म्याग्देका जनता परिवर्तन चाहन्छन् : अध्यक्षका उम्मेदवार श्रेष्ठ
भञ्ज्याङ न्यूज

स्थानीय निर्वाचनको मिति नजिकिएसंग नेकपा (एमाले) म्याग्दे गाउँ कमिटीले पनि चुनावी अभियानलाई तीब्रता दिएको छ । निर्वाचन आयोगमा दल र उम्मेदवारी दर्ता भएसंगै म्याग्दे गाँउपालिकामा चुनावी अभियानलाई तीब्रता दिईएको नेकपा एमाले म्याग्दे गाउँ कमिटीका अध्यक्ष वसन थापाले बताए ।
चुनावी अभियानको शुभारम्भ गर्दै नेकपा एमाले तनहुँका अध्यक्ष एवं नेकपा एमालबाट म्याग्दे गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले म्याग्देका जनताले परिवर्तन चाहेको बताए । उनले भने, ‘अबको नेतृत्व नयाँ युवा पुस्तामा आउनुपर्दछ, यसले मात्र समाजमा सकारात्मक प्रभाव र परिवर्तन सम्भव छ ।’
‘गएको स्थानीय निर्वाचनमा जितेर जानुभएका साथीहरुले गाउँपालिकामा केही उल्लेखनिय काम गर्न सक्नुभएन । अब नेकपा एमालेको नेतृत्वमा हामी अगुवाई गर्दछौ’, उनले भने, ‘यसका लागी हाम्रो अभियान तीब्रताका साथ अगाडी बढाएका छौ ।’
‘नेकपा एमाले बाहेक अन्य राजनैतिक दलले परिवर्तन र विकास गर्न सक्दैन, जुन अहिलेको कार्यकालमा पनि देखियो’, अध्यक्षका उम्मेदवार श्रेष्ठले भने, ‘नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीले जनताको आधारभुत आवश्यकता समेत पुरा गर्न सकेन । त्यसैले अबको परिवर्तनको नेतृत्व एमालेले गर्दछ ।’

कार्यक्रममा नेकपा एमालेका तर्फाट उपाध्यक्षका उम्मेदवार रत्नादेवी घिमिरेले शुसासन र सम्वृद्धि नै एमालेको मुल मर्म भएको बताइन । ‘गाउँपालिकाको प्रतिपक्षमा बसेर पनि हामीले जनताको धेरै माग उठान गर्यौ, त्यो पुरा भएन । अव आफनै नेतृत्वको सरकारले मात्र जनचाहनाको विषय पुरा गर्ने भएको हुँदा नेकपा एमालेका उम्मेदवारलाई जिताउनु पर्छ ।’
गएको स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसको तर्फाट प्रमुखमा विजयी माया राना र उपप्रमुखमा विजयी वालकृष्ण घिमिरे पुनः गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेदवार रहेका छन् । नेकपा एमालेबाट हाल उम्मेदवार बनेका श्रीप्रसाद श्रेष्ठ र रत्नादेवी घिमिरे यसअघि पनि चुनावी प्रतिष्पर्धी थिए ।










