मर्स्याङ्दीको धार पुरानै लयमा फर्काउन मुश्किल
नविन लामिछाने/मनाङ

जिल्ला सदरमुकाम चामेस्थित मोटरेवल पुललाई जोगाउन हम्मे हम्मे भएको छ । मर्स्याङ्दी नदीको धारलाई पुरानै लयमा फर्काउन नसकिँदा अहिले पुल जोगान मुश्किल भएको हो । अहिले जेसिबीको प्रयोगबाट नदीलाई पुरानो धारतर्फ पठाउन प्रयास भने जारी छ। सो नदीले बगाएर ल्याएका काठ पुलमा अडि्कदा पानी रोकिएर नयाँ धार बनाएर बगेको छ।
वर्षा भइरहेकाले पानीको सतह कम नहुँदा जेसिबी प्रयोग गर्न मुश्किल भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो । ‘नदीले धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ, त्यसैले मेसिन प्रयोग गरेर पुरानो धारतर्फ धकेल्ने प्रयास गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट तेल मगाइयो । पेत त आइपुग्यो । काम गर्न सकिएको छैन’, उहाँले भन्नुभयो, ‘पानी पर्न रोकिएको छैन, नदीको सतह उस्तै छ, पुल बचाउन र बस्ती बचाउन साह्रै गाह्रो भयो ।’
मन्त्रालयले बाढीपहिरोका कारण अवरुद्ध बेसीशहर-चामे सडक तत्काल खुलाउन माताहतका निकायलाई निर्देशन दिएको छ । मेसिन चलाउन इन्धन अभाव भएकाले नेपाली सेनाको हेलिकोप्टरमार्फत इन्धन चामे ल्याइएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । नदीको धारलाई परिवर्तन गराउन उपकरण प्रयोग गर्न कठीन भएको उहाँले बताउनुभयो । निरन्तरको वर्षाले पानीको सतह नघट्दा उपकरण प्रयोग गर्न र पुलमा अडि्कएको काठहरुले गर्दा पानी छिर्न नपाएर धार फेरिएको उहाँको भनाइ छ । ‘सडक सञ्जालका लागि उपयोगी बनेको पुल बाढी आउँदा भने समस्याको जड बनेको छ, कसरी समस्या समाधान गर्ने भन्ने भएको छ’ उहाँले भन्नुभयो ।
उक्त सडक खण्डमा भएको क्षतिको विस्तृत अध्ययन गर्न सेना र सडक विभागको प्राविधिक टोली आएपनि प्रतिकूल मौसमले साथ दिएको छैन । बाढी पहिरोका कारण बेसीशहर-चामे सडक अवरुद्ध हुदाँ जिल्ला सडक सञ्जालबाट पूर्ण रुपमपा विच्छेद भएको छ । गत ३१ जेठ रातिदेखि परेको अविरल वर्षाका कारण पूरै सडक खण्ड अवरुद्ध भएका थिए । अहिले सडक विभागले बेसीशहरदेखि १८ किलोमिटरसम्म बाटो खुलाएको छ भने बाँकी अवरुद्ध खण्डको हटाउने प्रयास जारी छ ।
विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल, न सेनाका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका बीच छलफल भएको थियो। मनसुन शुरुभएदेखि आएको बाढीपहिरोका कारण आएको विपद् हाल माथिल्लो मनाङतर्फ देखिएको स्थानीय बताउँछन् । बाढीपहिरोको प्रभाव शुरुआती चरणमा जिल्लाको तल्लो भागमा बढी देखिएको थियो भने हाल आएर माथिल्लो भागमा देखिएको छ । अहिले हुम्डे, पिसाङ, माथिल्लो मनाङमा बस्तीहरुमा क्षति पुर्याउदै गएको जनाइएको छ । रासस










