शुक्लागण्डकीका व्यवसायी भन्छन् : नाम मात्रैको निषेधाज्ञा, नमान्ने स्थितिमा पुगिसक्यौ

राजकुमार आले

तनहुँमा गत बैशाख २२ गतेदेखि जारी निषेधाज्ञालाई आगामी भाद्र ७ गतेसम्म निरन्तरता दिइएको छ । यस अवधिमा विभिन्न मोडालिटीमा निषेधाज्ञा गरियो । तर, केही महिना यताको निषेधाज्ञा प्रभावकारी देखिदैन । हाल जारी निषेधाज्ञालाई नाम मात्रको निषेधाज्ञा भन्न थालिएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले मंगलबारबाट जिल्लामा फरक मोडालिटीमा निषेधाज्ञा लागु गरिएको छ ।

फलफूल, तरकारी तथा खाधान्नको पसल विहान ५ बजेदेखि १० बजेसम्म र अन्य व्यवसाय विहान ११ देखि साँझ ६ बजेसम्म खोल्न आदेश दिइएको छ । तर, यो आदेशलाई व्यवसायीहरुले पालना गरेको देखिदैन । मंगलबार पनि तोकिए बमोजिम पसलहरु संचालन भएनन् । सबै खाले पसलहरु साँझसम्मै खुले ।

शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठले सरकारले जारी गरेको निषेधाज्ञा नाम मात्रैको भएको चर्चा गरे । उनले अहिलको परिस्थितिमा सरकारले गरेको निषेधाज्ञा पालना नगर्ने बताए। उनले भने यो नाम मात्रैको निषेधाज्ञाको केही अर्थ नै छैन् । गाडी चलेको छ, मापदण्ड पालना भए नभएको अनुगमन र निगरानी केही छैन, पसल खुलेछ, बन्द भनेछ, कसैको निगरानी छैन ।

अहिलेको स्थितिमा भन्ने हो भने हामीले निषेधाज्ञा नमान्ने स्थितिमा पुगिसक्यौ । जसले गाडी चलाएको छैन्, त्यस गाडीको चालक र सह चालकलाई सुइ (खोप) दिने, जो शिक्षक छ, एउटा विद्यालय खुलेको छैन्, घरमा बसेर अनलाईन कक्षा लिनु भएको छ, उहाँलाई पनि सुइ दिइयो, हामी चाँहि प्रत्येक दिन पसल खोलेर जनताहरुको सेवा गर्ने व्यवसायी हामीलाई सुइ छैन् । हामीले सरकारलाई कर तिरेको र जनतालाई सेवा गरेको अर्थ के छ त –

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका सभापति बसन्त ज्वारचनले भने सरकारको नियम पालना गर्ने बताए । उनले संघमा आवद्ध व्यवसायीहरु नियम पालना गर्न तयार भएपनि पसल खोल्ने समयमा भने परिमार्जन हुनुपर्ने माग गरे । उनले भने हाम्रो दुलेगौंडा खैरेनी बजारको ग्राहक गाउँबस्ती हुन्, स्याङ्जादेखिको मान्छे विहानै बजारमा सामान लिन आउन सम्भव नै छैन ।

फलफूल र खाद्यान्न पसललाई कम्तिमा दिउँसो २ बजेसम्म खोल्न समय दिनुपर्छ भन्ने हाम्रो माग हो । उनले पछिल्लो पटक परिवर्तन भएको निषेधाज्ञाको बारेमा आफुहरुलाई कुनै जानकारी नभएको बताए ।

शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखा प्रमुख अजय कुमार श्रीवास्तवले बजारमा लापारबाही बढेको बताए । जसको कारण कोरोनाको संक्रमण बढेको श्रविास्तवको भनाई छ । व्यापार व्यवसायतिर मात्र ध्यान गयो, मेरो व्यापार भइदियो हुन्थ्यो, मान्छेको भिड लागिदिए हुन्थ्यो भन्ने व्यापारीहरुको मनस्थिति देखियो, उहाँहरुले इमान्दार पूर्वक निषेधाज्ञाको पालना गरिदिनुपर्ने हो, उनले भने तर प्रहरी आए बन्द गर्ने नत्र पसल खोलेर बस्ने, यो असल र इमान्दार नागरिकको कर्तव्य त होइन नी ।

उनका अनुसार निषेधाज्ञाको पालना नहुदाँ संक्रमणदर काबु भन्दा गइरहेको छ । उनले प्रत्येक पटकको पिसिआरमा ५०/६० प्रतिशतमा संक्रमण देखिने गरेको जानकारी दिए ।उनले बजारमा हुने भिडभाड बाहेक अन्य भिडभाडयुक्त कार्यक्रमले पनि संक्रमणको जोखिमसंगै संक्रमित संख्या बढाएको बताए ।

यता, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनालले सरकारले लागु गरेको निषेधाज्ञा व्यवहारिक नदेखिएको भन्दै नागरिकहरुबाट गुनासो आउने गरेको बताए। उनले भने सरकारले यो के गरेको हो, दिनभरि भिडभाड हुँदा कोरोना नआउने साँझ परेपछि कोरोना आउने हो र, भनेर आम नागरिक र व्यापारीहरुको गुनासो छ । सरकारले निषेधाज्ञा लागु गरेको छ तर भिभाड पनि बढिरहेको छ, या कस्तो खालको निषेधाज्ञा हो नागरिकले बुझन नसकेको उनको भनाई छ ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने निषेधाज्ञा उलंघन गर्नेलाई कारबाही गरिने बताए । उनले सरोकारवाहरुको छलफलबाट विहान र दिउँसो गरी दुइ चरणमा व्यापार व्यवसाय गर्ने समय निर्धारण गरिएको बताउँदै उक्त नियम पालना गर्न व्यवसायीहरुलाई आग्रह गरे ।

उनले भने ‘समितिले गरेको निर्णय भन्दा बाहिर गएर नियमको उल्लंघन गर्नेलाई कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी बनेको अध्यादेश अनुसार कडा भन्दा कडा कारबाही हुन्छ । उनले व्यवसाय गर्दा वा सामान खरिद गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन आग्रह समेत गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker