व्यास नगरपालिकाको एक अर्ब ७७ करोडको बजेट पारित, कर्मचारी बढुवा र प्रोत्साहन गर्ने गरी ऐन पास

तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको आज सम्पन्न ३५ औं नगरसभाबाट उक्त बजेट पारित भएको हो । गत असार १० गते नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको थियो ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेले कूल बजेटमध्ये चालुतर्फ ५७.८३ र पुँजीगततर्फ ४२.१७ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । नगरपालिकाको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख न्यौपानेले स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार लगायतलाई प्राथमिकतामा राखेर बजेट पारित गरिएको जानकारी दिनुभयो । नगरपालिकाले नगरस्तरीय अस्पताल निर्माणका लागि रु एक करोड, समता विद्यालय सञ्चालनका लागि रु एक करोड, कोभिड–१९ नियन्त्रणका लागि रु एक करोड २५ लाख बजेट विनियोजन गरेको न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार नारेश्वरताल, मानुङकोट पूर्वाधार विकास, मादी ताल परियोजना, १०८ फिटको व्यासमूर्ति निर्माणका लागि बजेट विनियोजन गरिएको छ । नगरसभाले विनियोजन विधेयक, आर्थिक विधेयक, पुरातात्विक, ऐतिहासिक स्थलको संरक्षण गर्न बनेको विधेयक, कर्मचारी समायोजन ऐन पारित गरेको सो अवसरमा जानकारी दिइयो ।

नगरपालिकाका अनुसार कूल बजेटमध्ये आर्थिक विकास तर्फ रु दश करोड ११ लाख ९६ हजार, सामाजिक विकासतर्फ रु ९३ करोड १७ लाख ७५ हजार, पूर्वाधार विकासतर्फ रु ४५ करोड ३८ लाख २५ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु चार करोड ६६ लाख ५० हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ रु दुई करोड ५४ लाख ६६ हजार विनियोजन गरिएको छ ।

व्यास नगरपालिकाद्वारा स्थापना गरिएको बिकास पत्रकारिता पुरस्कार पत्रकार ओमकार आचार्यलाइ बुधबार नगद तथा दोसल्ला ओढाएर पुरस्कृत गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख मिरा जोशी र प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल । तस्विर भञ्ज्याङ

कूल विनियोजित बजेटमध्ये चालुतर्फ रु एक अर्ब दुई करोड ८७ लाख १२ हजार र पुँजीगततर्फ रु ७५ करोड दुई लाख विनियोजन गरिएको छ । उक्त बजेटमध्ये सङ्घ सरकारबाट सशर्त अनुदान बापत ५६ करोड १७ लाख, सङ्घ सरकारको सामाजिक सुरक्षा अनुदानबापत रु २१ करोड, आन्तरिक स्रोतको आयबाट रु २० करोड ५० लाख, सङ्घ सरकारको वित्तीय समानिकरण अनुदान रु १९ करोड ७६ लाख, सञ्चित कोष अल्याबाट रु १५ करोड ३७ लाख १२ हजार, सङ्घ सरकारको राजश्व बाँडफाँडबाट रु १२ करोड ९८ लाख ५१ हजार, राजश्व बाँडफाँड अन्तर्गत मालपोत रजिष्ट्रेशनबाट रु १० करोड आम्दानी हुने अनुमान छ ।

त्यस्तै नगर विकास कोष ऋणबाट रु दश करोड, प्रदेश वित्तीय समानीकरण अनुदानबाट रु दुई करोड ४४ लाख ७८, प्रदेश सरकारको राजश्व बाँडफाँटबाट रु एक करोड ७४ लाख ७५ हजार, गाउँ नगर साझेदारी कोषबाट रु एक करोड ६५ लाख, सङ्घ विशेष अनुदानबाट रु एक करोड ३७ लाख, प्रदेशको विशेष अनुदानबाट रु एक करोड, प्रदेशको सशर्त अनुदानबाट रु एक करोड आम्दानी हुने अनुमान छ ।

कर्मचारी बढुवा र प्रोत्साहन

नगरपालिकाले स्थानीय तहमा कार्यरत कर्मचारीलाई बढुवा गर्ने गरी ऐन पास गरेको छ । पाँच वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई योग्यता र क्षमताका आधारमा बढुवा गर्न उक्त ऐन बनाइएको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो । साथै अवकाशप्राप्त कर्मचारीलाई उपदान दिने व्यवस्था समेत उक्त ऐनमा समावेश गरिएको छ । करारमा कार्यरत कर्मचारीका लागि पनि उपदान दिने व्यवस्था ऐनमा समावेश गरिएको छ ।

व्यास पत्रकारिता पुरस्कार आचार्यलाई

व्यास नगरपालिकाले व्यास पत्रकारिता पुरस्कारबाट ओमकार आचार्यलाई पुरस्कृत गरेको छ । समाचारको माध्यमबाट नगरपालिकाको विकासमा टेवा पु¥याए बापत नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका निवर्तमान अध्यक्ष आचार्यलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको हो । मादीसेती प्रवाह दैनिकका सम्पादक समेत रहनुभएका आचार्यलाई ३५ औं नगरसभाको अवसरमा आज आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उक्त पुरस्कार प्रदान गर्नुभयो । उक्त पुरस्कारको राशी नगद रु १० हजार र प्रशंसापत्र रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker