भानुको जंगलमा रखिएका ट्यापिङ क्यामराले चितुवाका २५ वटा तस्विर खिच्यो, संख्या एकिन गर्न अध्ययन हुँदै
भानुका सामुदायिक वनमा चितुवाको मुख्य आहारा प्रजाति हरिण र बँदेल भेटिएन
- नारायण खड्का (दमौली)
तनहुँको भानु नगरपालिकामा चितुवा र चितुवाका आहारा प्रजातिको अवस्था अध्ययन गर्न जडान गरिएका क्यामराले करिब २५ वटा चितुवाको तस्विर खिचेको छ । नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ का ४ हजार २ सय हेक्टर क्षेत्रफलमा फैलिएका २२ वटा सामुदायिक वनका विभिन्न ठाउँमा ६५ वटा ट्यापिङ क्यामरा जडान गरिएको थियो ।
डिभिजन वन कार्यालय तनहुँ, स्थानीय सामुदायिक वन, भानु नगरपालिकाको समन्वय र डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालसहित पाँच जनाको प्राविधिक टोलीले जंगलमा करिब २० दिनसम्म क्यामरा जडान गरी गरेको अध्ययनमा चितुवा लगायत अन्य वन्यजन्तुको तस्विर संकलन गरेको छ ।
चितुवा र चितुवा आहारा प्रजातिको अवस्था बुझ्नका लागि भानुका सामुदायिक वनमा कात्तिक २२ गतेदेखि क्यामरा जडान गरेर चितुवा र अन्य वन्यजन्तुका तस्विर संकलन गरिएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले बताए ।
‘सामुदायिक वनमा क्यामरा जडान गरी तस्विर संकलन गर्ने काम सकिएको छ’, प्रमुख बरालले भने, ‘संकलित तस्विरहरुको अध्ययन भइरहेको छ, हामीले जडान गरेको क्यामरामा चितुवाका २५ वटा तस्विर भेटिएको छ । ती चितुवाको संख्या एकिन गर्न शरिरको बनावोट, बुट्टाहरु हेर्नुपर्ने हुन्छ र संख्या एकिन गर्न सफ्टवेयरको समेत प्रयोग गरिन्छ।’

‘संकलित तस्विरलाई हर्ेदा करिब १३/१४ वटा चितुवाको संख्या यी सामुदायिक वन क्षेत्रमा रहेको हाम्रो अनुमान छ’, प्रमुख बरालले भने, ‘यति थोरै वन क्षेत्रमा हामीले अपेक्षा गरे भन्दा धेरै संख्यामा चितुवाको तस्विर संकलन भयो, संकलित तस्विरहरुको गहिरो अध्ययन गरी केही दिनमा चितुवाको यकिन तथ्याङ्क र्सार्वजनिक गर्र्छौ।’
त्यस्तै, भानुका सामुदायिक वन क्षेत्रमा चितुवाको मुख्य आहारा प्रजातिका रुपमा लिइने हरिण र बँदेलको तस्विर क्यामरामा कैद नभएको बरालले बताए । उनले भने, ‘क्यामरामा हरिण र बँदेलको तस्विर देखिएन तर, चरीबाग, वन बिरालो, निर बिरालो, बाँदर, खरायो, दुम्सीको तस्विर भने प्रसस्तै भेटिएको छ ।’
मावन र वन्यजन्तुबिच द्वन्द्व बढ्दै गएपछि यसको न्युनिकरणको लागि भानुको चितुवा प्रभावित क्षेत्रमा चितुवा र चितुवाको आहारा प्रजातिको अवस्था अध्ययन अगाडि बढाइएको हो । जंगलको १ किलोमिटरको दुरीमा ३६ वटा ग्रिडहरु बनाइएको थियो । प्रत्येक ग्रिडमा एक जोडि क्यामरा राखेर अवस्था नि ग्रा नी गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
जंगलमा चितुवा बढी र आहारा कम भएका कारण चितुवाले मानव बस्तिमा पसेर मानवमाथि आक्रमण गरेको हो कि भनि अध्ययन गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए। उनले भने, ‘यसलाई आधिकारिक्ता दिनको लागि चितुवाको संख्या के कति छ र यसलाई आवश्यक आहारा प्रजाति जंगलमै उपलब्ध छन्/छैनन् भन्ने कुरा गणना गर्न क्यामरा जडान गरी अध्ययन गरेका हौं ।’
‘अध्ययनका क्रममा चितुवाको संख्या बढि र आहारा प्रजातिका वन्यजन्तु कम देखिएको छ । मानिसकै कारण चितुवा तथा अन्य प्रजातिको आहार, बासस्थान खलबलिएको छ । घाँसे मैदान, जंगलमा पानीको अभाव देखिएको छ । भएक पानीका स्रोतहरुको संरक्षण नहुनु तथा मानिसले पाइपको प्रयोग गरी घरघरमा ल्याइदिंदा पनि समस्या देखिएको छ’, प्रमुख काफ्लेले भने, ‘कार्यालयले चालु आर्थिक वर्षै कार्यक्रममा वन्यजन्तुलाई वनमै भुलाउने खालका कार्यक्रम जस्तै घाँसेमैदान, पानीको स्रोत संरक्षण, घुवाँको मर्मत सुधार, चितुवाको आहारा प्रजातिको संरक्षण तथा प्रवर्द्धन लगायतका कार्यक्रम प्राथमिकतामा राखेका छौं ।’

त्यस्तै, प्रमुख काफ्लेले जंगलमा सामान्य भन्दा बढि नै चितुवाको संख्या देखिएकाले साँझ बिहानको समयमा सावधनी तथा सचेत रहन चितुवा प्रभावित क्षेत्रका बासिन्दालाई अनुरोध गरेका छन्।
अध्ययनबाट चितुवाको संख्या धेरै देखियो भने यहाँका वनका क्षमता अनुसार चितुवा राखी अन्य चितुवालाई अन्यत्र स्थान्तरण गरिने छ । त्यस्तै, वनमा रहेका आहारा प्रजातिको पनि अध्ययन गरेर चितुवाको बासस्थान तथा आहार व्यवस्थापनका कार्यक्रम अगाडि बढाउने जिल्ला डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
यस्तै, यस अवधिमा चितुवाको ताजा दिशा संकलन गरी चितुवाले खाएको आहारमा कति प्रतिशत वन्यजन्तु र कति प्रतिशत अन्य जनावर रहेको पनि अध्ययन गरिने बताइएको छ । साथै चितुवाको डिएनए परीक्षण गरी पहिले आक्रमण गर्ने चितुवा र अहिले भानुका वनमा भएका चितुवाको नातासम्बन्ध पनि पहिचान गरिने तयारी भएको छ ।
चितुवाको आक्रमणबाट त्रसित भएको यस क्षेत्रमा क्यामरा जडान पछिको अध्ययनले पछिल्ला दिनमा मानव वन्यजन्तु द्वन्द्व कम हुनेमा भानु-१ स्थित भिमथुम्की सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेम थापाले विश्वास व्यक्त गरे । उनले भने, ‘आजसम्म यहाँका वन क्षेत्रमा कति संख्यामा चितुवा छन् भन्ने यकिन हुन नसक्दा उनिहरुको आहारा व्यवस्थापनमा पनि समस्य आइरहेको छ । यस गणनाले चितुवाको संख्या यकिन गरी जंगलमै चितुवाको आहारा व्यस्थापनमा सहयोग पुर्याउने छ भन्नेमा आशावादी छौं ।’

पछिल्लो २ वर्षा भानुमा मात्रै ६ बालबालिका, आँबुखैरेनी गाउँपालिकामा, बन्दीपुर गाउँपालिकामा एक/एक र शुक्लागण्डकी नगरपालिकामा २ गरी १० जना बालबालिकाको चितुवा आक्रमणबाट ज्यान गएको छ । यस्तै, करिव ५ वर्षको अवधिमा १६७ घरपालुवा जनावारलाई चितुवाले आक्रमण गरेको कार्यालयले जनाएको छ । यो समयमा चितुवालाई पासो थाप्न बनाइएको खोरमा ६ भाले र ४ पोथी चितुवा जिवितै समातिएको र ११ चितुवा मृत अवस्थामा भेटिएका थिए ।










