रोटरीको “वाक फर हेल्थ” : दमौलीदेखि मानुङकोटसम्म पैदलयात्रा
भञ्ज्याङ समाचारदाता/दमौली

रोटरी क्लब अफ दमौलीले ‘वाक फर हेल्थ’ कार्यक्रम गरेको छ । क्लवले स्वास्थ्य सचेतना जगाउने उद्देश्यका साथ शनिवार दमौलीदेखि मानुङकोटसम्मको करिब ६ किलोमिटर पदैलयात्रा गरेको हो ।
रोटरी इन्टरनेशलले डिसेम्बरलाई रोग रोकथाम र उपचार महिनाको रुपमा लिएको हुँदा स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष रमेश श्रेष्ठले बताए । ‘स्वस्थ जीवनशैलीका लागि दैनिक कम्तीमा ३० मिनेटको पैदलयात्रा अति आवश्यक छ भन्ने सन्देश दिन पनि पैदलयात्रा गरिएको हो’, उनले भने, ‘रोटरीयनहरुमा दैनिक हिड्ने बानीको बिकास गराएर रोग लाग्नबाट बचोस भन्ने दीर्घकालीन उद्देश्य रहेको छ ।’
सोही अवसरमा रोटरी दमौलीले मानुङकोटमा सरसफाइ तथा फोहोर व्यवस्थापनमा सहयोग पुग्ने विभिन्न सूचना तथा सन्देशमूलक प्ले-कार्डहरु पनि टाँसेको छ । मानुङकोट पछिल्लो समय सुन्दर पर्यटकीय गन्तव्यको रुपमा बिकास भइरहँदा त्यहाँको वातावरण प्रदुषित बन्दै गएकाले सचेतना मुलक सन्देश दिन ‘आफ्नो फोहोर आफैं व्यवस्थापन गरौं’, ‘तिम्रो र मेरा लागि सुन्दर ठाउँ बनाऔँ’ लगायतका सन्देश लेखिएका कार्डहरु राखिएको अध्यक्ष श्रेष्ठले बताए ।
व्यास नगरपालिकाका प्रमुख एवं रोटरी दमौलीका पूर्व अध्यक्ष बैकुण्ठ न्यौपानेले पछिल्लो समय जीवनशैलीमा आएको परिवर्तनले धेरै प्रकारका रोग बढ्दै गएको सर्न्दर्भ जोड्दै दैनिक हिँड्दा मानसिक र शारीरिक दुबै रूपमा स्वस्थ हुन मद्दत पुग्ने बताए ।
त्यस्तै संविधान सभा सदस्य एवं रोटरी दमौलीका संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेलले स्वास्थ्य सचेतनासँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग गरेको भन्दै कार्यक्रमप्रति आभार व्यक्त गर्दै स्वस्थ जीवनशैली अवलम्बन गर्न उनले आग्रह गरे ।
रोग रोकथाम र उपचार रोटरीको सात प्राथमिकता क्षेत्र मध्ये एक हो । सोही कुरालाई मध्यनजर गर्दै रोटरी क्लब अफ दमौलीले हरेक वर्ष स्वास्थ्य शिविरदेखि स्वास्थ्य सचेतनाका विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।










