तनहुँको साराङघाटमा कार्यालय स्थापना गरि तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता

तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा कार्यालय स्थापना गरेर तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही कम्पनीले १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाका लागि कार्यालय स्थापना गरेर कामलाई तीव्रता दिन थालेको हो ।

आयोजनाले साराङघाटमा घर भाडामा लिएर यही वैशाख १ गतेदेखि कार्यालय सञ्चालन गरेको हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तल्लो सेतीको तीन सय ७५ मिटर लामो अनुसन्धानात्मक अडिट सुरुङ निर्माणका लागि आरके इञ्जिनियरिङ एण्ड एसोसिएटस्सँग खरिद सम्झौता गरिएको छ ।

आयोजनाका लागि भौगर्भिक अवस्था परीक्षण गर्न अनुसन्धानात्मक अडिट सुरुङ निर्माण गर्न लागिएको श्रेष्ठले बताउनुभयो । अनुसन्धानका लागि निर्माण गरिने उक्त सुरुङ पछि अन्य कामका लागि प्रयोगमा आउने उहाँको भनाइ छ । डेढ वर्षभित्र उक्त सुरुङ निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।

सरकारले आयोजनाका लागि तनहुँ जिल्लामा करिब पाँच सय ७७ र चितवन जिल्लामा करिब ३२ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिइसकेको छ । लिमिडेटले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा उक्त प्रस्ताव गरेको थियो । सरकारले जग्गा प्राप्त गर्नका लागि स्वीकृति प्रदान गरेसँगै आयोजनाका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन सहयोग पुग्ने श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विविध कारणले जग्गा प्राप्तिका लागि स्वीकृति पाउन ढिलाइ भइरहेको थियो । सरकारको निर्णयसँगै अब जग्गा अधिग्रहणको कामलाई अगाडि बढाइनेछ ।”

तल्लो सेती जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैंक (एडिबी) ले लगानीका लागि चासो दिएका छन् । दुवै दाताहरु यसका लागि सकारात्मक रहेका प्रबन्ध सञ्चालक श्रष्ठले बताउनुभयो । उहाँका अनुसार उक्त आयोजनाको लागत रु २५ अर्ब अनुमान गरिएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको प्रबन्ध सञ्चालक श्रष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त आयोजना निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण भइसकेको छ । आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अगाडि बढाएको थियो । परामर्शदाताले पेस गरेको विस्तृत डिजाइन प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले विसं २०७८ असार २३ गते डिजाइन पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ ।

कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको जनाएको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब ३.५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्र सम्बन्धी कागजात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत÷निप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो ।

आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट–३ र ४ हुँदै ६.८ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमबाट करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्धभूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको प्रबन्ध सञ्चालक श्रेष्ठले बताउनुभयो ।

आयोजनाबाट बन्दीपुर–६, व्यास नगरपालिका–१३ र १४, देवघाट–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछन् ।

देवघाट–४ गाइघाटमा अर्धभूमिगत विद्युत्गृहको निर्माण गरी विद्युत् उत्पादन गरिने छ । उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिनेछ । यसका लागि करिब दुई किमी प्रसारण लाइनको निर्माण गर्नुपर्ने आयोजना कार्यालयले जनाएको छ ।

अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किमी लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुनेछ । आयोजनाबाट वार्षिकरुपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुने जनाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker