प्राकृतिक सौन्दर्य, पर्यटन र मानहुँकोट
के.बि मसाल
गण्डकी प्रदेशको तनहुँ ऐतिहासिक पहाडी जिल्ला हो । तनहुँमा ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह छन् । तनहुँ हिमाली जिल्ला त हैन । तर धेरै डाँडाकाँडा र कोटबाट दर्जनौ हिमालहरुको दृष्यावलोकन गर्न सकिन्छ । कतिपय पर्यटकहरु त छक्क पर्दछन । हिमाली जिल्ला नभए पनि हिमालको छायाँमा फोटो खिच्न र टिकटक बनाउन मात्र होइन भिडिओ खिच्न समेत पाउँदा पर्यटकहरु रमाउँछन । मानहुँकोट सामुन्द्रिक सतहदेखि १ हजार १०० मिटरको उचाइमा पर्दछ । प्रकृतिमा रमाउने पर्यटकहरुका लागि मानहुँकोट प्रकृतिक भ्युटावर पनि हो । प्रकृतिसंग रम्न खोज्ने पर्यटकहरुले मानहुँकोटबाट दमौली वरपरका सुन्दर गाउँहरु अवलोकन गर्न सक्दछन ।
पूर्वमा मर्स्याङदी पश्चिममा कालिगण्डकी र बिचमा सेती र मादी नदी फैलियर रहेको महाभारत पर्वतमा प्राय कोट जोडिएका गाउँहरु पर्दछन । तनहुँमा गजरकोट, घिरिङकोट, माझकोट, राम्जाकोट, भिरकोट, ऋषिङकोट, मानहुँकोट, मनपाङकोट, पयाउलीगढीकोट, सिन्चाङगढीकोट, घन्टाचुलीकोट, पालुराजाकोट, सतिकोट, बुढाकोट, राङरुङकोट, मिर्लुङकोट, ज्यामरुककोट, रुपाकोट, पुर्कोट, क्यामिनकोट, भुजिकोट, गलेखामकोट लगायत सयौकोटहरु पर्दछन । तनहुँ जिल्लाको सदरमुकाम दमौलीदेखि नजिक रहेको मानहुँकोट ऐतिहासिक राजनैतिक, साँस्कृतिक एवं भौगोलिक रुपमा पर्यटनको लागि महत्वपूर्ण स्थल मानिन्छ । इतिहास पल्टाउने हो भने मानहुँकोट र गलेखामकोट तत्कालिन बाइसे चौविसे शासनकालमा दक्षिण तर्फो सुरक्षाका लागि थियो । कोत हातहतियार भण्डार गर्ने थलो अर्थात सरकारी फौजको खरखजाना, हातहतियार आदि राखिने घर, मौलो पूजा गरिने ठाउँ; कोत हो । कतिपय ठाउँमा शक्तिको लागि देवीको मन्दिर पनि हुन्छ । कोत शब्द पछि बोल्ने क्रममा कोट भएको हो ।
मानहुँकोटलाई स्थानीयहरुले लामिडाँडा पनि भन्दछन । मानहुँकोट वरपर मगरजाती र खनालहरुको बसोवास रहेको छ । मानहुँकोट आदिकवी भानुभक्त आचार्यको ससुराली गाउँ पनि हो । मानहुँकोट नेपालको इतिहासमा हलोक्रान्ति किसान मुक्ति आन्दोलन जस्को जोत उस्को पोतका अभियानकर्ता एकदेवको जन्मथलो पनि हो । एकदेवको जन्म बि.स. १९८० मा भएको थियो । तनहुँका अधिकांश कोटहरु अहिले पर्यटकीयस्थल भएका छन । घुमफिर गर्ने संस्कृतिको बिकासले गर्दा आजभोली ग्रामीण क्षेत्रमा भएका ऐतिहासिक कोटमा पुग्ने फोटो खिच्ने, टिकटक बनाउने मात्र होइन कतिपय टेलिफिल्म निर्माण गर्ने कलाकारहरुको रोजाइ समेत कोटमा हुने गरेको छ । मानहुँकोटमा जाडो बढेसँगै पर्यटक पनि बढेका छन् । बिहानको घामको किरणसँगै कुहिरोले र्सलक्क ढाकेको दमौली बजार वरपर सेती र मादी नदी किनारमा कुहिरोले ढाकेको दृश्य अवलोकन गर्न मानहुँकोटमा पर्यटकहरु पुग्ने गर्दछन । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई महर्षि वेदव्यासका पिता पराशर ऋषिको यौन उत्तेजनासंग जोडिएको कथा प्रशंग पनि छ । मानहुँकोटबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । मानहुँकोटमा पर्यटक बढेपछि गाउँ छाडेर शहर बजार अर्थात दमौली बजार र आसपास देउराली, मैदान, चारघरे, छापथोक, टाकराङ, अर्चलचौर लगायतका गाउँमा बसोवास गर्न थालेका मानहुँकोटका गाउँलेहरु क्रमशः गाउँमा र्फकन थालेका छन ।
पर्यटन भनेकै नयाँ ठाउँ अर्थात नदेखेको ठाउँमा पुग्नु हो । मानहुँकोटमा पर्यटनका आधारभुत पुर्वाधार भएपछि बिभिन्न जिल्लाका आन्तरिक पर्यटकहरु पुग्न थालेका छन । मानहुँकोटमा पर्यटकहरुलाई खान बस्नको लागि कुनै असुबिधा छैन । अहिले मानहुँकोटमा पोखरा र मानहुँगरी दुइ होमस्टे सञ्चालनमा आएको छ । पर्यटकहरुको रोजाइ अनुसार स्थानीय परिकारका खानहरु खान पाउँछन । मानहुँकोटकोबाट प्राकृतिक सौन्दर्यलाई नियाल्दा पर्यटकहरुको मनै लोभ्याउछ । पर्यटकहरुले हिमालको दृष्यमा रमाउन, मादी र सेती नदी माथी देखिने बाक्लो कुहिरोको सतह देख्दा नौलो अनुभूती गर्न पाउँछन । सेती र मादी दुबै नदी हिमालबाट उदगम भएको हो । माछापुच्छ्रे हिमालदेखि सुरु हुने सेती नदी र कुपुचे तालदेखि उदगम भएको मादी नदी हो । कुपुचे ताल अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको फेदीमा पर्दछ । पर्यटकहरुले मानुहुँकोटबाट दमौली बजार, गुणादी, मादी नदी, साँगे खोला पनि देख्न सक्दछन । कतिपय पर्यटकहरु मानहुँकोटमै होमस्टेमा बसेर बिहानको हिमाली र कुहिरोको सतहको दृश्य हेर्नेहरु पनि धेरै हुन्छन । दमौलीदेखि मनहुँकोट पुग्न १० किलोमीटर मोटर मार्गको यात्रा गर्नु पर्दछ । आफ्नो साधन स्कुटर, बाइक, सानागाडी भयो भने यात्रा सजिलो हुन्छ । पदयात्रा गर्न रुचाउने पर्यटकहरुले करिव १ घण्टाको यात्रामा मानहुँकोट पुग्न सकिन्छ । मानहुँकोट प्राकृतिक हिसाबले मात्र नभइ सांस्कृतिक रुपमा पनि धनी छ ।
मानहुँकोटमा जाडो महिना सुरु हुने बित्तिकै आन्तरिक पर्यटकहरुको घुइचो लाग्न सुरुहुन्छ । मानहुँकोटमा बिहानको सूर्योदय र बेलुकीका सूर्यास्तको दृष्यले पर्यटकहरु रमाउने त छँदै छ, बादलमाथि उभिएको मानहुँकोटबाट देखिने हिमाल र मौसम खुलेपछि आँखामा कैद हुने दमौली बजार, वरपरका डाँडाकाडाका बस्तीहरुले पर्यटकहरुले स्वर्गको अनुभूती गर्दछन । अहिले पर्यटनको बिट फराकिलो हुँदै गएको छ । मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रा पर्यटन भएपनि यात्रामा पर्यटकहरुले आफ्नो रुचि अनुसारको बिटका बारेमा खोज गर्दछन । समाजमा आजभोली पर्यटन लोकप्रिय र फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ । घुमफिरको संस्कृति बढदै गएको छ । यसरी नयाँ ठाउँमा घुमफिर गर्दा पर्यटकहरुले पुगेको ठाउँको संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन, जीवनशैलीको बारेमा अध्ययन गर्दछन । इतिहासमा रुचि राख्ने पर्यटकले ऐतिहासिक पुरातात्बिक एवं धार्मिकस्थलहरुको अध्ययन अनुसन्धान गर्ने गर्दछन । तर जेसुकै भएपनि पर्यटकहरु प्रकृति सौर्न्दयमा रमाउने गर्दछन ।
मनु ऋषिको वासस्थान मानिने मानहुँकोट झयाडी मगरजातीहरुले आफ्नो पुर्खा मान्दछन । मनु ऋषिले तपस्या गरेको ठाउँ भएको हुँदा ठाउँको नाम मानहुँ रहन गएको भनाइ पाइन्छ । अहिले पनि झयाडी मगरजातीहरुले मनु ऋषिकै नाममा मंसिर पूर्णिमाका दिन पुजा गर्दछन । पुजा गर्दा पुजारीहरु मनु ऋषिकै वंंशका झयाली मगरहरु रहने र उनीहरुले पुजा गरेर सकेपछि मात्र अरुको भाकल र पुजा चल्ने परम्परा छ । मनु ऋषिले तपस्या गरेको शिला ढुङ्गालाई मगर ढुट भाषामा ल्हुङ/ल्हुङ्ग भनिन्छ । मनु±ल्हुङ मिलेर मानहुँ रहन गएको हो भन्ने तर्क पनि छ । मनु हिन्दू धर्मका अनुसार, संसारका प्रथम पुरुष थिए । मनुस्मृति हिन्दु धर्म संस्कृतिको अभिन्न अग हो । महाभारतमा ८ मनुहरुको बारेमा वर्णन गरिएको छ । श्रीमद्भागवतमा मनु ऋषि र सृष्टिको बारेमा उल्लेख गरिएको छ । श्वेत वराह कल्पमा १४ मनुहरुको बारेमा उल्लेख छ । मानहुँकोटमा तपस्या गर्ने मनु कुन ऋषि हुन – अथवा नाम मात्र मनु थियो ! यो खोजको बिषय बन्ला ! तर पनि झयाडी मगरजातीहरुले आफ्नो पुर्खा मान्दै आएका छन ।
इतिहासको पाना पल्टाउने हो भने तनहुँमा वि.स १६१० देखि १८३९ सम्मको २३० वर्षको अवधिसम्म पाल्पाली राजा मणिमुकुन्दसेनका वंशजका नौ जना सेनवंशी राजाहरुद्वारा शासन गरेका थिए । पछि नेपाल एकीकरण अभियानमा श्री ५ रणबहादुर शाह र राजेन्द्रलक्ष्मीको शासनकालमा सेनवंशी राजाहरुको राज्य नेपाल अधिराज्यमा गाभिन गएको हो । चौबिसे राज्य तनहुँको प्रथम राजाको रुपमा भृङ्गी सेन थिए । त्यसपछि क्रमशः हंवीर सेन, त्रिविक्रम सेन प्रथम, दामोदर सेन, दिग्विजय सेन, कामराज दत्त सेन, त्रिविक्रम सेन द्वितीय, कामारीदत्त सेन, हरकुमार दत्त सेनले शामसन गरेका थिए । तनहुँका धेरै ऐतिहासिक, सामरिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरुको खोज अनुसन्धान भएको छैन । कतिपय सेन राजाका कोटको इतिहास गर्भमा तुहिएका छन् । कुनकुन ठाउँमा कस्ता कस्ता ऐतिहासिक घटनाहरु भएका थिए भन्ने कुरा इतिहासमा लेखिएको छैन । त्यसको सत्य, तथ्य अनि प्रमाणको आधारमा जसरी लिपिबद्ध गरिनु पर्ने थियो त्यो कार्य नत विगतका सरकारहरुले गर्न सके नत वर्तमान सरकारहरुले पनि प्राथामिकताको विषय बनाएका छैनन् । अब कोटहरुमा पर्यटनको बिकाससंगै ती कोटमा भएका ऐतिहासिक घटनाका विषयहरुलाई पनि बाहिर ल्याउन आवश्यक छ।
बन्दीपुर तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो । बि.स. २०२५ सालमा सदरमुकाम बन्दीपुरबाट दमौली सारिएको हो । दमौलीको पुरानो सभ्यता खोज्ने हो भने पहिला दमौलीमा औलोको प्रकोप हुनेहुँदा प्राय दरै र बोटे जाती बाहेकका समुदायको बसोवास थिएन। अहिलेको दमौली बजार त्यो समयमा टाप्रेघारी हुन्थो । सिंचाई थिएन दरै र बोटो जातीहरुले घैया धान मकै र भट्टमासको खेती गर्दथे । दरै र बोटे जातीहरुले सती र मादी नदीमा काठको ढुङ्गामा मानिसहरुलाई तार्ने काम पनि गर्दथे । दमौलीलाई पुराना पुस्थाहरुले अझै पनि डमौली भन्छन । तनहुँ जिल्ला मगरजातीको बाहुल्यता भएको जिल्ला हो । मगर भाषामा डिको प्रयोग धेरै हुन्छ । मगर भाषामा पानीलाई डि भनिन्छ । अझै पनि ज्येष्ठ नागरिक मगरहरुले मादीलाई माडी भन्ने गर्दछन । दमौली क्षेत्रको भौतिक पूर्वाधारको बिकास बन्दीपुरबाट सदरमुकाम दमौलीमा सरेपछि र पृथ्वीराजमार्ग चिन सरकारको सहयोगमा निर्माण भएपछि दमौलीको बिकास क्रमशः हुँदै गएको हो । अहिले दमौलीलाई केन्द्रमानि गाउँगाउँमा मोटरमार्ग पुगेको छ ।
मानहुँकोटबाट फर्कने बेला आफ्नो यात्राको समय बढाउन मन लागे पर्यटकहरुले ब्यास नगरपालिकामा पर्ने अन्य तीर्थाटन पर्यटकीय क्षेत्रमा समेत पुग्न सकिन्छ । व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्टी व्यासगुफा पर्दछ । जहाँ बसेर व्यासले चारवेद र अठार पुराणको रचना गरेका थिए । व्यास गुफाको पारिपट्टी पराशर गुफा छ । पराशर गुफासम्म पुग्न मादी नदीको झोलुङे पुल तर्नु पर्दछ । व्यास गुफासम्म पुगेपछि धेरै पर्यटक पुल तरेर मादी सेती नदीको संगमस्थल पराशर क्षेत्र पुग्छन् । नजिक रहेको निर्माणाधिन तनहुँ जलविद्युत आयोजना समेत अवलोकन गर्न सकिन्छ । यो आायोजनाबाट १४० मेगावाट विद्युत उत्पादन हुनेछ । पर्यटकहरु छाब्दी बाराही, घुटुक्दी बराह, निर्बु बराह, चम्रे ओडार, गलेखामकोटमा पनि पुग्न सक्दछन । गलेखामकोट ऐतिहासिक स्थल हो । पहिले गलेखामकोटलाई श्यामघाकोट भन्ने गरिन्थो । गलेखामकोट दमौलीबाट पश्चिम तर्फ पर्दछ । क्यामिनकोटमा कालिकाको मन्दिर पर्दछ । देवीडाँडामा निर्माण गरिएको भ्यूटावरबाट तनहुँ जिल्लाको अधिकांश भाग देख्न सकिन्छ । यो बाहेक भानुघाँसी स्मारक पार्क, र सहिद कालिका जंगल पार्क पनि पर्यटकहरु पुग्न सक्दछन ।
पर्यटनको विकास भन्न जति सजिलो छ काम गर्न भने त्यति सजिलो हुँदैन । बिकासका कुरा उठ्ने बित्तिकै आजभोली शहर बजार गाउँघर, टोल छिमेकमा पर्यटनका कुराहरु उठने गर्दछन । पर्यटनको विकास गर्नु पर्दछ । पर्यटनको विकासले नै आर्थिक विकास हुन्छ । विकासको महत्वपूर्ण आधारनै पर्यटन हो । पर्यटनको बहुआयमिक रुपले विकासमा टेवा पुर्याउँछ। पर्यटनले प्रत्यक्ष आर्थिक आर्जन र रोजगारी सृजना गराउँछ । गाउँघरमा उत्पादन भएको वस्तुहरुको खपत हुन्छ । यस्ता कुराहरु सभा सेमिनारदेखि गाउँ र टोलका चियाँ होटलमा पनि धेरैले गर्दछन । तर पर्यटनको विकास गर्दा पूर्वाधार हुनु पर्दछ भन्ने कुरा चाहि ख्याल गरेका हुँदैनन् । अर्को तर्फ पर्यटनको क्षेत्रमा गाउँघरमा जे जति पूर्वाधार बनेका छन, ती सबै पनि ब्यवस्थित हुन सकेका छैनन् । गाउँमा पर्यटकहरुलाई भित्र्याउन धेरै किसिमका पूर्वाधार हुनुपर्दछ । गाउँमा पुग्न भरपर्दा यातायातका साधन, बस्नको लागि होटल, लजको अथवा होमस्टेको सुबिधा, गाउँघरको सरसफाइ, स्वच्छ वातावरण र पर्यटकहरुलाई सुरक्षित छौ भन्ने महसुस दिलाउन सक्नु पर्दछ ।
तनहुँमा प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता हेर्नका लागि पर्यटकहरु पुग्दछन । प्राकृतिक विविधतासँगै दमौली क्षेत्रमा विकसित मानवीय चालचलन, संस्कार, भाषा, भेषभुषा, संस्कृतिलाई पर्यटकहरुले रुचिका साथ आनन्द लिदै रमाउँछन । दमौली वरपर पर्यटनका लागि धेरै सम्भावना भएको क्षेत्र हो । बिविध हावापानी, गाउँले जनजीवन, रहनसहन, भौगोलिक अवस्था, स्थानीय अर्गानिक खाना, साँस्कृतिक सम्पदा र संस्कारले आजभोली कतिपय पर्यटकहरु मानहुँकोट मात्र होइन गाउँमा पनि पुग्दछन । प्राकृतिक रमणीयताको परिवेशले गाउँको होमस्टेमा बस्ने र भाषा र संस्कृतिको अध्यन समेत गर्दछन । गाउँमा पर्यटकहरु पुग्न पर्यटन पूर्वाधार पहिलो आवश्यकता हो । पर्यटकलाई सुरक्षित तवरले गन्तब्यमा पुग्न यातायातको सुबिधाका लागि भरपर्दो सडक सुबिधा, पदयात्राको लागि पदमार्ग जस्ता पूर्वाधार हुनु पर्दछ । ग्रामीण क्षेत्रमा धेरै कच्ची सडकहरु छन् र ती सडक प्राबिधिक रुपमा जोखिम छन । जबरजस्ती कच्ची सडक बनाउँदा गाउँको सौन्दर्यता विनास भएको छ । ग्रामीण पर्यटन प्रबर्द्धन गर्न ब्यवस्थित सडक बनाउने र पदमार्गको संरक्षण गरी ट्रेकिङ र हाइकिङको सुबिधा दिलाउन तर्फ ध्यान दिनुपर्छ । सडकको दीर्घकालीन योजना सहित प्राबिधिक दृष्टिले उपयुक्त एवं वातावरणीय अनुकूल बनाइ गाउँको सौन्दर्यताको संरक्षण गर्नुपर्छ । सडकले ग्रामीण र शहरी क्षेत्र जोडने र पर्यटकको पहुँचलाई सहज बनाउन आवश्यक छ ।
पर्यटन प्रवर्द्धनको लागि महत्वपूर्ण पक्ष पर्यटकको खाना हो । गाउँको स्वादिलो, अर्गानिक र स्वस्थ्यकर खाना स्थानीय उत्पादनबाट बनाई खुवाउने सीप गाउँमा हुनुपर्छ । गाउँमा प्राप्त हुने प्राकृतिक र खानयोग्य बस्तुको बिभिन्न परिकार बनाउने र पर्यटकलाई लोभ्याउने सिप हुनु पर्दछ । गाउँका स्थानीय खानाले पर्यटकलाई आनन्द दिलाउने र गाउँको पहिचान देखाइ पर्यटक पुनः गाउँमा पुग्ने वातावरण बनाउन बिशेष ध्यान दिन आवश्यक छ । गाउँको मेला जात्रा, पर्व तथा विशेष दिनको अवसरमा पर्यटकहरुलाई आकर्षित गर्न कार्यक्रम सहितका सूचनाहरु पर्यटक माझ पुर्याउने र सो अवसरमा हाटबजारको ब्यवस्था गरी स्थानीय उत्पादनको बजार प्रवर्द्धन गरी गाउँलेको आम्दानी बढाउन सकिन्छ । स्थानीय बिशेष उत्पादनलाई पर्यटकहरुले कोशेलीको रुपमा लैजाने प्रबन्ध मिलाउन कोशेली घरको ब्यवस्था गर्न सके राम्रो हुन्छ ।