तालिम पाएपछि बन्दीपुरका महिलाहरु च्याउखेती गर्दै

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा २५ किसानलाई च्याउ उत्पादन सम्बन्धी तालिम दिएपछि उनीहरू च्याउखेतीतर्फ आकर्षित बनेका छन् । तालिम लिनेमा गाउँपालिकाका ६ वडाका १९ महिला समेत छन्। उत्पादित च्याउ बिक्री गरेर आम्दानी लिनथालेपछि उनीहरू आत्मनिर्भर बन्न थालेका छन् ।
तालिमपछि किसानलाई च्याउ उत्पादन गर्न बीउ, टनेलका लागि प्लाष्टिक र ग्रोइङ ब्यागजस्ता सामग्री गाउँपालिकाले उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले बताए। उनका अनुसार गाउँपालिकाले रु एक लाख ५० हजारमा च्याउखेतीका लागि तालिम, बीउबिजन, प्लाष्टिक र ग्रोइङ ब्यागजस्ता सामग्री उपलब्ध गराएको थियो ।
गत पुसमा तालिम लिएपछि २४ किसानले ३.६ मेट्रिक टन च्याउ उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेका कृषि शाखाका अभिषेक भट्टराईले जानकारी दिए। उनीहरूले उत्पादन गर्न थालेको च्याउ स्थानीय बजारमा खपत हुँदै आएको छ । च्याउबाट लक्षित गरिएको उत्पादन हुँदा रु सात लाखसम्म आम्दानी किसानले गर्न सक्ने भट्टराईको भनाइ छ ।
तालिमपछि च्याउखेतीतर्फ लागेकी बन्दीपुर गाउँपालिका–५ फलामडाँडाकी सपना गुरुङले रु ६ हजार बराबरको च्याउ बेचेको बताए । उत्पादित च्याउ गाउँमै बिक्री भएको र घरखर्च चलाउन सहयोग पुगेको उनको धारणा छ ।
गाउँमा सामान्य खेती किसानीमात्र गर्दा जीविकोपार्जनमा गाह्रो भएको सुनाउँदै गुरुङले कम मेहनतबाट पनि नगद आम्दानी गर्न सकिने बताए । पर्याप्त  च्याउ उत्पादन गरेर अन्य ठाउँमा बिक्री गर्ने उनको योजना छ ।
यस्तै, बन्दीपुर–६ केराबारीकी धनकुमारी गुरुङले तालिमबाट आफूले धेरै कुरा सिकेको र भविष्यमा थप लगानी गरेर व्यावसायिक च्याउखेती गर्ने सोच बनाएको बताए। तालिम लिएका किसानले कन्य च्याउखेती गरेका छन् । कन्य च्याउ ढुसी धागोजस्तो मसिनो र सेतो रङको हुन्छ । यो च्याउखेती धानको पराल वा गहँुको छवालीमा गर्न सकिन्छ । गर्मी र जाडो दुवै मौसममा गर्न सकिने यो खेतीबाट किसानले पर्याप्त लाभ लिन सक्छन् ।
एक किलो परालबाट सरदरमा पाँच सयदेखि छ सय ग्रामसम्म च्याउ उत्पादन गर्न सकिन्छ । बन्दीपुर–३ की चन्द्रकला भट्टराईले आम्दानीको सम्भावना देखेर तालिम लिई च्याउखेती गर्न थालेको बताइन् । उनले आफूले सिकेको ज्ञान र सीप गाउँका अन्यलाई पनि बाँड्ने गरेको बताइन । च्याउ उत्पादन गरेर बन्दीपुरका होमस्टेमा बस्ने पाहुनालाई खुवाउने योजना बनाएको भट्टराईले बताइन ।
यस क्षेत्रमा च्याउखेती गर्नेमा अधिकांश महिला छन् । घरायसी कामसँगै आम्दानी पनि हुने भएपछि च्याउ उत्पादनमा संलग्न भई आत्मनिर्भर बन्ने दिशामा उनीहरु अग्रसर भएका हुन् । उत्पादित च्याउ बजारमा बिक्री गर्न सहजीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । उत्पादित च्याउ जिल्लाको प्रमुख पर्यटकीय केन्द्र बन्दीपुरका होटल तथा रेष्टुरेन्ट, डुम्रे बजार, दमौली लगायत क्षेत्रमा लैजान गाउँपालिकाले पहल गर्ने उनले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker