भानुमा शिक्षा सुधारका कार्यक्रम प्रभावकारी बन्दै : प्रमुख त्रिपाठी

भानु : तनहुँको भानु नगरपालिकाले विविध कार्यक्रम गरी राष्ट्रिय शिक्षा दिवस मनाएको छ । दिवसका अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख आनन्दराज त्रिपाठीले नगरपालिकाले शिक्षा सुधारका लागि सञ्चालन गर्दै आएको कार्यक्रम प्रभावकारी बन्दै गएको बताएका छन् ।
‘पालिकाको ठूलो बजेट शिक्षा क्षेत्रको विकासमा खर्च गर्दै आएको र भविष्यमा भानुलाई शिक्षामा उत्कृष्टता प्रकट गर्नका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण हुनेछ’, उनले भने, ‘शिक्षकहरूको मनोबल उच्च राख्न पुरस्कार र सम्मानको व्यवस्था गरिएको र कर्तव्यमा ढिलाइ गर्ने शिक्षकलाई कारबाही गरिने व्यवस्था समेत रहेको छ ।’
कार्यक्रममा उपप्रमुख उमा गोतामेले शिक्षाको गुणस्तर वृद्धि गर्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक बीचको सहकार्य आवश्यक भएकोमा जोड दिदै उनले विद्यार्थीहरूलाई सक्रिय रहन र अनुशासनलाई उच्च मान्यता दिन आग्रह गरिन ।
१२औं राष्ट्रिय विज्ञान दिवस २०८१ का अवसरमा नगरस्तरीय अन्तर वडा शिक्षक हाजिरीजवाफ प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो। यस प्रतियोगितामा ११ टिमको सहभागिता रहेकोमा वडा नं ९ को विज्ञान समूहले पहिलो, वडा नं ७ ले दोस्रो, वडा नं २ ले तृतीय र वडा नं ४ ले सान्त्वना स्थान प्राप्त गरेका थिए । विजेताहरुलाई क्रमशः रू ९०००, ७०००, ५००० र ४००० प्रदान गरिएको थियो ।
यस्तै, कार्यक्रममा गत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने रञ्जिला क्षेत्रीलाई पनि सम्मान गरिएको थियो । कक्षा १२ का उत्कृष्ट विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदान गरिएको शिक्षा शाखाका प्रमुख ध्रुवराज पौडेलले बताए । आधारभूत स्तरमा उच्च अंक ल्याउने विद्यार्थी, शतप्रतिशत उत्तीर्ण गराउने शिक्षक र ३० वर्षभन्दा बढी सेवा गरेका शिक्षकहरूको सम्मान गरिएको उनले बताए ।










