व्यास नगरपालिका : ४९ विद्यालयलाई प्रविधिमैत्री बनाइदै, विद्यालयमै प्रत्यक्ष कक्षा चलाउने तयारी
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले प्रविधिमैत्री शिक्षालाई जोड दिएको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले विद्यालयलाई प्रविधिमैत्री बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बैठकले प्रस्ताव पेश गर्ने ४९ विद्यालयलाई प्रविधिमैत्री कार्यका लागि प्रति विद्यालय एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
यस्तै, बैठकले अनलाइन कक्षा सञ्चालन हुन नसकेका खण्डमा २५ जनाभन्दा बढी विद्यार्थी कक्षामा नरहने गरी स्वास्थ्य मापदण्ड पालना गर्दै भदौ १३ गतेदेखि प्रत्यक्ष कक्षा सञ्चालन गर्न जिल्ला जोखिम व्यवस्थापन समितिमा सिफारिस गरी पठाउने निर्णय गरेको प्रवक्ता एवं वडाध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी गराएका छन् ।
कार्यपालिका बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु. २५ लाख बिनियोजन गर्ने निर्णय गरेको छ । नगरका ५ वडा वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत प्रस्तावित कार्य गर्नको लागि उक्त रकम विनियोजना गरिएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले वडा नं ६, १०, ११, १३ र १४ मा उक्त कार्यक्रम सञ्चालन गर्ने गरी रकम विनियोजन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी गराए ।
यस्तै, व्यासनगर समता आवासीय विद्यालयको व्यवस्थापनमा भएका कार्य प्रगतिका बारेमा बैठकमा जानकारी गराइएको थियो । नगरपालिका भित्रका स्नातक उत्तीर्ण बेरोजगार महिलालाई उद्यमशीलता अनुदान उपलव्ध गराउन भदौ महिना भित्र वडाको सिफारिस सहित पेश गर्न समेत आग्रह गरिएको छ ।

नेपाल सरकारबाट जारी भएको कोभिड-१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधी २०७८ बमोजिम जोखिम क्षेत्रको बिश्लेषण गरी लकडाउन गर्ने निर्णय बैठकले गरेको छ । विपद्बाट असर पुगेका खेत, कुलो, घर लगायतका बिषयमा प्राप्त वडागत प्रतिवेदन छलफल गरी पुनःस्थापना कार्यमा वडाको सिफारिसको आधारमा बिपद्बाट असर पुगेका लाभग्राहीलाई राहत उपलव्ध गराउने समेत बैठकले निर्णय गरेको बताइएको छ ।
कोभिड-१९ को संक्रमण पहिचान गर्न पिसिआर परीक्षण सम्बन्धी प्रयोगशाला प्रयोगमा ल्याउन जनशक्तिको व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको र २५ बेडको कोभिड व्यवस्थापन अस्पताल भवन निर्माण टेण्डर प्रक्रियामा अघि बढेको बैठकमा जानकारी गराइएको थियो। यस्तै, कोभिड-१९ को परीक्षण कार्य र नेपाल सरकारको नीतिगत प्रक्रियामा खोप लगाउने कार्य व्यवस्थित गर्ने, आम नगरबासीलाई सचेत भई सावधानी अपनाउन बैठकले अनुरोध गरेको छ ।










