सफासडकको ‘नो–पार्किङ’ बहस र ‘विश्वले चिनेका वेदव्यास, ओझेलमा व्यासभूमि’

दमौली केवल तनहुँको सदरमुकाम मात्र होइन, यो धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतनासँग जोडिएको महत्वपूर्ण भूमि पनि हो । यही भूमिलाई वेदव्यासको जन्मभूमि, तपोभूमि र कर्मभूमिका रूपमा चिनिन्छ । हिन्दु सभ्यता, दर्शन र साहित्यको आधारशिला मानिने महाभारत, चार वेद र अठार पुराणका रचनाकार महर्षि वेदव्यासको नाम विश्वभर श्रद्धाका साथ उच्चारण गरिन्छ । तर विडम्बना के छ भने, जसले संसारलाई ज्ञानको अमूल्य सम्पदा दिए, उनले तपस्या गरेको भूमि भने अझै अपेक्षित पहिचान र विकासबाट टाढा छ । आज व्यासभूमि दमौलीलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने विषय अत्यन्तै आवश्यक बनेको छ ।

व्यास पराशर क्षेत्र, व्यासगुफा, पराशर गुफा, शिवपञ्चायन मन्दिर, मादी–सेती संगमस्थल, छाब्दी बाराह क्षेत्र र मच्छेकुण्डजस्ता स्थलहरूले दमौलीको धार्मिक र ऐतिहासिक महत्वलाई प्रमाणित गर्छन् । पाँच नदीको संगम क्षेत्रसँग जोडिएको धार्मिक विश्वास, सत्यवतीको जन्मस्थलको मान्यता तथा व्याससँग सम्बन्धित अनेक पौराणिक कथाहरूले यो भूमिलाई अझ विशिष्ट बनाएको छ । यस्ता आधारहरूले दमौलीलाई हिन्दु धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र बनाउन सक्ने सम्भावना प्रष्ट देखिन्छ । तर सम्भावना जति ठूलो भए पनि त्यसलाई योजनाबद्ध ढंगले उपयोग गर्न नसक्दा व्यासभूमि आज पनि ‘बत्तिमुनिको अँध्यारो’ जस्तै बनेको छ ।

पृथ्वी राजमार्गसँग जोडिएको दमौली भौगोलिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थानमा रहेको छ । पोखरा, बन्दीपुर, चितवनजस्ता प्रमुख पर्यटकीय गन्तव्यको मार्गमै पर्ने भएकाले यहाँ दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आवतजावत गर्छन् । तर तीमध्ये धेरैजसो पर्यटक दमौली हुँदै यात्रा गरे पनि व्यास पराशर क्षेत्रसम्म पुग्दैनन् । यसको मुख्य कारण हो– प्रभावकारी प्रचारप्रसारको अभाव, व्यवस्थित पूर्वाधारको कमी र दीर्घकालीन सोचसहितको पर्यटन योजना नहुनु । धार्मिक आस्था मात्र पर्याप्त हुँदैन, पर्यटकलाई आकर्षित गर्न सहज पहुँच, व्यवस्थित बजार, सरसफाइ, पार्किङ, सूचना केन्द्र, विश्रामस्थल, पदमार्ग र आधुनिक व्यवस्थापन आवश्यक हुन्छ ।

यही सन्दर्भमा दमौलीको सफासडक क्षेत्रको व्यवस्थापन अहिले बहसको विषय बनेको छ । व्यास पराशर क्षेत्र पुग्ने मुख्य मार्ग भएकाले नगरपालिकाले ट्राफिक व्यवस्थापन र सौन्दर्यकरणका लागि पार्किङ निषेधको निर्णय गरेको छ । यस निर्णयप्रति व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् । उनीहरूको चिन्ता पनि स्वाभाविक छ । व्यापार व्यवसाय ग्राहकको सहज पहुँचसँग जोडिएको हुन्छ । तर अब समय बदलिएको छ । केवल पसलअगाडि सवारी रोकेर व्यापार चलाउने पुरानो सोचबाट माथि उठ्नुपर्ने आवश्यकता छ । विश्वका धेरै पर्यटकीय शहरहरूमा बजार क्षेत्रलाई पैदलमैत्री बनाइन्छ, सडकलाई आकर्षक बनाइन्छ र त्यसले व्यापार झन् बढाउने गरेको उदाहरण प्रशस्तै छन् ।

सफासडकलाई व्यवस्थित, स्वच्छ र सौन्दर्ययुक्त क्षेत्रका रूपमा विकास गर्न सकिए यसले दीर्घकालीन रूपमा स्थानीय व्यवसायीलाई नै लाभ पुग्नेछ । खुला र व्यवस्थित सडक, आकर्षक प्रकाश व्यवस्था, विश्राम स्थल, स्थानीय कला–संस्कृति झल्कने संरचना तथा धार्मिक वातावरणले पर्यटकलाई रोक्न सक्छ । पर्यटक केही समय बस्यो भने होटल, रेष्टुरेन्ट, पसल र स्थानीय उत्पादन सबैको व्यापार बढ्छ । त्यसैले नगरपालिकाको व्यवस्थापन प्रयास र व्यवसायीहरूको चासोलाई द्वन्द्वको रूपमा होइन, साझा समाधान खोज्ने अवसरका रूपमा लिनुपर्छ ।

दमौली आसपासका अन्य सम्भावनाहरू पनि उत्तिकै महत्वपूर्ण छन् । मानुङकोट अहिले आन्तरिक पर्यटनको आकर्षण बनेको छ । कुहिरोको समुद्र, हिमश्रृंखला र प्राकृतिक सौन्दर्यले हजारौँ पर्यटकलाई तानिरहेको छ । यदि मानुङकोट, व्यास पराशर क्षेत्र, छाब्दी बाराह, बन्दीपुर र तनहुँ जलविद्युत आयोजनालाई एउटै पर्यटन सर्किटमा जोड्न सकियो भने दमौलीले धार्मिक, प्राकृतिक र सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा नयाँ पहिचान बनाउन सक्छ ।

१०८ फिट अग्लो व्यास मूर्ति निर्माणको अवधारणा पनि महत्वपूर्ण छ । तर मूर्ति निर्माण मात्र पर्याप्त हुँदैन । त्यससँगै सम्पूर्ण क्षेत्रको एकीकृत विकास आवश्यक छ । व्यास संग्रहालय, वैदिक अध्ययन केन्द्र, ध्यानस्थल, धार्मिक पदमार्ग, डिजिटल सूचना प्रणाली, सांस्कृतिक उत्सव र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न सकियो भने व्यासभूमिको पहिचान विश्वस्तरमा फैलिन सक्छ । आजको युग डिजिटल प्रचारप्रसारको हो । सामाजिक सञ्जाल, वृत्तचित्र, पर्यटन वेबसाइट र अन्तर्राष्ट्रिय धार्मिक नेटवर्कमार्फत व्यासभूमिको प्रचार गर्न सकिन्छ ।

लुम्बिनी बुद्ध जन्मस्थलका रूपमा विश्वभर परिचित हुन सफल भयो । भारतका वाराणसी, अयोध्या र हरिद्वार धार्मिक पर्यटनबाट समृद्ध बने । त्यसैले व्यासभूमि दमौलीलाई पनि वेदव्याससँग जोडिएको विश्वस्तरीय धार्मिक गन्तव्य बनाउन असम्भव छैन । तर यसका लागि स्थानीय सरकारको प्रयास मात्र पर्याप्त हुँदैन । प्रदेश सरकार, संघीय सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र नागरिक समाजबीच साझा प्रतिबद्धता आवश्यक छ ।

अब व्यासभूमिलाई केवल स्थानीय गौरवका रूपमा सीमित राख्ने समय सकिएको छ । यो हाम्रो सभ्यता, इतिहास र सांस्कृतिक पहिचानसँग जोडिएको सम्पदा हो । वेदव्यासले संसारलाई दिएको ज्ञानको सम्मान गर्ने हो भने उनले तपस्या गरेको भूमिलाई पनि विश्वसामु चिनाउनुपर्छ । दमौलीलाई व्यवस्थित, स्वच्छ, आकर्षक र आध्यात्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न सकियो भने यसले केवल धार्मिक महत्व मात्र होइन, स्थानीय अर्थतन्त्र, रोजगारी र सांस्कृतिक संरक्षणमा समेत ठूलो योगदान पुर्याउनेछ । व्यासभूमिलाई ‘बत्तिमुनिको अँध्यारो’ बाट निकालेर विश्वव्यापी पहिचान दिलाउनु आजको आवश्यकता मात्र होइन, हाम्रो साझा दायित्व पनि हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker