कोरोना कहरका बीच नयाँ शैक्षिक सत्र : शिक्षक भन्छन- पहिला खोप अनि पठनपाठन !
नारायण खड्का/तनहुँ
कोरोना कहरको चपेटामा शैक्षिक क्षेत्र पनि परेका छन् । गत वर्षदेखि शिक्षण संघसंस्थाले नियमित पठनपाठन सञ्चालन गर्न नसक्दा विद्यार्थीको सिकाइ प्रक्रिया अवरुद्ध हुँदै आएको छ । पहिलो लहरको कोरोना कहर रोकथाम तथा न्यूनिकरणका लागि भन्दै सरकारले लामो समय लकडाउन गर्दा शिक्षण संस्थाहरु प्रभावित हुन पुगे । नयाँ भेरियन्ट सहितको दोश्रो लहरको कोरोना कहरका कारण अहिले पनि शिक्षण संस्थाहरुले नियमत पठनपाठन मात्र होइन शैक्षिकसत्रको अन्तिम परीक्षा समेत लिन सकेनन् ।
स्वास्थ्य विज्ञहरुले कोभिडको तेश्रो लहरको जोखिम रहेको भन्दै सचेत गराउँदै आएका छन् । यता सरकारले यही असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने तयारी पनि गरेको छ । कोरोनाभाइरस महामारीले लगभग पूरै प्रभावित भएको शैक्षिक सत्र सिध्याएर अब असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारी भएपनि तनहुँका शैक्षिक संस्थाहरु कसरी अगाडि बढ्ने भन्ने दोधारमा परेको भानु नगरपालिका-२ नारेश्वरटार स्थित होमराज लोहनी राष्ट्रिय शिक्षा सदन माध्यमिक विद्यालयका प्रधानाध्यापक होम नारायण श्रेष्ठ बताउँछन् ।
‘कोरोना भाइरस संक्रमण जोखिम पनि नघटेको र कोरोना विरुद्धको खोप पनि शिक्षक, विद्यार्थी तथा अभिभावकको पहुँचमा नभएकाले आगामि दिनमा कसरी पठनपाठन गर्ने भन्ने समस्या आइलागेको छ’, प्रधानाध्यापक श्रेष्ठले भने, ‘मुलुकका तीनै तहका सरकार तथा सरोकारवाला निकायले यस्तो विषम् परिस्थितिलाई ख्याल गरी पठनपाठन कसरी गर्ने भन्ने विषयमा प्रष्ट नीति बनाउनुपर्छ ।’
‘निषेधाज्ञाकाका कारण अहिले शिक्षक विद्यार्थीहरु घरमै थुनिएर बस्नु परेको छ । शिक्षकलाई विद्यालय बोलाएर काम लगाउन पनि केही काम छैन । घरदैलो गरी विद्यार्थीको सिकाई निरन्तरता दिन पनि सक्ने अवस्था छैन’, उनले भने, ‘यस्ता जटिल अवस्थामा अहिले शिक्षकहरु गुज्रनु परेको छ । महिना मरेपछि तलब त आउँछ तर, कामै नगरिकन त्यो तलब बुझ्दा बसीबसी तलब बुझेर खाएको जस्तो आफैलाई अप्ठ्यारो लाग्न थालिसकेको छ ।’
लामो समय भौतिक उपस्थितिमा पठनपाठन रोकिएका कारण यो वर्ष पाठ्यक्रम केही संकुचित पारिनुका साथै शैक्षिक सत्र दुइ महिना लम्ब्याइएको थियो । विद्यार्थीको वाषिर्क परीक्षा सञ्चालन हुन नसक्दा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा तनहुँका सामुदायिक तथा संस्थागत विद्यालय जुटेका छन् ।
ग्रामीण क्षेत्रका सबै विद्यालयहरुले आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्ने तयारी गरेका छन् । शहर बजार क्षेत्रमा इन्टरनेट सुविधा भएका केही विद्यालयहरुले विद्यार्थीहरुको अनलाइन प्रविधिबाट परीक्षा लिएको व्यास-२ दमौली स्थित सत्यवती माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल बताउँछन् ।
‘अनलाइन प्रविधिमा पनि सबै विद्यार्थीको सहज पहुँच र प्रभावकारी हुन सकेन’, प्रधानाध्यापक पौडेलले भने, ‘सत्यवती माध्यमिक विद्यालयले यो विषम् परिस्थितिमा अनलाइन कक्षा सुरु गरिएको र अनलाइन प्रविधिबाट लिइएको परीक्षामा ९५ प्रतिशत विद्यार्थी सहभागि भएका र ५ प्रतिशत विद्यार्थीलाई फोन मार्फत परीक्षा लिएर नतिजा सार्वजनिक गर्ने तयारी गरेका छौं ।’
एकैनासका विद्यालय नभएका अनि देशैभरि भाइरस संक्रमण पनि एकैनासको नभएका कारण विद्यालयहरुमा परेको प्रभाव भिन्नभिन्न छन् । बजार क्षेत्रमा इन्टरनेटको पहुँच भएका अधिकांश विद्यालयले वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गरे । कतिपय विद्यालयले टोलटोलमा शिक्षक पठाएर सिकाइलाई निरन्तरता दिने प्रयास पनि गरेका थिए । तर, ग्रामीण क्षेत्रका विद्यालयहरुले भने यी कुनै पनि विकल्पलाई अवलम्बन गर्न नसकेको ऋषिङ गाउँपालिका-१ कोइदिम स्थित अम्मर माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्मसिंह थापा बताउँछन् ।
‘ग्रामीण क्षेत्रमा इन्टरनेटको सुविधा नभएको, विद्यालय बन्द भएपछि विद्यार्थीहरुलाई टोलटोलमा जुटाउन पनि नसकिने अवस्था हुन्छ’, प्रधानाध्यापक थापाले भने, ‘सरकारले शिक्षक तथा विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराइ ढुक्क हुने वातावरण बनाएपछि मात्र नयाँ शैक्षिक सत्रको पठनपाठन शुरु गर्न उपयुक्त हुन्छ ।’
शिक्षकहरुले यो विषम् परिस्थितिमा विद्यार्थीको सिकाइलाई निरन्तरता दिन वैकल्पिक माध्यमबाट पठनपाठन गर्न आवश्यक पर्ने मोबाइल, सिम, इन्टरनेटको डाटा प्याक जस्ता प्रविधिको व्यवस्थापन गरिदिनुपर्ने ग्रामीण क्षेत्रका शिक्षकहरु बताउँछन् ।
वैकल्पिक पठनपाठनमा पनि निजी तथा सामुदायिक विद्यालयहरूबीच भिन्नता देखियो । गत वर्षजस्तै यो वर्ष पनि एसइइ परीक्षा आन्तरिक मूल्याङ्कनको आधारमा गरिदै छ । यस्तै, विद्यालय तहको अन्तिम परीक्षा फल पनि आन्तरिक मूल्याङ्कनबाटै प्रकाशितको अन्तिम तयारी गरिएको छ । यसरी परीक्षाको परिणाम सार्वजनिक गर्दा विद्यालय पिच्छे नतिजा पक्कै पनि फरक नै आउने छ । शैक्षिक सत्र त जसोतसो सकिए पनि मुख्य चुनौती त्यस अवधिमा आम विद्यार्थीहरूलाई कत्तिको गुणस्तरीय सिकाइ उपलब्ध भयो भन्ने मुख्य प्रश्न अगाडि खडा भएको छ ।
ज्ञान बाँढ्ने हिसाबमा त वैकल्पिक माध्यमबाट पनि सकियो होला तर सीप बाँड्ने अनि प्रयोगात्मक विधिहरू भने विद्यार्थीले सिक्न पाएको देखिदैन । न्यूनतम् सिकाइ हुनसक्यो कि सकेन भनेर विद्यालय तथा शिक्षकहरूले हेर्नुपर्ने देखिन्छ । दोश्रो लहरको कोरोना संक्रमण जोखिमबाट हामी जुधिरहेका छौं । स्वास्थ्यविज्ञहरुले तेश्रो लहरको कोरोनाबाट बालबालिका बढि प्रभावित हुने आशंका गरिएका छन् । यस्तो अवस्थामा नयाँ शैक्षिक सत्र सुरु गर्दा बालबालिका तथा शिक्षक, अभिभावक कति सुरक्षित होलान ? यस तर्फ सम्बन्धित निकायले ध्यान पुर्याउनु पर्ने देखिन्छ ।










