नेकपा एसमा तनहुँबाट १३ जनाको सनाखत (नामावलीसहित)
भञ्ज्याङ न्यूज

तनहुँमा नेकपा एमालेबाट निर्वाचित १३ जना जनप्रतिनिधिले नेकपा (एकिकृत समाजबादी) पार्टीमा सनाखत गरेका छन्।
राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश अनुसार भदौ २२ गते भित्र स्थानीय र प्रदेशका जनप्रतिनिधिले आफुले चाहेको दल रोज्न निर्वाचन आयोगले भनेको थियो ।
निर्वाचन कार्यालयले दल रोज्न तोकेको अन्तिम मिति मंगलबारसम्म शुक्लागण्डकी नगरपालिकाबाट १०, व्यास नगरपालिकाबाट २ र आँवुखैरेनीबाट १ जना गरी १३ जनाले सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी गराए ।
नेकपा एसमा शुक्लागण्डकी नगरपालिकाका १० जना जनप्रतिनिधिले आईतबार जिल्ला निर्वाचन कार्यालयमा आएर सनाखत गरेका थिए ।
नेकपा एस रोज्ने जनप्रतिनिधिहरुमा शुक्लागण्डकी-३ का अध्यक्ष रामकुमार श्रेष्ठ, शुक्लागण्डकी-५ का अध्यक्ष दीर्घबहादुर थापा, शुक्लागण्डकी-७ का अध्यक्ष रामबहादुर क्षेत्री र शुक्लागण्डकी-११ का अध्यक्ष दलबहादुर थापा छन् ।
नगरपालिकाका कार्यपालिका सदस्यहरु सानुमाया महत र रिता भुजेल तथा वडा नम्बर ५ का सदस्य थपबहादुर आले, वडा नम्बर ९ का सदस्य डिलबहादुर आले, वडा नम्बर ११ का सदस्य थमन आले र वडा नम्बर ११ का सदस्य डोलमाया विकले नेकपा एस पार्टी रोजेका छन् ।
त्यस्तै, व्यास नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष विश्वनाथ न्यौपाने र सोही वडाका वडा सदस्य मनबहादुर गुरुङले सोमबार जिल्ला निर्वाचन कार्यालयमा नेकपा एसको पक्षमा सनाखत गराएका थिए ।
जिल्लाको आँवुखैरेनी गाउँपालिका वडा नं. ६ का वडा सदस्य संजय गुरुङले पनि मंगलबार निर्वाचन कार्यालयमा नेकपा एस पार्टीमा रहेको भनि सनाखत गरेको कार्यालयले जनाएको छ ।
तनहुँको १० वटा स्थानीय तहका ८५ वटा वडामा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा -एमाले)बाट निर्वाचित प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष, वोर्ड सदस्य, सदस्यहरु गरी १८१ जना निर्वाचित भएका थिए । यी निर्वाचित मध्ये सम्पूर्ण पालिकाका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष सहित १६८ जना जनप्रतिनिधि नेकपा -एमाले) मै छन भने १३ जनाले नेकपा एस पार्टीलाई रोजेका छन् ।










