“भानु साहित्य उद्यान”को प्रारम्भिक रेखाचित्र सार्वजनिक
साहित्यिक पर्यटकीय क्षेत्रको रूपमा मात्रै नभइकन विश्वका लाखौं पर्यटकहरूको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास हुनेछ : नगरप्रमुख त्रिपाठी

डिपि अधिकारी/भानु
तनहुँको भानु नगरपालिकाले भानु जन्मस्थल चुँदीरम्घामा निर्माण गरिने भानु साहित्य उद्यानको प्रारम्भिक रेखाचित्र -तस्विर) सार्वजनिक गरेको छ । नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी वरिष्ट कलाकार अशोकमान सिंहबाट निर्माण गरिएको रूपरेखा अन्तर्गत भानु साहित्य उद्यानको गुरूयोजनामा उल्लेख भएका प्रस्तावित विभिन्न संरचनाहरूका विषयमा जानकारी गराएको थियो ।
साहित्य उद्यानको टोपोग्राफिकल म्यापमा देखाइएको संरचना अन्तर्गत साहित्य उद्यान क्षेत्रभित्र भानुभक्तको विशाल शालीक, रामायण मन्दिर, मूर्ति बाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु बनस्पति उद्यान, सप्तधाम, प्रवेशद्वार, बस्ती तथा बजार क्षेत्र, मनोरञ्जन/वनभोज स्थल, पार्किङ स्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग निर्माण गरिने उल्लेख गरिएको छ ।
सार्वजनिक गरिएको प्रस्तावित संरचना र गुरूयोजना बमोजिम यी सबै कार्य सम्पन्न भएपछि यो क्षेत्र साहित्यिक पर्यटकीय क्षेत्रको रूपमा मात्रै नभइकन विश्वका लाखौं पर्यटकहरूको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास हुने नगरप्रमुख आनन्दराज त्रिपाठीले विश्वास व्यक्त गरे ।
उनका अनुसार भानु साहित्य उद्यान निर्माणका लागि जग्गा अध्रि्रहण, गुरूयोजनाको पूर्ण खाका तयारी र निर्माण हुने भौतिक संरचनाको विस्तृत परियोजना प्रतिवेदन निर्माणको काम भैरहेको छ । बहुवर्षीय परियोजना अनुसार काम गरिने उद्यानका लागि चालू आव २०८०/०८१ मा यस कामका लागि नेपाल सरकारबाट ५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल र सांस्कृतिक एकताको केन्द्रका रुपमा विकास गर्न आवश्यक भौतिक संरचना निर्माण गर्नु एंव नेपाली भाषा, साहित्य, संस्कृति, पर्यटन, कला र राष्ट्रिय सम्पदाहरुको संरक्षण सम्वर्द्धनका लागि विविध कार्यक्रम सञ्चालन गर्न लागिएको नगरप्रमुख त्रिपाठीले बताए ।
‘रम्घाकोट -रम्घाको डाँडो) मा भानुभक्तको विशाल प्रतिमा निर्माण गरी भानुभक्तको कृतित्वलाई जीवन्तता दिन रम्घाको डाँडामा रामायण मन्दिर निर्माण गरी प्रमुख चरित्र -राम, सीता)का मुर्ति स्थापना गर्नु र रामायणमा वर्णित स्थान, घटना र परिवेशलाई विभिन्न माध्यमद्वारा प्रस्तुत गर्ने लक्ष राखिएको छ’, उनले भने, ‘नेपालको सामाजिक तथा सांस्कृतिक एकीकरण प्रक्रियामा भानुभक्तले दिएको योगदानलाई परिलक्षित गर्न नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सप्तधाम निर्माण गर्ने, रम्घा डाँडामा भानुभक्तकालिन घरबस्ती, जनजीवन, रहनसहन र सामाजिक वातावरणलाई वस्तुगत वा चित्राङ्गित रुपमा प्रदर्शन गर्ने लक्ष्य छ ।’
भानु जन्मस्थललाई साहित्यिक तीर्थस्थल र साँस्कृतिक एकताको केन्द्रका रुपमा विकास गर्न सबैको सहकार्यको खाँचो रहेकोमा नगरप्रमुख त्रिपाठीले जोड दिए ।
भानु साहित्य बाटिका निर्माण गरी नेपालका स्थापित कवि र साहित्यकारहरुका प्रतिमा स्थापना गर्ने, भानुभक्तका कृति, योगदान एवं नेपाली भाषा र साहित्यको अध्ययन, अनुसन्धानका निम्ति पुस्तकालय र संग्रहालय स्थापना गरी चुँदी रम्घालाई प्राज्ञिक उत्कृष्ट केन्द्रका रुपमा विकास गरी भानुभक्तको जीवनीमा आधारित रही भानुभक्त बसेका, घुमेका र कवितामा वर्णन गरेका स्थानहरुलाई जोड्ने गरी भानु परिक्रमा मार्ग (भानु र्सर्किट)को विकास गर्ने गुरुयोजनामा उल्लेख छ ।
भानु-४ स्थित आदिकवि भानुभक्त आचार्यको जम्मस्थल चुँदीरम्घाको डाँडामा ‘भानु साहित्य उद्यान’ कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारले भानु नगरपालिकालाई २०७८ मा एक करोड रुपैयाँ निकासा भएको र सोहि रकमबाट करिब ८८ रोपनी जग्गा अधिकरण गरी मुआब्जा प्रदान गरिएको नगरपालिकाकी उप-प्रमुख उमा गोतामेले बताइन् ।
चालु आर्थिक वर्षका लागि मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार भानु साहित्य उद्यान निर्माणका लागि ५ करोड रुपैयाँ बजेट प्राप्त भएकोमा जग्गा विकास कार्यक्रम अन्तर्गत १ करोड ५० लाख रुपैयाँमा बोलपत्र आब्हान गरी ८३ लाख ५४ हजार रुपयाँमा सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी गराए ।
उनका अनुसार भानु जन्मस्थलको स्केच नक्सा तयार भै सार्वजनिकिकरण गर्न लागिएको, आदिकवि भानुभक्त आचार्यको उठेका र बसेका १/१ थान मोडेल मूर्ति जेठ २० गते भित्र बनिसक्ने, टोपोग्राफी नक्साङ्कनको कार्य भैरहेकोमा १ करोड ८० लाख ४१ हजार खर्च भैसकेकाले करिब ३६ प्रतिशत वित्तिय प्रगति भएको छ ।