घलेगाउँ घरबासमा आउन थाले पर्यटक

गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् । कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन्।

गत साउनसम्म घरबास बन्द रहेकोमा भदौ १ गतेबाट खुल्ला भएपछि कहिलेकाहीँ दुई चार जना आउन थालेका थिए । यतिबेला दैनिक ३०÷३५ जना पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । कोरोनाको त्रासका बीचमा समेत पर्यटक भित्र्याउनलाई उत्साहित भए पनि पर्यटक नआउँदा निरास बनेका यहाँका घरबास सञ्चालक आन्तरिक पर्यटक आउन थालेपछि खुशी हुन थालेका घरबास सञ्चालक दीर्घराज घलेको भनाइ छ । उहाँले भन्नुभयो, “विगतमा ४०० को हाराहारीमा पर्यटक आउँदा घरबासमा राख्ने ठाउँ अभावले समस्या बनाएको थियो, तर अहिले पर्यटकको पर्खाइमा रहनुपरे पनि विस्तारै पर्यटक वृद्धि हुन थालेको छ।”

पर्यटक आगमनमा वृद्धि हुँदै गएपछि केही राहत पुुगेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । घलेगाउँबाट लमजुङ, अन्नपूर्ण (दोस्रो) र चौथो, माछापुच्छे«, मनास्लु, हिमालचुली, ङादीचुली (डा हर्क हिमाल) र वुद्ध हिमाल देख्न सकिन्छ । सूर्योदय र सूर्यास्त, नमूना चिया बगानको अवलोकन, गुरुङ खाना, घले राजाको पार्क र गुरुङ सङ्ग्रहालय हेर्न सकिन्छ । जिल्लाको सदरमुकाम बेँसीशहरबाट सो गाउँ पुग्नलाई २३ किलोमिटरको दूरी पार गर्दै सवारी साधनमा करिब तीन घण्टा र पैदलयात्रा गरेमा करिब पाँच घण्टा समय लाग्छ ।

विसं २०५७ बाट शुरु भएको घलेगाउँ घरबास जिल्लाकै पहिलो हो । गाउँका १२५ घरधुरीमध्ये ३७ घरमा घरबास सञ्चालनमा रहेको उक्त समितिले जनाएको छ । यहाँका सबै घरका छाना जस्तापाता रहेको देख्न सकिन्छ साथै सबै छानो रातो रङको छ । लमजुङ तथा विशेष गरी क्होलासोथर गुरुङ जातिको उद्गमस्थल हो । यही नामबाट क्होलासोथर गाउँपालिका रहेको छ । पुर्खौंपुर्खादेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, भाषा, संस्कार, संस्कृति छन् । हिमाली काख र स्वच्छ हावापानीमा रमाएका गुरुङ समुदायको यहाँ बाक्लो बस्ती तथा बसोबास रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker