आँबुखैरेनी, पर्यटन र पहरामा कुँदिएका विभिन्न आकृति

के.बि. मसाल

पर्यटन भनेकै जहाँ पुगेपनि रमाउने हो । नेपालको पर्यटन हिमालदेखि तराईसम्म रहेका ताल तलैया, विभिन्न तीर्थाटनका धार्मिकस्थल, जनजातिका भाषा र संस्कृति मात्र होइन जैविक विविधतामा रमाउनेहरुका लागि पनि घुमफिर गर्ने धेरै ठाउँहरु छन । अहिले भने समाजमा घुमफिर अर्थात पर्यटन फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ । घुमफिरको संस्कृति मनोवैज्ञानिक हुन्छ । कहिले कहि यात्रामा नयाँ कुरा केही देख्यो भने पर्यटकको ध्यान त्यो ठाउमा पुग्दछ । कतिपय पर्यटकहरु घुम्ने प्याकेजमा यात्रा नगरे पनि बाटोमा देखिएको नयाँ र आकर्षक स्थलले उसलाई पुग्ने, हेर्ने र अध्यन गर्न जिज्ञासु हुन्छ । यो मानविय स्वभाव पनि हो ।
पृथ्वीराजमार्गमा यात्रा गर्दा तनहुँको आँबुखैरेनी र मस्र्याङदी जलविद्युतको पावर हाउस बिचमा मनमोहक झरना देखिन्छ । झरनाको साइडमा रहेको ऐनापहरामा बिभिन्न आकृतिका मुर्तिहरु कुदियका छन । राजमार्गसँगै रहेको ऐनापहरा झरना र ढुङ्गामा कुदियका मुर्तिले पोखरा, काठमाडौँ र चितवनतर्फ यात्रामा निस्कने पर्यटकहरुलाई आकर्षित गर्ने गरेको छ । निजी सवारीमा राजमार्गमा यात्रा गर्ने धेरैजसो पर्यटक झरना र पहरामा मुर्ति देखेपछि रोकिएकै हुन्छन । पहरामा कुदियका मुर्तिको सुन्दरता देखेर पर्यटकहरु मोहित हुने गर्दछन । कतिपय पर्यटकहरु झरनामा रमाउँदै, सेल्फी लिने, भिडिओ बनाउने र पहरामा कुदियका मुर्तिको फोटो लिन्छन । विशेष गरी बिदाको दिनमा आँबुखैरेनी र मुग्लिनका सर्वसाधारण मानिसहरु पनि झरनामा रमाउन पुग्ने गर्दछन । ऐनापहरा आजभोली ढुङ्गामा कुदियका बिभिन्न आकृतिका मुर्तिहरुले चर्चित बन्दै गएको छ । तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीयस्थल बनाउने सोचले पहरोमा बिभिन्न आकृतिमा मुर्ति बनाइएको छ । ऐना पहरामा पार्क, स्काइ साइक्लिङ, सिसाको पुल बनाउने योजना समेत रहेको छ ।
पृथ्वी राजमार्ग निर्माणको क्रममानै ऐनापहरा प्राकृतिक रुपमै गणेशको जस्तो आकृति थियो । त्यसलाई कलाकारले आफ्नो सीपले गणेशको मुर्ति बनाएका छन । ऐनापहरामै आमाले छोरालाई मायाँ दिएको चित्र कुदिएको छ । ढुङ्गामा हात्तीको मुर्ति बनाइएको छ । जुन कारणाले ऐनापहरामा पर्यटकहरु प्रकृति र कलाको सामिप्य महशुस गर्दै रमाउने गर्दछन । आँबुखैरेनी गाउँपालिकाले ऐनापहरामा ढुङ्गामा कलात्मक मुर्ति निर्माण गरी पर्यटनका लागि पूर्वाधार बनाएको छ । झट्ट हेर्दा पहरा र चट्टानी ढुङ्गाले झरना आकर्षक देखिन्छ । पछिल्लो समय सडक यात्रामा झरना रिफ्रेस स्टेशनको रुपमा विकास हुन थालेको छ ।
अर्को तर्फ झरनामा स्थानीयहरु नुहाउन, थकान मेटाउन, भिडिओ र टिकटक बनाउन समेत भीड हुने गर्दछ । ढुङ्गाहरुमा प्राचीन समय देखिनै सृजनात्मक मुर्तिहरु बनाउने मुर्तिकारहरु थिए । जुन ढुङ्गामा कुदियका मुर्तिहरु मठ मन्दिरमा रहेका छन । ढुङ्गाहरुमा कलात्मक मुर्ति बनाउने काम भने चुनौतीपूर्ण मानिन्छ । मुर्तिकारहरुले कलात्मक मुर्तिको ढुङ्गामा सिर्जना गर्दा ढुङ्गा अनुसारको मुर्तिको रचना गर्नु पर्ने हुन्छ । ढुङ्गालाई हेर्ने र त्यहाँ कुन आकृति बनाउँदा राम्रो हुन्छ स्केच बनाए पछि मुर्ति कुँदने काम हुन्छ। हिउँदमा भने पानी कम हुनाले झरना ठूलो हुँदैन । तनहुँकै अग्लो महाभारत पर्वत श्रृंखला छिम्केश्वरी क्षेत्रबाट बगेर आएको सिउदी खोला ऐनापहराको झरना हो । नेपालमा पर्यटन भनेर प्राकृतिक सौन्दर्यलाई मात्र बुझने प्रचलन छ । तर पर्यटनका लागि प्रकृतिलाई श्रृंगार दिंदा झनै आकर्षक देखिन्छ । मुर्तिकला त्रिआयामिक विधा हो । मुर्तिकलाले पर्यटनको क्षेत्रमा मूर्त अनुभूति दिने गर्दछ ।
इतिहासमा अरनिको नेपालका राष्ट्रिय विभूति हुन । पाटनमा जन्मेका अरनिकोले राजा अभय मल्लको समयमा चीनमा गएर आफ्नो वास्तुकला देखाएका थिए । अरनिको प्यागोडा शैलिको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन । चीनमा अरनिकोले प्रसिद्ध श्वेत चैत्य बनाएका छन भने थुप्रै चैत्य, श्वेतचैत्य, विहार, मुर्ति, मठमन्दिरहरु बनाएका इतिहास छ। नेपालमा मुर्तिकलाको इतिहास एतिहासिक कालखण्ड देखिनै हुदै आएको हो । मुर्तिकलाको बिकास ऐतिहासिक कालविभाजन अनुसार प्राचीन, मध्यकालीन र शाहकालीन गरी तीन भागमा वर्गीकरण भएको छ । नेपालको प्राचीनकला पनि शैलीको आधारमा प्रारम्भिक काल, लिच्छवि काल र मध्यकालीन समय रहेको छ । नेपालमा अहिले पर्यटनको क्षेत्रमा धेरै ठाउमा ढुङगा अथवा पहरामा खोपेर मुर्ति बनाउने प्रचलन बढेको छ । अर्को तर्फ ढुङगालाई कुदेर अथवा सजाएर ढुङगे पार्क समेत धेरै ठाउमा निर्माण भएका छन ।
अहिले पर्यटनको बिकासका लागि पूर्वाधार निर्माण गर्दा प्राकृतिक रुपमा भएका पर्यटकीय क्षेत्रको निर्माण गर्न मानवीय परिश्रम र खर्च हुँदैन । तर त्यसको साजसज्जा र अनय पर्यटकहरुलाई आवस्यक पर्ने पूर्वाधार भने निर्माण गर्नु पर्ने हुन्छ । आँबुखैरेनी गाउँपालिकाले अहिले ऐनापहरामा ढुङ्गाको मुर्तिमात्र होइन पर्यटकहरुलाई रमाउनको लागि पार्क समेत निर्माण गर्न लागेको छ। पर्यटनका लागि पार्क पूर्वाधारनै हो भन्दा पनि हुन्छ । कुनै नयाँ ठाउँमा घुमफिर गर्न जाने पर्यटकहरुले सबैभन्दा पहिला पार्क खोज्दछन। पर्यटन र पार्क एक अर्काका परिपुरक हुन भन्दा पनि हुन्छ । पार्कमा पर्यटकहरु पुग्दछन र रमाउछन । एकैछिन भएपनि थकान मेटछन। पार्कमा पुग्ने पर्यटकहरु फुलेका फूलहरुसंग सेल्फी फोटो खिच्दछन। कतिपय पर्यटकले पार्कमा टिकटक र भिडिओ समेत बनाउछन । पर्यटकहरुले स्वच्छ हावा लिन वा पार्कमा सजिएका पूmलसँग रमाउँछन । पर्यटकहरुलाई सुस्ताउने, थकान मेटाउने वा सामान्य रमाइलो गर्न पार्कको आवश्यकता हुन्छ । ऐनापहराको मुर्ति र झरनामा रमाउने पर्यटकहरुले आँबुखैरेनीमा पर्ने अन्य स्थानका पर्यटकियस्थलमा समेत पुग्न सक्दछन ।
आँबुखैरेनी गोरखा जिल्लाको प्रवेशद्वार पनि हो । यो बजार पृथ्वी राजमार्ग खुलेपछि क्रमश बिस्तार हुँदै गएको हो। अहिले गोरखा प्रवेश गर्ने सडक धेरै ठाउँबाट भएको छ । अर्को तर्फ आँबुखैरेनी केवुलकार निर्माण नहुँदा र सडक मार्ग मनकामनासम्म नपुग्दाको समयमा आँबुखैरेनीदेखि मस्र्याङदी नदीको झोलुङेपुल तरेर तीर्थाटनका पर्यटकहरु पैदल यात्रामा मनकामना जाने गर्दथे । ती कुरा अहिलेको नयाँ पुस्ताहरुलाई कथा बनेको छ । आँबुखैरेनी बजारमा पुगेपछि धेरै पर्यटकहरु दरौदी र मस्र्याङदी नदीको दोभानमा अर्थात रामशाह घाटमा पुग्दछन । रामशाह घाटमा गोरखाका राजा रामशाह निधन हुनु भन्दा एक हप्ता अगाडीदेखि दरौदी र मर्स्याङदीको दोभानमा बसेका थिए । यही घाटमा रामशाहले प्राण त्याग गरेका थिए भन्ने कथन पनि छ । राम शाह गोरखा राज्यका चौथो शाह वंशीय राजा हुन । रामशाह राजापुरन्दर शाहका छोरा हुन। गोरखामा राम शाहको शासन काल वि.सं. १६६३ देखि १६९० सम्म २७ वर्ष चलेको थियो । रामशाहको पालामा ढक, तराजु, माना, मुरी, दाम, पैसाको प्रचलन गराएका थिए। त्यो समयमा रामशाहको न्यायले गर्दा न्याय नपाए गोर्खा जानू भन्ने भनाइ समेत चलेको थियो ।
आँबुखैरेनी जाँदा पर्यटकहरु छिम्केश्वरी पुगेन भने पर्यटनको यात्रानै अधुरो हुन्छ । छिम्केश्वरी आँबुखैरेनी गाउँपालिकाको वडा नं. ५ मा पर्दछ। जीवनमा एकपटक पुग्नै पर्ने ठाउँ हो छिम्केश्वरी । जहाँ पुग्दा आत्मिक शान्ति र मनमा उर्जा मिल्छ । छिम्केश्वरी महाभारत पर्वतको २ हजार १५० मिटरको उचाइमा पर्दछ । प्रकृति प्रेमिका लागि त छिम्केश्वरी भुस्वर्ग झै मानिन्छ । डाँडामा उभिँदा भुइँकुहिरो माथि सर्लकक्क खुलेका हिमाल आँखैमा टाँसिएको अनुभूती हुन्छ । छिम्केश्वरीको काखमा भोटेस्वाँरा, हिलेखर्क, लाब्दी र घलेडाँडा पर्दछन। गाउँमा सामुदायिक होमस्टे सञ्चालित छन। गाउँमा बस्न खान कुनै समस्या छैन । पर्यटकहरुलाई ढुँगा र माटोले बनेका र खरले छाएका घरमा बसाइन्छ । अहिले आँबुखैरेनीदेखि छिम्केश्वरीको फेदी लाब्दीसम्म सडक कालोपत्रे भएको छ । लाब्दीदेखि करिब २५ मिनेटको पैदल यात्रामा छिम्केश्वरी मन्दिर पुग्न सकिन्छ । अहिले छिम्केश्वरी माईको मन्दिर पुनःनिर्माण भएको छ । लाब्दीदेखि छिम्केश्वरी मन्दिर पुग्नका लागि पैदलमार्ग र रेलिङ निर्माण भएपछि पर्यटकहरुलाई सुबिधा भएको छ। आँबुखैरेनी बजारदेखि छिम्केश्वरीसम्म २१ किलो मीटर दुरि पर्दछ । आजभोली आँबुखैरेनी बजारदेखि लाब्दीसम्म बस चल्दछ ।
गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजा आजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने तीर्थाटन पर्यटकहरुको विश्वास छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी डाँडामा छन भने साइली गोरखकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई छिम्केश्वरी मन्दिर परिशरबाट दृश्यावलोकन गर्न सकिन्छ । छिम्केश्वरीमा पर्यटकहरु कार्तिकदेखि माघसम्म हिमालय श्रृंखला राम्रोसँग खुल्ने भएकोले पर्यटकहरु बढछन । पर्यटकहरुले छिम्केश्वरीबाट मौसम सफा भयो भने सबैभन्दा लामो हिमश्रृंखला धौलागिरी, निलगिरी, अन्नपुर्ण, माछापुच्छ«े हिमचुली लमजुङ, मनास्लु, गणेश, लाङटाङ सहित दर्जनौं हिमालको अवलोकन गर्न सक्दछन। यस्तै काठमाडौंको थानकोट लगायत भरतपुर, नारायणगढ, गैडाकोट साथै गोरखा, आँबुखैरेनी, डुम्रेबजार, बन्दिपुर अनि मुग्लिन बजारको साथमा त्रिशुली, नारायणी, मस्र्याङदी, मादी, दरौदी अनि चेपे नदी बहेको स्थान पनि अवलोकन गर्न सकिन्छ ।
महाभारत पर्वत श्रृंखालामा पर्ने छिम्केश्वरी पहाड वरपर ग्रामीण परिवेशको सुन्दर स्वच्छ प्राकृतिक एवं सांस्कृतिक स्थल पर्दछ । छिम्केश्वरीमा यातायातको सुबिधा, खाना बस्नको लागि होमस्टे, प्राकृतिक मनोरम दृष्य मात्र होइन पर्यटनको लागि प्राकृतिक र साँस्कृतिक संगम पनि बनेको छ। छिम्केश्वरी क्षेत्रमा रामकोट, झारगाउँ, धरम्पानी, हिलेखर्क, लाब्दी, आक्लाङ भाँगे गाउँहरु पर्दछन । छिम्केश्वरीमा गुरुङ, मगर, नेवार, क्षेत्री, ब्राम्हण, दलित, अति सीमान्तकृत वर्ग चेपाङ र भुजेल जातिको बसोबास रहेको छ । पर्यटकीय गाउँ हिलेखर्कमा पनि स्थानीयवासीले केही वर्ष अगाडिदेखि होमस्टे सञ्चालन गर्दै आएका छन । गुरुङ समुदायको बाहुल्य रहेको हिलेखर्क होमस्टेमा पुग्ने पर्यटकहरुलाई कोदो तथा फापरको ढिडो, रोटी, सेल रोटी, मकैको आँटो, लोकल मासु, गुन्द्रुक, भुटेको मकै र भटमास, इच्छा हुनेले कोदोको रक्सी, मह एवं स्थानीय कफी तथा निउरो, गिठा, भ्याकुर, तरुल, सिप्लीगान लगायतलाई तरकारीको रुपमा खान पाइन्छ ।
छिम्केश्वरीदेखि फर्कदा पृथ्वी राजमार्गको किनारमा पर्ने मस्र्याङदी जलविद्युत केन्द्रको जलाशयमा आँबुखैरेनी गाउँपालिकाले मोटरबोट सञ्चालनमा ल्याएको छ । मुग्लिनबाट पोखरातर्फ १४ किलोमिटर र आँबुखैरेनी चोकबाट तीन किलोमिटर दूरीमा जलाशय पर्दछ। पर्यटकहरुका लागि जलाशय किनारमा रेस्टुरेन्ट, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितका पर्यटनका लागि पूर्वाधार बनेका छन। जलाशयमा मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक फरक शुल्क तोकिएको छ। गर्मीको समयमा यात्राको क्रममा जलाशयको मोटरबोटको रमणीय यात्रामा पर्यटकहरु रमाउने गर्दछन। कोही मोटरबोटबाट नै सेल्फी लिन्छन, कोही भिडिओ बनाउछन । मोटरबोटको रमणिय सयर सबै पर्यटकहरुका लागि छुट्टै अनुभूती हुन्छ । मस्र्याङदी जलविद्युतको जलाशयमा प्राय कन्चन पानी हुने हुँदा पर्यटकहरुलाई फरक खालको अनुभव हुन्छ ।
आँबुखैरेनी पछि तपाईसंग घुमफिर गर्नको लागि समय छ भने तनहुँमा अन्य ठाउँमा पनि पुग्न सक्नुहुन्छ । गण्डकी प्रदेश सरकारले तनहुँ जिल्लामा आँधिमूल सहित बन्दीपुर, देवघाटधाम, ढोरबाराही, छाब्दी बराही, व्यास गुफा, घाँसीकुवा, तनहुँसुर कालिका तथा दरवार क्षेत्र, भानुभक्तको जन्मस्थान चुँदी रम्घा, छिम्केश्वरी मन्दिर, बूढी देवता मन्दिर र मिर्लुङकोटलाई समेत पर्यटकीय गन्तव्य घोषणा गरेको छ । यी सबै ठाउमा सडक मार्ग पुगेको छ । आफ्नो सवारी साधन हुने पर्यटकहरुका लागि घुमफिर छिटो र अर्कै आनन्द हुन्छ। तनहुँ जिल्लाको मध्यभाग भएर पृथ्वी राजमार्गको निर्माण भएको छ । मुग्लिन–पोखरा ९० किमी पर्दछ भने मुग्लिनदेखि चोरकाटे अर्थात तनहुँ जिल्लाको सिमासम्म ७२ कि.मि. पर्दछ । आफ्नो साधन हुने पर्यटकहरुले यात्रामा धेरै ठाउँमा पुग्न सक्दछन ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker