरीलाई घरबाट स्वास्थ्य संस्थासम्म र स्वास्थ्य संस्थाबाट घरसम्म निःशुल्क एम्बुलेन्स सेवासमेत उपलब्ध गराउँदै आएको छ । शाखा प्रमुख घिमिरेले भन्नुभयो, “यहाँको स्वास्थ्य संस्थामा सुत्केरी हुन नसके पोखरासम्म पनि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएका छौँ ।”

गाउँपालिकाले घरमा हुने जोखिमपूर्ण सुत्केरीको अवस्था अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले पाँच वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रम सुरु भएपछि घरमा हुने असुरक्षित सुत्केरी सङ्ख्या घटेको र संस्थागत सुत्केरी गराउनेको सङ्ख्या बढेको घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसले गर्दा घरमा हुने असुरक्षित सुत्केरीको कारण आमा र बच्चाको स्वास्थ्यमा हुने जोखिम न्यूनीकरणका पनि टेवा पु¥याएको छ ।”

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले मातृशिशु मृत्युदर कम गराउन सञ्चालित यो कार्यक्रम प्रभावकारी बन्दै गएको र यसलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “गर्भावस्थामा स्वास्थ्य परीक्षण नगर्ने र घरमै असुरक्षित सुत्केरी गराउँदा महिलाको ज्यान जाने खतरा हुन्छ । त्यसलाई निरुत्साहित गर्दै स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्ने नीति लिएका छौँ ।”

गाउँपालिकाले दिने पोषण भत्ता लिनलाई गर्भवतीले कम्तीमा चार पटक स्वास्थ्य परीक्षण गराएको हुनुपर्छ । म्याग्दे बाहिरका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुनेले भने यो सुविधा पाउँदैनन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker