नियामक निकाय र निर्माण व्यवसायीको लापरवाहीका कारण दुलेगौंडा-हर्कपुर मोटरमार्ग दयनीय बन्दै
राजकुमार आले/दुलेगौडा
२३ किलोमिटर दुरीको दुलेगौँडा हर्कपुर मोटरमार्ग दुलेगौँडाबाट दमौली जोड्ने वैकल्पिक सडक हो । वि.सं २०५१ सालमा ट्रयाक खोलिएको यो मार्ग बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुबाहेक अन्य विशेषता छैन । यही बाटोलाई चुनावी नारा बनाएर अहिलेसम्म कति नेता मन्त्री तथा साँसद भए, कति केन्द्रीयस्तरका नेता बने । तर, बाटोको अवस्था भने अझै उस्तै छ । संधैको हिलाम्मे र धुलाम्मे ।
ट्रयाक खोलेको पनि २९ बर्ष पुगिसक्यो । तर, बाटोको अवस्था अझैसम्म सुध्रिएन । यो मार्गमा दैनिक ६/७ वटा जीपहरु आवत-जावत गर्छन् । उक्त मोटरमार्ग कालोपत्रेका लागि निर्वाचन क्षेत्रस्तरीय सडकको रुपमा गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७६/०७७ को बजेटमा २५ करोड ६० लाख विनियोजन भएको थियो । निर्माण कम्पनीसंग भएको सम्झौता अनुसार काम हुन नसकेको स्थानीयको भनाई छ ।
संधैको बर्ष जस्तै अहिलेको बर्खा लागेसंगै यो मोटरमार्ग हिडिनसक्नु भएको स्थानीय बताउँछन् । हिउँदमा माटोले मिलाएको सडक बर्खाको पानीले बगाएपछि मोटरमार्ग विजोग भएको छ । ‘मोटरमार्गमा कतै नाला नै छैन, नाला भए पनि पानी नालामा जाँदैन, सडकको बीचबाट बग्छ, कहि पोखरी भएको छ’, स्थानीय शिक्षक विरेन्द्र थापा भन्छन्, ‘यो बाटो बन्ने भनेको बर्षौ भइसक्यो, अहिले काम हुन्छ कि भन्ने आश लागेको थियो, झन् कामै ठप्प भो । स्थानीयलाई हिड्डुल गर्न साह्रै दुःख छ, यो पीडा हामीले बर्षौदेखि भोग्दै आएका छौँ ।’ पैदल हिड्न समेत समस्या हुने गरेको बताउँदै उनले भने, ‘कालोपत्रेको काम अगाडी बढाउन सम्बन्धित निकायलाई तत्काल पहल गर्न गरिदिए स्थानीयले राहत पाउने थिए ।’
मोटरमार्ग अन्तर्गत मतेनीपानी, अमिलीपानी, बन्केवा, धारापानी, भण्डारीगाउँ, उदेनढुङ्गा, कालिमर्याङ्ग, चामगैह्रा, देउराली लगायतका स्थानमा पानी जमेर हिलाम्मे भएको छ । वनकेवाका स्थानीय युवा दीपक परियारले मोटरसाइकलमा हिड्न निकै जोखिमपूर्ण बनेको बताए । उनले भने, ‘बाइकको टायर पुरै गड्छ, फसेर विजोग हुन्छ । ओरालो परेको स्थानमा माटो सबै बगाएर ढुङ्गा र गेग्रान मात्र बाँकी छ, जानुपर्ने ठाउँमा जानै पर्यो, ज्यानकै जोखिम मोलेर हिड्नु परेको छ ।’
राष्ट्रिय राजमार्गबाट नजिकै भएर पनि स्तरोन्नति नहुँदा आफुहरुले निकै दुःख भोग्नुपरेको स्थानीय सावित्री तिवारी बताउँछिन् । चुनावमा नेताहरु हात जोड्दै आउने र चुनाव जितेपछि जनतासंग गरेको बचन विर्सने गरेको उनको गुनासो छ । ‘जनताको दुःख कसले बुझछ र ? चुनावमा मात्र हो नेताहरु हात जोड्दै आउने त, चुनावपछि कता हो कता हुन्छन्’, उनले भनिन्, ‘वडादेखि प्रदेशका नेताहरु कोही पनि गतिला छैनन् । कालोपत्रेका लागि बजेट परेको छ, पैसा हाल्दिएर मात्र पनि त भएन, कार्यान्वयनमा पनि पहल गरिदिनु पर्यो ।’
त्यस्तै, बन्केवाकी स्थानीय महिला विष्णु कार्कीले मोटरमार्ग निकै जोखिमपूर्ण रहेको बताउँदै सामानका भारी सकिनसकी बोक्नु परेको दुखेसो पोखिन् । चुनावमा नेताहरुले जनताको हरेक सुख दुःखमा साथमै हुने बताए पनि बोलेको कुरा कहिल्यै पुरा हुन नसकेको उनको गुनासो छ । ‘चुनावको समयमा हामी सक्दो सहयोग गर्र्छौ, यसमा भोट हाल्नु है भनेका पनि हुन्’, उनले भनिन्, ‘भोट हालेर जिताइयो, तर एक महिनादेखि बाटो यस्तो हुँदा कसैले देखेका छैनन्, मैले त भनि छु की कोही मर्छ, अनि बल्ल यो बाटो बन्छ कि ।’
यहि सडक खण्डमा दैनिक आहोरदोहोर गर्ने जीपका सहचालक रामबहादुर नेपालीले बाटो बिग्रदा यात्रु लिएर हिड्न पनि निकै जोखिमपूर्ण बनेको बताउँछन् । गाडी फसेर निकाल्नै घण्टौ लाग्ने र गाडी बिग्रिएर खर्च मात्रै बढ्ने गरेको बताउँदै उनले भने, ‘बाटो देख्नु भएकै छ, यस्तो विजोग छ, कहिले खाल्डामा पर्छ, कहिले डाँडामा ठोकिन्छ, बाटो देख्दा थन्क्याएर राखौँ जस्तो हुन्छ।’
शुक्लागण्डकी नगरपालिका-३ का वडाध्यक्ष रामकुमार श्रेष्ठले बाटोको दयनीय अवस्थाबारे आफुलाई कसैले पनि केही नभनेको बताउँछन् । वडामा हुने समस्याबारे वडाका जनप्रतिनिधिहरुलाई ठाउँ अनुसार जिम्मेवारी दिएकाले पनि वडाभित्र हुने समस्याहरु समाधान हुन्छ भनेर आफु ढुक्क रहेको उनले बताए । वडाध्यक्ष श्रेष्ठले भने, ‘म वडा कार्यालय जाने आउने गरेपनि बाटोको दयनीय अवस्थाबारे यादै गरिन्, बाटोमा समस्या भएपनि वडासदस्य ज्यूहरुले समाधान गर्नुभयो होला भन्ने लाग्यो । त्यहि भएर ढुक्कसंग बसेको म त ।’ उनले लगत्तै जेसीबी पठाएर बेसारेगौँडाको ओढार पुर्ने काम गरेपनि अन्य स्थानका खाल्डाखुल्टी पुर्न भने चासो दिएका छैनन् ।
कालोपत्रेको काम किन रोकियो ?
तनहुँका तीन स्थानीय तह शुक्लागण्डकी, म्याग्दे र व्यास नगरपालिका जोड्ने यो राजमार्ग करिब २३ किलोमिटरको छ। पहिलो चरणमा १० किमि कालोपत्रे गर्ने जिम्मा शंकरमाली निर्माण कम्पनीले पाएको थियो । ट्रयाक खोलेको २७ बर्षपछि गण्डकी प्रदेशको निर्वाचन क्षेत्रस्तरीय योजना अन्तर्गत कालोपत्रे गर्नेगरी २०७६ मंसिर २४ गते शिलान्यास गरिएको थियो । गण्डकी प्रदेशका तत्कालिन भौतिक पुर्वाधारमन्त्री रामशरण वस्नेतले सडक कालोपत्रेको शिलान्यास गरेका थिए । सो क्रममा बस्नेतले आफु हिजोका मन्त्रीहरु जस्तो आश्वासन दिने तर काम नगर्ने खालको नभएर काम गरेर देखाउने भन्दा जनताले खुसी हुँदै ताली पिटेका थिए । कालोपत्रे शुरुभएको २८ महिना यहाँका स्थानीयले धुलो र हिलोमा टेक्दै दुलेगौँडा झर्नुनपर्ने आश्वासन दिएका थिए। तर, पुर्वमन्त्री बस्नेतले दिएको आश्वास अनुसार काम नभएपछि अहिले आएर स्थानीय जनताले बस्नेतको आश्वासनलाई झुटो सम्झेका छन् ।
शिलान्यास लगत्तै फागुनसम्म तीब्रगतिमा अगाडी बढेको काम चैत्रको ११ गतेदेखि कोरोना कहरका कारण लकडाउन भएपछि काम ठप्प भएको थियो । त्यसबेलासम्म पहरेटारदेखि वनकेवासम्म वाल लगाउने, कटिङ गर्ने, नाला बनाउने काम सम्पन्न भइसकेको थियो । यसरी तीब्र गतिमा काम भएको देख्दा स्थानीयवासी खुसी थिए । एकाध घट्ना बाहेक निर्माण कार्यमा स्थानीयले कुनै अवरोध गरेनन् । निषेधाज्ञा खुकुलो हुँदै गएपछि सडक निर्माण कार्यले पुनः निरन्तरता पायो। त्यसयता वन्केवादेखि शुक्लागण्डकी-६, कमलबोटसम्म पर्खाल निर्माण भइसकेको थियो । उदेनढुङ्गा कालिमर्याङको बीचमा पर्ने मण्डुखोला क्षेत्रमा भने काम गर्न बाँकी नै छ ।

कोरोनाको दोस्रो लहर शुरुहुँदै गर्दा सडक निर्माण कार्य पनि सुस्ताउँदै गयो । जारी निषेधाज्ञामा सरकारले निर्माण कार्यमा कुनै बन्देज गरेको थिएन । तर पनि यहाँको काम भने रोकियो । तलब नपाएको भन्दै कामदारले काम गर्न छाडे। तीन महिनादेखिको काम गरेको पैसा नपाएको कामदार धनबहादुर बुढा (माग्ने)ले गुनासो गरे । ठेकेदारले काम लगायो, हामीले इमान्दारीताको साथ काम गर्यौ, तर पाउनुपर्ने पैसा नै पाएनौ उनले भने ।
२०७८ असार पहिलो हप्तासम्म काम नगरी बसेका कामदार सबै घर फर्किएपछि त्यसयता कुनै पनि काम हुन सकेको छैन । कम्पनीले भने २५ जना कामदारलाई कोरोना संक्रमण देखिएकाले काम रोकिएको बताएको छ । तर, कामदारहरुका अनुसार पाँच जनामा संक्रमण देखिएको थियो । उनीहरु पहिल्यै निको भइसकेका थिए । कम्पनीले भने कोरोनाको बाहना बनाएर पैसा नदिएको र कामका लागि सामाग्रीहरु उपलब्ध पनि नगराइएको कामदारले गुनासो गर्ने गरेका थिए ।
निर्माण कम्पनी के भन्छ ?
वि.सं २०७६ कार्तिक ४ गते सम्झौता भएको यस मार्गमा वि.सं २०७८ माघ १० गतेभित्र कालोपत्रे सम्पन्न गर्ने सम्झौतापत्रमा उल्लेख छ । म्याद सकिन अब ठ्याक्कै ६ महिना बाँकी छ । सरकारको प्राविधिक मुल्याङ्कन अनुसार हालसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । तर, कम्पनीले भने ७५ प्रतिशत काम सम्पन्न भइसकेको र २५ प्रतिशत काम गर्न बाँकी रहेकोले समयमै काम सम्पन्न हुने दाबी गरेको छ । निर्माण व्यवसासी डि.बी कार्कीले माघ १० भित्र काम नसकेपनि आफुहरुसंग थप एक बर्ष समय रहेको बताए ।
उनले भने, ‘गतबर्ष कोभिडकै कारण काम रोकियो, सरकारले ६ महिना म्याद थपेको छ, अहिलेको ६ महिना र पहिलो बर्षको ६ गरी १ बर्ष त हामीसंग छदैछ नि । सकेसम्म माघभित्रै सक्ने गरी काम गर्ने र नसकिएपनि आफुहरुलाई आत्तिनु पर्ने अवस्था छैन । अहिलेसम्म काम धेरै अगाडी बढिसकेको हुनेभएपनि पूर्वाधार विकास कार्यालयबाट हेर्न र नाप्नै नआएको र फोन गर्दासमेत रिसिभ समेत भएको छैन ।’ कम्पनी र पूर्वाधार विकास कार्यालयबाट संयुक्त सर्भे हुनुपर्नेमा अहिलेसम्म नभएको उनको भनाई छ । कार्कीले साउनको पहिलो हप्ताबाटै काम हुने बताएपनि अहिलेसम्म शुरु हुन सकेको छैन ।
समयमै काम सम्पन्न नभए कारबाही हुन्छ : पूर्वाधार कार्यालय
यता, पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले मोटरमार्गको काम निकै ढिलो भइरहेको बताए । कम्पनी आफैले समयमा काम नगर्ने अनि अनेक बाहना बनाएर पूर्वाधार कार्यालयलाई दोष देखाउनु गलत भएको प्रमुख ढुङ्गानाको भनाई छ । कम्पनीले ७५ प्रतिशत काम सकिएको दाबी गरेपनि २५ प्रतिशत भन्दा काम नभएको र काम गर्न ताकेता गरिरहेको उनले बताए । ‘उहाँले अनेक बाहाना बनाउनुहुन्छ, उहाँका भनाई मान्ने हो भने त पुरै काम भइसक्यो पनि भन्न भ्याउनुहुन्छ, हाम्रो टिमले गरेको प्राविधिक मुल्यांकनमा २५ प्रतिशत भन्दा काम भएको छैन’, उनले भने । २५ करोड १० लाख ६० हजार ५८० रुपैयाँमा सम्झौता भएकोमा कम्पनीलाई ५ करोड ७४ लाख रुपैयाँ रकम भुक्तानी भएको छ ।
यहि माघ १० गतेसम्म सम्झौतामा उल्लेख गरिए अनुसार काम सम्पन्न नभए कारबाही हुने उनले बताए । कोभिडका कारण ६ महिना म्याद थप गर्ने सरकारको निर्णयबारे हामीलाई आधिकारिक जानकारी छैन, अहिलेसम्म कुनै परिपत्र आएको छैन, हामीले त सरकारको निर्देशन अनुसार काम कारबाही अगाडी बढाउने प्रमुख ढुङ्गानाले बताए ।










