नविन, ज्योति र शंकरले दर्शक नचाए, आज पशुपति, किरण र मन्जु आउने
भञ्ज्याङ न्यूज

तनहुँको दमौलीमा सञ्चालित पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवको सातौं दिन बिहीबार चर्चित गायक गायिकाको प्रस्तुति रहेको थियो ।
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा सुरु भएको महोत्सवको सातौं दिन चर्चित गायक नविन पौडेल, गायिका ज्योति लोहनी र गायक शंकर पन्तले दर्शक नचाएका थिए ।
यस्तै महोत्सवको आठौं दिन शुक्रबार गायक पशुपति शर्मा, गायक किरण भुजेल, गायिका मन्जु विक लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरू प्रस्तुति रहने महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।
‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगर्ेना गर्दै पर्यटनको विकास गरौं भन्ने मूल नाराका साथ आयोजित महोत्सवको सातौं दिन ८ हजार दर्शकले महोत्सव अवलोकन र ५ लाखको कारोबार भएको प्रवक्ता मगरले जानकारी दिए ।

यस्तै महोत्सवमा बिहीबार अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता समेत भएको थियो। पहिलो दिन ९ समुहको प्रस्तुति रहेको थियो । शुक्रबार पनि उक्त प्रतियोगिता हुने आयोजकले जनाएको छ । जसका लागि २० वटा समुह दर्ता भएका छन् ।
गत शुक्रबारदेखि व्यास-३ दमौली स्थित विपी वनवाटिकाको खेल मैदानमा सुरु भएको महोत्सव आगामी माघ ३ गतेसम्म संचालन हुनेछ । महोत्सवमा २ सय ३० वटा स्टल निर्माण गरिएको छ । महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्नुका साथै रु. एक करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको अध्यक्ष सुजित हिराचनले बताए । महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष हिराचन बताए ।
महोत्सवमा दर्शकलाई मनोरञ्जन दिनको लागि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु ल्याइएको महोत्सवकी निर्देशक बसुन्धरा घर्तीले बताइन् । महोत्सवको कृषि प्रदर्शनीमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।
स्टलमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटि इलेक्टिकल्स, बैक तथा वित्तिय संस्था, आइसक्रीम स्टल, अटोमोवाइल्स स्थानीय उत्पादन प्रदर्शन तथा विक्रि स्थल लगायतका स्टलहरु रहेको र्घर्तीले बताइन ।










