गोरखामा माइक्रो दुर्घटना हुँदा ७ जनाको मृत्यु, मृतक सबै भारतीय

गोरखा : मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । मृतक दुई महिला र पाँच पुरुष रहेका छन् । मृतकहरु मनकामना दर्शन गर्न आएका भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
सहिद लखन–३ कान्टारमा सडकबाट करिब डेढ सय मिटर तल खसेर बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस दुर्घटना भएको हो ।
उक्त माइक्रोमा मनकामना दर्शन गर्न आएका १४ जना तीर्थयात्री र चालक र सहचालक गरेर १६ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुरज अर्यालले जानकारी गराए ।
यस्तै, घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिपक पाण्डेका अनुसार गाडीमा १५ जना भारतीय नागरिक सवार थिए । तीमध्ये ७ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकी ८ जनाको उद्धार गरिएको छ । घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते अर्का एकको थप उपचारका लागि भरतपुर रिफर गरिएको छ ।
अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ । घटनास्थलमा रहेका केही शव निकाल्न सशस्त्र प्रहरीको टोली खटिएको थियो । वडाध्यक्ष पाण्डेका अनुसार राति करिब ८ बजे दुर्घटना भएको हो । गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको छ ।
ओरालो बाटोमा ईभी गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । ‘बाटो बन्दै गरेको र ढलान पनि त्यस्तै छ । बाटो निकै ठाडो र अप्ठ्यारो छ’, उनले भने, ‘त्यसमाथि पानी पनि परिरहेको छ । ब्रेक नलागेरै (ब्रेक फेल) गाडी खसेजस्तो लाग्छ ।’ रुट बाहिरको गाडी भएका कारण पनि बाटोबारे ज्ञान नभएको हुन सक्ने अनुमान गरिएको छ ।










