सफासडकको ‘नो–पार्किङ’ बहस र ‘विश्वले चिनेका वेदव्यास, ओझेलमा व्यासभूमि’

दमौली केवल तनहुँको सदरमुकाम मात्र होइन, यो धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतनासँग जोडिएको महत्वपूर्ण भूमि पनि हो । यही भूमिलाई वेदव्यासको जन्मभूमि, तपोभूमि र कर्मभूमिका रूपमा चिनिन्छ । हिन्दु सभ्यता, दर्शन र साहित्यको आधारशिला मानिने महाभारत, चार वेद र अठार पुराणका रचनाकार महर्षि वेदव्यासको नाम विश्वभर श्रद्धाका साथ उच्चारण गरिन्छ । तर विडम्बना के छ भने, जसले संसारलाई ज्ञानको अमूल्य सम्पदा दिए, उनले तपस्या गरेको भूमि भने अझै अपेक्षित पहिचान र विकासबाट टाढा छ । आज व्यासभूमि दमौलीलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने विषय अत्यन्तै आवश्यक बनेको छ ।
व्यास पराशर क्षेत्र, व्यासगुफा, पराशर गुफा, शिवपञ्चायन मन्दिर, मादी–सेती संगमस्थल, छाब्दी बाराह क्षेत्र र मच्छेकुण्डजस्ता स्थलहरूले दमौलीको धार्मिक र ऐतिहासिक महत्वलाई प्रमाणित गर्छन् । पाँच नदीको संगम क्षेत्रसँग जोडिएको धार्मिक विश्वास, सत्यवतीको जन्मस्थलको मान्यता तथा व्याससँग सम्बन्धित अनेक पौराणिक कथाहरूले यो भूमिलाई अझ विशिष्ट बनाएको छ । यस्ता आधारहरूले दमौलीलाई हिन्दु धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र बनाउन सक्ने सम्भावना प्रष्ट देखिन्छ । तर सम्भावना जति ठूलो भए पनि त्यसलाई योजनाबद्ध ढंगले उपयोग गर्न नसक्दा व्यासभूमि आज पनि ‘बत्तिमुनिको अँध्यारो’ जस्तै बनेको छ ।
पृथ्वी राजमार्गसँग जोडिएको दमौली भौगोलिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थानमा रहेको छ । पोखरा, बन्दीपुर, चितवनजस्ता प्रमुख पर्यटकीय गन्तव्यको मार्गमै पर्ने भएकाले यहाँ दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आवतजावत गर्छन् । तर तीमध्ये धेरैजसो पर्यटक दमौली हुँदै यात्रा गरे पनि व्यास पराशर क्षेत्रसम्म पुग्दैनन् । यसको मुख्य कारण हो– प्रभावकारी प्रचारप्रसारको अभाव, व्यवस्थित पूर्वाधारको कमी र दीर्घकालीन सोचसहितको पर्यटन योजना नहुनु । धार्मिक आस्था मात्र पर्याप्त हुँदैन, पर्यटकलाई आकर्षित गर्न सहज पहुँच, व्यवस्थित बजार, सरसफाइ, पार्किङ, सूचना केन्द्र, विश्रामस्थल, पदमार्ग र आधुनिक व्यवस्थापन आवश्यक हुन्छ ।
यही सन्दर्भमा दमौलीको सफासडक क्षेत्रको व्यवस्थापन अहिले बहसको विषय बनेको छ । व्यास पराशर क्षेत्र पुग्ने मुख्य मार्ग भएकाले नगरपालिकाले ट्राफिक व्यवस्थापन र सौन्दर्यकरणका लागि पार्किङ निषेधको निर्णय गरेको छ । यस निर्णयप्रति व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् । उनीहरूको चिन्ता पनि स्वाभाविक छ । व्यापार व्यवसाय ग्राहकको सहज पहुँचसँग जोडिएको हुन्छ । तर अब समय बदलिएको छ । केवल पसलअगाडि सवारी रोकेर व्यापार चलाउने पुरानो सोचबाट माथि उठ्नुपर्ने आवश्यकता छ । विश्वका धेरै पर्यटकीय शहरहरूमा बजार क्षेत्रलाई पैदलमैत्री बनाइन्छ, सडकलाई आकर्षक बनाइन्छ र त्यसले व्यापार झन् बढाउने गरेको उदाहरण प्रशस्तै छन् ।
सफासडकलाई व्यवस्थित, स्वच्छ र सौन्दर्ययुक्त क्षेत्रका रूपमा विकास गर्न सकिए यसले दीर्घकालीन रूपमा स्थानीय व्यवसायीलाई नै लाभ पुग्नेछ । खुला र व्यवस्थित सडक, आकर्षक प्रकाश व्यवस्था, विश्राम स्थल, स्थानीय कला–संस्कृति झल्कने संरचना तथा धार्मिक वातावरणले पर्यटकलाई रोक्न सक्छ । पर्यटक केही समय बस्यो भने होटल, रेष्टुरेन्ट, पसल र स्थानीय उत्पादन सबैको व्यापार बढ्छ । त्यसैले नगरपालिकाको व्यवस्थापन प्रयास र व्यवसायीहरूको चासोलाई द्वन्द्वको रूपमा होइन, साझा समाधान खोज्ने अवसरका रूपमा लिनुपर्छ ।
दमौली आसपासका अन्य सम्भावनाहरू पनि उत्तिकै महत्वपूर्ण छन् । मानुङकोट अहिले आन्तरिक पर्यटनको आकर्षण बनेको छ । कुहिरोको समुद्र, हिमश्रृंखला र प्राकृतिक सौन्दर्यले हजारौँ पर्यटकलाई तानिरहेको छ । यदि मानुङकोट, व्यास पराशर क्षेत्र, छाब्दी बाराह, बन्दीपुर र तनहुँ जलविद्युत आयोजनालाई एउटै पर्यटन सर्किटमा जोड्न सकियो भने दमौलीले धार्मिक, प्राकृतिक र सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा नयाँ पहिचान बनाउन सक्छ ।
१०८ फिट अग्लो व्यास मूर्ति निर्माणको अवधारणा पनि महत्वपूर्ण छ । तर मूर्ति निर्माण मात्र पर्याप्त हुँदैन । त्यससँगै सम्पूर्ण क्षेत्रको एकीकृत विकास आवश्यक छ । व्यास संग्रहालय, वैदिक अध्ययन केन्द्र, ध्यानस्थल, धार्मिक पदमार्ग, डिजिटल सूचना प्रणाली, सांस्कृतिक उत्सव र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न सकियो भने व्यासभूमिको पहिचान विश्वस्तरमा फैलिन सक्छ । आजको युग डिजिटल प्रचारप्रसारको हो । सामाजिक सञ्जाल, वृत्तचित्र, पर्यटन वेबसाइट र अन्तर्राष्ट्रिय धार्मिक नेटवर्कमार्फत व्यासभूमिको प्रचार गर्न सकिन्छ ।
लुम्बिनी बुद्ध जन्मस्थलका रूपमा विश्वभर परिचित हुन सफल भयो । भारतका वाराणसी, अयोध्या र हरिद्वार धार्मिक पर्यटनबाट समृद्ध बने । त्यसैले व्यासभूमि दमौलीलाई पनि वेदव्याससँग जोडिएको विश्वस्तरीय धार्मिक गन्तव्य बनाउन असम्भव छैन । तर यसका लागि स्थानीय सरकारको प्रयास मात्र पर्याप्त हुँदैन । प्रदेश सरकार, संघीय सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र नागरिक समाजबीच साझा प्रतिबद्धता आवश्यक छ ।
अब व्यासभूमिलाई केवल स्थानीय गौरवका रूपमा सीमित राख्ने समय सकिएको छ । यो हाम्रो सभ्यता, इतिहास र सांस्कृतिक पहिचानसँग जोडिएको सम्पदा हो । वेदव्यासले संसारलाई दिएको ज्ञानको सम्मान गर्ने हो भने उनले तपस्या गरेको भूमिलाई पनि विश्वसामु चिनाउनुपर्छ । दमौलीलाई व्यवस्थित, स्वच्छ, आकर्षक र आध्यात्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न सकियो भने यसले केवल धार्मिक महत्व मात्र होइन, स्थानीय अर्थतन्त्र, रोजगारी र सांस्कृतिक संरक्षणमा समेत ठूलो योगदान पुर्याउनेछ । व्यासभूमिलाई ‘बत्तिमुनिको अँध्यारो’ बाट निकालेर विश्वव्यापी पहिचान दिलाउनु आजको आवश्यकता मात्र होइन, हाम्रो साझा दायित्व पनि हो ।










