कांग्रेसको गाउँ/नगर अधिवेशन : तनहुँका १० वटै पालिकामा निर्वाचन अधिकृत, व्यासको नगरसभापतिमा १० जनाको दाबी
भञ्ज्याङ न्यूज

तनहुँको चार नगरपालिका र छ गाउँपालिका गरी १० वटा पालिकाका ८५ वटा वडामा नेपाली कांग्रेसले अधिवेशन सकेर गाउँ/नगर अधिवेशनमा जुटेको छ । यही भाद्र २७ गते समय तालिका तोकिएको गाउँ/नगर अधिवेशनका लागि कांग्रेस तनहुँले निर्वाचन अधिकृत तोकेको छ । पार्टी पदाधिकारी बैठकले १० वटै तहको अधिवेशनका लागि संयोजक तोक्दै आवश्यक अभिमूखीकरण समेत गरेको छ ।
तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेका अनुसार सबै तहका अधिकृतहरुलाई जिल्ला निर्वाचन अधिकृत फणिन्द्र कोईरालाको उपस्थितमा प्रशिक्षण तथा अभिमुखीकरण गरिएको छ । पार्टीले जिल्लाको व्यास नगरपालिकामा भरत काफले, भिमाद नगरपालिकामा चन्द्रप्रकास सुवेदी, शुक्लागण्डकी नगरपालिकामा विजयराज पौडेल र भानु नगरपालिकामा उपेन्द्र विष्टलाई जिम्मेवारी तोकेको छ ।
यस्तै, देवघाट गाउँपालिकामा केशवराज काफ्ले, बन्दिपुर गाउँपालिकामा दिपबहादुर खत्री, आँबुखैरेनी गाउँपालिकामा नारायणप्रसाद अधिकारी, म्याग्दे गाउँपालिकामा अशोकचन्द्र वाग्ले, घिरिङ गाउँपालिकामा लक्ष्मीप्रसाद अधिकारी र ऋषिङ गाउँपालिकामा विष्णुप्रसाद बराललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ ।
वडा तहको अधिवेशन सकेको तनहुँ कांग्रेस गाउँ/नगर अधिवेशनमा जुटेको छ । गाउँ/नगर अधिवेशनको मिति नजिकिएसंगै जिल्लाका १० वटै पालिकाको सभापति तथा अन्य पदको नेतृत्व आ-आफ्नो पक्षमा पार्ने होडबाजीमा आकांक्षिहरु लागेका छन् । जिल्लाका १० वटै पालिकाको सभापति पद दाबी गर्दै आकंक्षिकहरुले अहिले उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढेको छ ।
जिल्लाका अन्य पालिका भन्दा अहिले व्यास नगरपालिकाको सभापति पदन दाबी गर्दै उम्मेदवारी घोषणा गर्ने होडबाजी नै चलेको छ । बुधबारसम्म व्यास नगर सभापति पदको दाबा गर्दै १० जनाले उम्मेदवारी दिने घोषणा समेत गरिसकेका छन् ।
वडाको अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि र वडा सभापतीहरुले स्थानीय तहको नेतृत्व चयन गर्न पाउने भएपछि उम्मेदवारहरु क्षेत्रीय प्रतिनिधिको जोड घटाउमा लागेका छन् । अहिले बजार क्षेत्रका चोकचोक, चियाँपसल तथा चौतारीहरुमा कांग्रेसका नेता तथा कार्यकर्ताहरु बीच गाउँ/नगरका पदाधिकाहरु को को भन्ने विषयामा छलफल र चर्चा चलाउने गरेका छन् ।
अधिवेशन नजिकिएसँगै व्यास नगर सभापती पदको दाबी गर्ने उम्मेदवारहरुको संख्या पनि बढ्दै गएको छ । हालसम्म व्यास नगरपालिकाको सभापतिको पद दाबी गर्दै १० जना मैदानमा उत्रिएका छन् । नगरसभापतिमा उम्मेदबारी घोषणा गर्ने संख्या अधिवेशनको दिनसम्म अझ बढ्न सक्ने विषयमा पनि चर्चा चल्न थालेको छ ।
व्यास-५ का वडा अध्यक्ष एवं नगर सचिव मोहनकुमार श्रेष्ठ, अर्का नगर सचिव चुडामणी दाहाल, नगर सहसचिव डम्बर अधिकारी, ट्रेड युनियन काँग्रेसका अध्यक्ष सुर्यचन्द्र हड्खले, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, वडा नम्बर १० का वडा अध्यक्ष तुलसीराम सापकोटा, पूर्व डिभिजन इन्जिनियर हरिदत्त पौडेल, डा. शेषरमण न्यौपाने, प्रताप गुरुङ, तनहुँ उद्योग वाणिज्य संघका पूर्व प्रथम उपाध्यक्ष बैकुण्ठ मिश्रले नगरसभापति पदमा उम्मेदवारी दिने चर्चा चलेको छ ।
सभापतीका उम्मेदबारहरुले अब नेपाली काँग्रेसमा युवा पुस्ताहरु नेतृत्वमा आउनु पर्ने भन्दै युवाको प्रतिनिधित्व गर्दै अगाडि बढ्ने घोषणा समेत गरेका छन् । नेपाली काँग्रेस व्यास नगर समितिलाई अझ व्यवस्थित रुपमा सञ्चालन गर्ने, क्रियाशिल सदस्यता विरतण तथा अभिलेखको काम डिजिटल रुपमा राख्ने, विकास निर्माणका योजनाहरु छनौट गरी नगरपालिकामा सिफारिस गर्ने तथा अग्रज नेताहरुको सम्मान र युवा पुस्ताको मुल्यांकन गरी पार्टी सञ्चालन गर्ने लगायतका चुनावी एजेण्डा पनि अगाडि सारेका छन् ।










