मिनी ग्रेटवालको प्रचारप्रसारका लागि थानीमाई मन्दिरमा कार्यपालिका बैठक, बाढीपहिरो पीडितलाई राहत दिइने

भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिकाले निर्माणाधिन मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवल)को प्रचारप्रसारका लागि वडा नं. २ को थानीमाई मन्दिर परिसरमा शुक्रबार ८९औं कार्यपालिका बैठक सम्पन्न गरेको छ ।

उक्त बैठकले गत असारमा आएको बाढीपहिरोबाट पीडित परिवारलाई राहत प्रदान गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले बाढीपहिरोबाट मृत्यु हुने परिवारलाई प्रति मृतक ३० हजार रुपैयाँ, पूर्ण घर क्षति हुनेलाई ३० हजार रुपैयाँ र आंशिक घर क्षति हुनेलाई १० हजार रुपैयाँका दरले राहत वितरण गरिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी गराए ।

बाढीपहिरोबाट वडा नं. २ तामुङका दुइ जनाको मृत्यु भएको र भौतिक पूर्वाधारहरुमा पनि ठूलो क्षति पुगेको छ । बैठकले विपद व्यवस्थापन अर्न्तर्गत पूर्वतयारीका लागि २५० थान जाली खरिद गर्नुका साथै थानीमाई मन्दिरमा जीर्णोद्वार गर्ने निर्णय समेत गरेको सुवेदीले बताए ।

पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकी नगरी बन्दिपुरमा निर्माणाधिन मणिमुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल)को प्रचार प्रसार पनि गर्ने उद्देश्यले कार्यपालिका बैठक थानीमाई मन्दिर परिसरमा गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

‘चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण भइरहेको मिनी ग्रेटवालको प्रचारप्रसार गर्ने गरी थानीमाई मन्दिर परिसरमा ८९औं कार्यपालिका बैठक बसिएको हो’, अध्यक्ष थापाले भने, ‘मुख्य त गत असार महिनामा अविरल झरीसंगै आएको बाढीपहिरोले पुर्‍याएको क्षति, पीडित परिवारलाई राहत उपलब्ध गराउने तथा विपद् पूर्वतयारीका विषयसंगै यस ठाउँको प्रचारप्रसार गर्दै बढीभन्दा पर्यटक भित्र्याउन के कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल निर्णयहरु गरिएको थियो ।’

गाउँपालिकालाई पर्यटकीय हवका रुपमा विकास गर्न चालु आर्थिक वर्षो बजेटमा मिनी ग्रेटवाललाई करिब १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बन्दिपुर बजारको शिरको रुपमा रहेको वडा नं. २ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडासम्म पुर्‍याउने गरी काम भइरहेको अध्यक्ष थापाले बताए ।

‘गत वर्षदेखि निर्माण शुरु गरिएको मिनी ग्रेटवाल निर्माण नसकिदै पर्यटकको रोजाईमा पर्न थालेको छ’, अध्यक्ष थापाले भने, ‘बन्दिपुर घुम्न आएका सबैजसोले उक्त ठाउँको बारेमा चासो लिने गरेका र पर्यटकलाई आकर्षित गर्न तथा बर्साई लम्ब्याउनका लागि नयाँ नयाँ पूर्वाधार थप गर्ने उद्देश्य बमोजिम मिनी ग्रेटवाल निर्माण कार्य अगाडि बढाएका हौं ।’

गाउँपालिकाले अगाडि बढाएको मिनी ग्रेटवाल निर्माण कार्यका लागि संघीय सरकारले पनि यो वर्षबजेट उपलब्ध गराएको अध्यक्ष थापाले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि कामलाई अगाडि बढाउन सहज भएको उनले बताए ।

तत्कालिन राजा मुकुन्द सेनले शासन गरेको मुकुन्देश्वरी डाँडासम्म जोड्ने पदमार्ग पर्खाललाई मुकुन्देश्वरी पर्खालको नामाकरण गरी काम अगाडि बढाइएको छ ।

गत वर्षएक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न गरिएको छ । चालु आर्थिक वर्षा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको र गाउँपालिकाले मिनी ग्रेटवालको थप काम गर्नका लागि पाँच करोडको टेण्डर गरिसकेको गाउँपालिकाले जनाएको छ ।

करिब साढे दुइ किलोमिटर दुरी मिनी ग्रेटवालसंगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिकाले अगाडि ल्याएको छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि १९ करोड लागत इष्टमेट गरिएको छ । थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, ९ मिटर अग्लो बन्दिपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्क लगायतका संरचना निर्माण गर्ने योजना गाउँपालिकाले बनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker