व्यवसायीलाई देशका विश्वविद्यालयहरुसंग कसरी जोड्ने ?

डा. प्रशान्त ध्वज अधिकारी

विश्वविद्यालयमा सेमेस्टर प्रणाली लागु गरियको देशहरुमा भिजिटिंग फ्याकल्टी वा गेस्ट लेक्चररको रुपमा अध्यापन गराउन फरक विश्वविद्यालय वा बाहिरी देशबाट अध्यापक भित्र्याउने चलन झन बढ्दो छ। हुनत त विश्वविद्यालयको स्तरलाई मजबुत पार्नको निम्ति मेरुदण्ड भनेको पूर्णकालीन स्थायी अध्यापक नै हुन् । देश वा विश्वविद्यालयको समग्र बिकास र उन्नतिका लागि पूर्णकालिन शासक र स्थायी अध्यापकहरुको महत्वपूर्ण भूमिका हुन्छ। विश्वविद्यालयबाट प्राप्त हुने शिक्षाले बेरोजगारीलाई प्रत्यक्ष रूपमा घटाउन सक्दैन, तर शिक्षा प्रणालीको सुधारले विशेष गरी युवाहरूमा यसको प्रभावलाई कम गर्न मद्दत गर्न सक्छ । नेपाल र विश्व अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमा सिकाइने अनुशासन र सीपको बजार मागबीच गम्भीर खाडल छ । नयाँ पाठ्यक्रमहरूको विश्वव्यापी बजारका माग यँहाका विश्वविद्यालयहरूले कम स्वीकार गरेका छन् ।

व्यवसायीलाई विश्वविद्यालयसंग किन जोड्ने ?

यो लेख नेपालका व्यवसायीहरुलाई कसरी विश्वविद्यालय र विश्वविद्यालयमा  उच्च  शिक्षा लिईरहेकाका विद्यार्थीहरुसंग जोड्न सकिन्छ भन्नेमा केन्द्रित छ। हरेक व्यक्तिले आपनो जीवन–यापनको लागि कुनै न कुनै क्षेत्रमा आबद्व भएको हुन्छ। नेपालका विश्वविद्यालयहरुमा उच्च शिक्षा लिईरहेकाका विद्यार्थीहरुलाई भविष्यमा कुन क्षेत्रमा आबद्व हुने हो भनेर प्रश्न गरे, धेरैको जबाफ थाहा छैन भन्ने जस्तो आउन सक्छ । किनकि, प्रायः उनीहरुको बसाई देश भित्र हुन्छ भन्नेमै विश्वास गर्न छोडिसकेको अबस्था छ। अर्को हाम्रो सिकाई व्यहारीक भन्दा किताबि ज्ञान बढि छ । कुनै भेला, कार्यक्रम वा अन्य गतिबिधिहरुको प्राथामिकतामा प्रायः राजनीतिक ब्यक्ति नै पर्छन। सानो वडा स्तरको भेलामा पनि स्थिति उहि नै छ। यस्तो वडास्तरको कार्यक्रममा त्यही वडाको उत्पदान क्षेत्रमा लागेको किसान वा अन्य व्यवसायी सभाको मञ्चमा रहन वा प्राथमिक्तामा पर्न मुस्किल छ । अब अबस्थालाई परिमार्जित गर्दै  व्यवसायीलाई थप प्रोत्सहान दिन र युवालाई उत्पादन क्षेत्रमा आकर्षण गर्न हाम्रो सिकाई र बुझाईमा परिबर्तन गर्नु आबश्यक छ। तसर्थ, यो अवस्थालाई केही भएपनि परिबर्तन गर्नका निम्ति सेमेस्टर प्रणालीमा पढाई भैरहेका विश्वविद्यालयमा सेमिनारलाई पाठ्यक्रममा राख्दै व्यवसायीका संघर्ष–सफलताका व्यहारीक ज्ञानलाई युवा विद्यार्थीहरुसंग जोड्ने प्रयत्न यहाँ गरिनेछ ।

विश्वविद्यालयमा सेमिनारलाई पाठ्यक्रममा राख्दा के हुन्छ ?

यहाँ विद्यार्थीहरू अध्ययन, अध्यापन, अनुसन्धान, परीक्षा तयारी, प्रयोगात्मक अभ्यास, फिल्ड कार्य, समस्या समाधान, सामूहिक छलफल, गेस्ट लेक्चर, उद्योग अवलोकनमा भन्दा गैरशैक्षिक क्रियाकलापमा बढी समय खेर फालेको पाइन्छ । तसर्थ, यस्ता विद्यार्थी उपयोगी क्रियाकलापहरुलाई सेमिनारको रूपमा पाठ्यक्रममा प्रस्तुत गर्दै, यसको भूमिका विद्यार्थीहरूमाझ उपयोगी हुनसक्छ कि भन्नेमा यो लेख केन्द्रित छ ।
उच्च शिक्षामा सेमिनार कार्यको परिचय विद्यार्थीहरूलाई उनीहरूको चेतना र समझ बढाउन सहयोग गर्ने उद्देश्य हो। सेमेस्टर प्रणालीमा सेमिनारलाई क्रेडिट वा गैर–क्रेडिट पाठ्यक्रमको रुपमा प्रस्तुत गर्नाले विद्यार्थीहरूलाई अन्तरक्रियात्मक शिक्षा, कार्य र उनीहरुको भूमिकालाई प्रतिबिम्बको प्रक्रिया मार्फत थप व्यहारिक ज्ञान प्रदान गर्न सक्छ। उच्च शिक्षाका धेरै समस्या नीतिगत कमजोरी, नीति तथा कार्यक्रमको कमजोर कार्यान्वयन, र राजनीतिक प्रभावका कारणले गर्दा नै जटिलता थपिदियको छ भने, यसको हेक्का नीति निर्माताहरूले ढिलो गरी महसुस गर्न थालेका छन्। नीति निर्माता मात्र होइन, संस्थाका लागि शैक्षिक नीतिहरू निर्धारण गर्ने प्राथमिक जिम्मेवारी अध्यापकहरूको पनि हुनुपर्छ । प्रायः सबै विश्वविद्यालयका विद्यार्थीहरू आफ्ना संकायको कार्यसम्पादन, विषयको विषयवस्तु, मूल्याङ्कन प्रणाली र पूर्वाधार र विश्वविद्यालयका नीतिहरूबाट सन्तुष्ट भएका छन् वा छैनन्, तर, आगामी दिनमा विश्व बजारलाई भेट्न र नेतृत्व गर्न हाम्रो शिक्षा प्रणालीलाई अझ परिस्कृत ढंगबाट अघि बढाउनुपर्छ ।

सेमिनारमा अपनाउने बिधि

विश्वविद्यालय शिक्षामा सेमिनार कार्यान्वयनको पद्धति प्रस्ताव गर्दै गर्दा केही स्रोतहरू सुनिस्चित गर्नुपर्ने हुन्छ जस्तै सेमिनार समय; गेस्ट लेक्चरर (आमन्त्रित वक्ता), सेमिनार सत्र सहजकर्ता र सहभागी विद्यार्थीहरूको बारेमा । सेमिनार सत्रको लागि वक्ताको छनौट गर्दा  शैक्षिक कार्यक्रमसँग सम्बन्धित र सफल व्यवसायीलाई प्राथमिक्ता दिनसके विद्यार्थीहरूलाई आफ्नै उत्पादन गृह वा व्यवसायमा उत्प्रेरित गर्न मद्दत गर्नेछ। अझ बक्ताको लागि ति मानिसहरूलाई फोकस गर्नुपर्छ, जस्को आफ्नै उत्पादनलाई उद्योगको रुपमा बिकास गरेको होस्। यसले विद्यार्थीहरूलाई जागिरबाट अलग हुन मद्दत गर्नेछ, जसले देशमा बेरोजगारी दर घटाउन मद्दत गर्नेछ। किनकी, यस्ता वक्ताहरुबाट विद्यार्थीहरूले प्रेरणा र हौसला मिल्नेछ । जस्ले गर्दा समाज बिस्तारै आत्मनिर्भरको बाटोमा अघि बढ्न सक्छ । यस कार्यको थालनी भए व्यवसायीलाई विश्वविद्यालयमा गेस्ट लेक्चररको रुपमा भित्र्याउन सकिन्छ । उनीहरुलाई थप प्रोत्साहन दिनको निम्ति विश्वविद्यालयले गेस्ट लेक्चररको रुपमा क्लास् लियकोमा धन्यबाद सहित प्रमाण पत्र पनि दिन् सक्छ ।
शैक्षिक कार्यक्रमहरूमा सेमिनार सत्रहरूलाई चार भागमा विभाजन गर्न सकिन्छ। सेमिनार एकदेखि तीनसम्म गेष्ट लेक्चररलाई राखेपनि अन्तिम सेमिनारमा; यस पटक सहभागी विद्यार्थीहरू सत्रको मुख्य वक्ता हुनेछन् । सेमिनारको अन्तिम सत्रमा प्रत्येक विद्यार्थी मार्फत प्रस्तुति दिनु अनिवार्य छ । पास मार्क प्राप्त गर्न, यसले सबै सेमिनारहरूमा उनीहरूको कुल उपस्थित–अनुपस्थित समय, सेमिनार एकदेखि तीनसम्मलाई जोड्दै विद्यार्थीको पढाई बिषय र भबिस्यको कार्यक्षेत्रलाई समेट्दै टर्म पेपर लेख्नुपर्ने कारणले गर्दा पेपरहरूको लेखन सीप र अन्तिम प्रस्तुतीकरणको मूल्याङ्कन गर्नुपर्दछ । यसले विद्यार्थीहरूको नेतृत्व कौशल बढाउन सहयोग गर्नेछ; लेखन कौशल र उच्च शिक्षाको समयमा आफ्नो भविष्यको वाहक क्षेत्र निर्धारण गर्न कुनै न कुनै तरिका बुझन यस बिधिबाट सकिने छ ।
यस्ता क्रियाकलाप सुरुवातबाट विद्यार्थी र सरोकारवालाहरू (अभिभावक, विश्वविद्यालय, समुदाय र देश) को लागि केही फाइदाहरू पुग्ने आस गर्नसकिन्छ। तर, लाभ यसको उचित कार्यान्वयनमा निर्भर हुन्छ । यस्तो अवस्थामा, बेरोजगारीको भार कम गर्न र विद्यार्थीहरूको सीप विकास (पेपर लेखन, प्रस्तुतीकरण सीप, र क्यारियर अभिमुखीकरण, आदि) सुधार गर्न सेमिनार सुरु गर्नु फलदायी हुन सक्छ, किनभने हाम्रो शिक्षा प्रणालीमा स्रोतहरूको अभावले प्रत्येक विद्यार्थीलाई छुन सक्दैन । जब युवाहरूले राम्रो गर्छ, समुदायले राम्रो गर्छ र अनि देशको अर्थव्यवस्थाले सही बाटो पछ्याउँछ ।
व्यहारीक ज्ञान र युबा आत्मनिर्भता अनुसन्धान क्षेत्रमा काम गर्ने सिलसिलामा बिश्वका केही बिकासित मुलुकहरुमा बस्ने मौका पाउँदा, यी देशहरुको बिकासका काराक नै स्रोतहरुको उचित ढंगबाट सदुपयोग हो भन्नेमा यो पंक्तिकारलाई द्विबिदा रहेन। ति स्रोतहरु चाहे मानवीय हुन् वा प्राकृतिक–खनिज, वा आयतित कच्चा पदार्थ वा कृतिम ढंगबाट निर्मित बस्तुहरु हुन्, सबै स्रोतलाई उद्योगको रुपमा बिकास र बिस्तार गर्न उनिहरु अब्बल रहे। हामीकोमा कृतिम ढंगबाट निर्मित बस्तुहरुलाई उधोगको रुपमा उपयोग गर्ने अवस्था नरहे पनि अन्य स्रोतहरु प्रशस्त मात्रमा उपलब्ध रहेकोले सम्भावनाका आधार अझै बलिया छन। जस्तै, २०४६ सालको परिबर्तन पश्चात प्राकृतिक स्रोत हाइड्रो सेक्टर उद्योगको रुपमा बिस्तार भैसकेको छ। आज नेप्सेमा उल्लेखित हाइड्रो कम्पनिहरु नै दर्जन भन्दा बढि छन। यो भन्दा बढि वनपैदावार क्षेत्र अझ फराकिलो हुनु पर्ने थियो। किनकी वनपैदावारको उपयोग पश्चात वनपैदावारलाई पुनः उत्पदान गर्ने प्रशस्त भू–भाग देशमा उपलब्ध थियो। तर, यो क्षेत्र खुम्चिन पुग्यो। हुनत यस क्षेत्रमा काम गर्ने बिज्ञहरुले नेपालको वनले कार्बन खपत गरेबापत अन्तर्राष्ट्रिय समुदायबाट यति अर्ब पाउछ भनेको सुनिन्छ, तर यसले भोलिका दिनमा निरन्तरता नपाउन सक्छ । किनकी, ग्रिन टेक्नोलोजीको अबधाराणा अनुसार ठुला–ठुला फेक्ट्रीबाट निस्कने ग्यासहरूलाई वायुमण्डलमा जान नदिई कार्बन डाइअक्साइड, मिथेन र कार्बनमनोअक्साइडको रुपमा परिणत गर्ने र यिनै ग्यासहरुलाई कार्बन फिडस्टकको रुपमा प्रयोग गरी कृतिम तरिकाबाट कार्बनका उपयोगी बस्तुहरु उत्पदान गर्ने कल्पना गरियको छ । यदि यो सफल भए यी ग्यासहरू वायुमण्डलबाट स्वत घट्दै जानेछन। तसर्थ, देशमा उपलब्ध स्रोतहरु र उचित व्यहारीक सिकाइलाई जोड्न सके युबा उद्यमसिलताको दायरा फराकिला बन्दै युबा आत्मनिर्भता भोलिका दिनमा बढ्दै जानेछ ।
अन्त्यमा, यस्ता किसिमका शैक्षिक गतिबिधि र व्यावहारिक ज्ञानले पक्कै पनि विद्यार्थीको सीप तथा क्षमतामा अभिवृद्धि गराउन सहयोग पु¥याउनेछ। नेपालका शैक्षिक संस्थाहरुले समेत यस्ता अभ्यास थालनी गर्न सके नेपालको शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्नुको साथै विद्यार्थीलाई उद्यमसिलतामा जान र देशमै रहि काम गरिरहेका व्यसायीलाई थप जिम्बेवार र प्रोत्साहन मिल्ने विश्वास गर्न सकिन्छ । (लेखकः स्रोत विज्ञानको उत्पदान र उपयोगको क्षेत्रमा अनुसन्धानरत छन)
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker