ओझेलमा परेको कुलुङकोट

देव बस्न्यात

सिञ्जा साम्राज्यको पतन पश्चात कर्णाली प्रदेशमा बाइसी राज्य र गण्डकी प्रदेशमा चौबिसी राज्यहरुको उदय हुन पुगेको थियो। पाल्पा, पर्वत र गोरखा राज्यहरु अन्य बाइसी राज्यहरु भन्दा सर्वाधिक शक्तिशाली राज्यहरुमा गनिन्थे । पाल्पाका राज मणिमुकुन्दसेनले विशाल पाल्पा राज्य निर्माण गर्ने क्रममा, वि.सं. १५८१, १५८२ र १५८३ मा काठमाण्डौ आक्रमण गर्न आउँदा होस या पाल्पालाई विशाल राज्य बनाउने अभियानमा समग्र तनहुँ, रामनगर, गोरखा र मकवानपुर राज्य समेतलाई पाल्पा अधिनस्थ राज्य बनाउने क्रममा कुलुङकोटलाई आफ्नो भ्रमणको मुकाम रजस्थल बनाएका थिए । आफ्नो जीवनको उत्तरार्ध कालमा पाल्पाका राजा मणिमुकुन्द सेनले पाल्पा राज्यलाई भाइ अंश लगाइ दिँदा पाल्पामा माणिक्य सेन, बुटवलमा विनायक सेन, तनहुँ भृङ्गी सेन, मकवानपुर लोहाङ सेन, ऋषिङ रामसेनको मरणोपरान्त हम्बिर सेन, राजपुर कुवेर सेन, मदरियामा खडग सेन लगायतका आफ्ना भाइ छोरा र भतिजहरुमा राज्यलाई भाइ अंशमा बाँडनाले एकिकृत पाल्पा राज्य विभिन्न टुक्राहरु विभाजित हुन पुगेको थियो ।
व्यास नगरपालिका वडा नं. १४ मा अवस्थित कुलुङकोट तनहुँको अभिन्न भू–भाग बन्न पुगेको थियो । सिञ्जा साम्राज्यको पतन पश्चात तथा चौबिसी राज्यहरुको उदय हुनु पूर्व कुलुङकोट एउटा थुमथुमे राज्यकोरुपमा उदाएको महसुस हुन आउँछ। तथ्यगत लेख्य प्रमाणहरु हालसम्म केही पनि नभेटिएको हुनाले कुलुङ एउटा छुट्टै राज्य हो भनेर किटान गरेर भन्न नसकिएता पनि तनहुँको दगामकोटमा दुरुङच्या थरका आले मगरहरुको शासन भेटिएको र यहाँका मुखिया तथा महामुखियाहरु पनि दुरुङच्या थरका आले मगरहरु नै भेटिएकोले यहाँ पनि दुरुङच्या थरका आले मगर राजाहरुले शासन गरेका थिए भन्न सकिने आधार मिलेको छ । कुलुङकोट समुन्द्र सतह भन्दा ११९७ मिटरको उचाइमा रहेको छ । कुलुङकोटको दरवार सुरक्षाको लागि ३ फिट चौडाइ र ६ फिट उचाइको पर्खालको सुरक्षाघेरा बनाइएको थियो । हिरालाई किरा समझेर यहाँका स्थानीयहरुले दरवारको विशाल पर्खाल भत्काई गढीका ढुङ्गाहरुको प्रयोग गरेर कुलुङ गाउँका वासिन्दाहरुले २० देखि २२ वटाको सेरोफेरोमा व्यक्तिगत घरहरु निर्माण गरेको कुरा प्रत्यक्षदर्शी एवं व्यास–१४ का वडाअध्यक्ष काजीमान श्रेष्ठ बताउँछन् ।
कुलुङकोट गढीको पर्खालको गारो भत्काउँदा यहाँका स्थानीय वासिन्दाहरुले ओखल, जाँतो, तरवार र खुँडाहरु भेट्टाएको कुरा कुलुङ निवासी हाल जिल्ला आर्युवेद स्वास्थ्य कार्यालय तनहुँका डा. नारायण श्रेष्ठ बताउँछन् । तत्कालीन कुलुङकोटका राजा तथा मुखियाहरुको भित्रीवारीको रुपमा व्यास–१ तिलहारमा (अकलाथान पूर्व र शिवपाञ्चायन मन्दिर पश्चिम), करङकाठ र मालेबगरको भूभागमा रहेको शताब्दी पुरुष स्व. भीमबहादुर बस्न्यातले जानकारी गराएका थिए ।

कुलुङकोटको नामाकरण

तनहुँको प्रमुख तीर्थस्थला छाब्दी वाराही माइको मन्दीरको दायँवायाँ कुलुङ र करलुङ नाम गरेका दुई गाउँहरु रहेका छन् । दुबै गाउँको साझाबेसी छाब्दीफाँट पर्दछ । कुर्लुङभन्दा कुलुङको उचाई निकै बढी देखिन्छ। यहाँका स्थानीवासीहरुले कुलुङकोटलाई कुनुङकोट भन्ने गर्दथे । तनहुँका उत्तरमा पर्ने लमजुङ जिल्ला तमुवान क्षेत्रमा पर्ने भएकाले यहाँका प्रायः गाउँहरुको नामान्तमा जुङ शब्द आकर्षित भएको पाउँदछौं भने तनहुँका अधिकांश गाउँहरुको नामान्तमा नुङ, लुङ र कोट शब्दहरु आकर्षित भएको पाउँदछौं । यहाँका गाउँका नामहरुमा तनुङ, मानुङ, धेनुङ, कर्लुङ, मिछुर्लुङ, मिर्लुङ, सेटाङ जस्ता आदि नामहरु प्रशस्त भेटिन्छन्। नेपालको गण्डकी प्रदेशको बाह्रमगरात बोलिने मगर ढुटभाषा अनुसार कुसे भनेको कुन र नुङ तथा लुङ भन्नाले ढुङ्गा तथा पहाडको चुचुरो भन्ने जनाउँछ । कालान्तरमा त्यही कुसेनुङ शब्दको मध्ये अक्षर से लोपभई कुनुङ तथा कुलुङ हुनपुगेको पाइन्छ ।
नेपाल एकीकरणको अभियानमा वडामहाराजधिराज पृथ्वीनारायण शाह र उहाँका वंशजहरुले नेपाल एकीकरण अभियानलाई निरन्तरता दिंदाको अवस्थामा कुन् कुन् राज्यहरु विजय गर्न छुट भयो होला भनी मगरभाषामा नै “कुन् लुङ ले ?” भनी सोधनी हुँदा त्यही “कुन् लुङ ले ?” शब्दाँश अपभ्रंश भइ कुनुङ÷कुलुङ हुन गएको कुरा पनि थप्नु भयो । गोर्खाली सेना र कुलुङ्गे सेना बीच कुलुङकोटमा लडाइ हुँन लाग्दा कुलुङका राजाले वैरीको टाउकामा पर्ने गरी कुरलुङके (शत्रुका टाउकामा ढुङ्गा पल्टाउ तथा लडाउ भन्ने भावार्थ बुझिन गएको) भनेकाले सोही कुरलुङके भन्ने शब्द अपभ्रंश भई कुरलुङ हुँदै कुलुङ बनेको कुरा मगर भाषाका ज्ञाता यमबहादुर आलेले आफुलाई बताएको व्यास–१४ का वडाअध्यक्ष काजीमान श्रेष्ठले जानकारी गराए ।
कुलुङ गाउँमा अबस्थित एक प्रकारको भलायोको पात जस्तो देखिने स–साना रुखलाई कुम्म भनिने र सोही रुखको फेदबाट पानीको मूल निस्केको हुनाले यस पानीलाई कुम्मडी भन्न थालियो । त्यही कुम्मडीको पानी कुलुङ नजिकैको राङसीभञ्ज्याङ हुँदै छाङाडी पुगेको पाइन्छ । स्थानीय मगरभाषामा राङसी भन्नाले नेपाली भाषामा साजबोट भनेर चिन्ने गरिन्छ। अन्त्यमा त्यही पानी छाङ्गा बनाएर छाब्दी खोलामा झर्दछ । छाङ्गा बनाएर झरेको हुनाले यसलाई छाङडी भन्न थालियो । त्यही छाङाडी शब्द अपभ्रंश भइ अहिले छाब्दी बन्न पुगेको आभाष पाउँदछौ । त्यही छाब्दी तनहुँकै प्रशिद्ध तीर्थस्थलहरुमा एक मानिन्छ । यही स्थानमा छाब्दी वाराही मन्दिर रहेको छ ।

कुलुङको सोह्रानी भित्रको रुम्सी गाउँ

व्यास नगरपालिका–१४ पर्ने सुन्दरबस्तीको नाम हो रुम्सी । रुम्सी मगर बाहुल्य बस्ती हो । रुम्सी गाउँ सुन्दर दृष्यहरुको खानीले ओतप्रोत भएको स्थान हो । आर्थिक सामाजिक र साँस्कृतिक हिसावले धनी मानिएको रुम्सी गाउँमा लगभग ९० प्रतिसत घरका व्यक्तिहरु ब्रिटिस र भारतीय गोर्खा सैनिकमा जागिरे भेटिन्छन् । बैदेशिक रोजगारको प्रत्यक्ष अनुभव बटुलेका रुम्सीको लाहुरेहरुले गाउँलाई एसियाकै सिंगापुरको झल्को दिएका छन् । सभ्य एवं समृद्ध जीवनशैली अप्नाउने रम्सेलीहरुले आफ्नो गाउँलाई हराभरा, सफा–सुग्घर राख्न चुकेका छैनन् । रुम्सीको कपरसिङ डाँडामा रहेको मौलाथानमा बडादसैं र चैतदसैंमा पूजाआजा हुन्छ भने ढेरोडाँडामा भयेंर, डाँडास्वाँरामा मुलुकी (आइतबारे), चण्डीभञ्ज्याङमा चण्डी र सन्सरीमाइ, डाँडाबर भन्ने स्थानमा वनडालीमाई र वीरथुम्कामा थानीमाईको पूजाआजा गर्दछन्। बाह्रै महिना प्रशस्त पानी रहने रुम्सी झरना करिव १०० मिटर उचाइबाट तल झर्ने गर्दछ। यस झरनाबाट क्यानोनिङको मजा लिन सकिने भएता पनि आजसम्म यसको सम्भाव्यता अध्ययन पनि नगरेको पाइन्छ । रुम्सी गाउँ मौरी पालन र चराहरुको अवलोकन गर्न सकिन्छ । हात्तीसुंडे स्थित जलवाराही मन्दिर पनि रुम्सीको अर्को महत्वपूर्ण गन्तव्य स्थल हो ।

दुरुङ्च्या मगरहरुनै कुलुङथुमका थुमथुमे राजा हुन सक्छन् ?

दगामकोट खैरेनीटारको शिरमा रहेको छ । आज भन्दा ५०० वर्ष पहिले घनश्याम दुरुङच्या मगरले तनहुँको दगाकोटमा शासन गर्दथे । सिञ्जा साम्राज्य पतन पश्चात थुम थुमका प्रशासक रहेका र केन्द्रको शासनमा पहुँच नहुना साथ मगरका राना, चितौरे, दुरुङ्च्या आले र थापा थरका मगरहरु नै आफूलाई स्वतन्त्र देशको सार्वभौम राजाको रुपमा घोषणा गरेका थिए । यस कुलुङकोटमा पनि आजसम्म दुरुङच्या थरका आले मगरहरुको मुख्यौली देखिंदा चौविसी राज्य स्थापना हुनु पूर्व थुमथुमे राज्य रहेको थियो भन्न संकेत मिलेको छ ।
अझै पनि कुलुङका मुखियाहरुले गाउँमा दशैंको टिका फुकाउने गर्दछन । केही वर्ष अगाडिसम्म यहाँका रैतिहरुले मुखियाकै आदेशलाई शिरोपर गरी कुलुङकोटमा मनाइने बडादसै र चैतेदसैंमा हरेक घरधुरी पिच्छे कम्तिमा १ माना चामल, एक ठेकी दहि, एक हाता केरा, आफ्ना बारीमा फलेका सुन्तला एवं अन्य फलफूलका सगुन र भेटीका साथ मुखियाको घरमा टिका लगाउन जाने गर्दथे। अहिले आएर यो परम्परा पूर्णत हटेर गएको छ। तत्कालीन समयमा यहाँका मुखियाले नेपाल सरकारको राज्य प्रतिनिधिको रुपमा रहेर सरकारी राजस्व उठाउने काम गर्दथे । हदमुनीका पास भएका जग्गाको दाखेल खारेज र जग्गाको बाहाली पूर्जि पनि गरिदिन्थे । जग्गाको बहाली पूर्जि गरिदिंदा रैतानहरुले राजी खुसीले दस्तुरी पनि टक्र्याउने गर्दथे ।
वि.सं. २०३४÷०३५ सालसम्म यो परम्पराले निरन्तरता पाउँदै आएको थियो । वि.सं. २०३५ सालसम्म यो प्रथा कायमै रहेको थियो। यहाँका महामुखियाहरुले कुलुङ मौजाको तिरोभरो उठाएर तनहुँको मालअड्डा बन्दिपुरमा र वि.सं. २०२५ सालपछि बन्दीपुरबाट दमौलीमा सर्न पुगेको मालअड्डामा राजस्व जम्मा गर्ने गर्दथे । रैतीहरु पनि महामुखियाको आदेशलाई शिरोपर गर्दथे । प्रत्येक घरधुरीका रैतानहरुले महामुखियाको घरको बाली लगाउन र थन्क्याउनका लागि प्रत्येक वर्षमा कमसेकम तीन पटक सघाउ दिन पुग्दथे। वि.सं. २०३२ सालमा आएर गुठी जग्गाहरु पनि रैकरमा दर्ता हुन पुगे पछि हरेक घरधुरी पिच्छे मुखियाको घरमा सगुन लैजाने प्रथा र सघाउ जाने कार्य अहिले पूर्णत समाप्त भएर गएको छ। यहाँका मुखिया नरबहादुर दरुङ्च्या आलेमगरका वंशजहरुले नै मुख्यौली परम्परा सम्हाल्दै आएको पाइन्छ । मालपोतको काम हटेता पनि कुलुङका तिलबहादुर दुरुङ्च्या आलेमगरले कुलुङकोटको सामाजिक तथा धार्मिक कार्यको मुख्यौली अझै पनि सम्हाल्दै आएका छन् । कुलुङका मुखियाले तोकिदिए अनुसार नै हरेक मौजाका मुखियाहरुले आफ्नो पालो अनुसारको कुलुङकालिका मन्दिरमा चढाउने नेग चढाउन ल्याउने परम्परा अझै जिवित रहेको पाउँदछौं ।

पुजारीको छनोट

कुलुङकोटमा खड्गकालिक मन्दिर रहेको छ । कुलुङकोटका कालिकाका पूजा गर्नका लागि कुलुङका महामुखियाले नै दुरुङ्च्या आलेमगर खलकका १३ वर्ष भन्दा मुनिका अविवाहित (महिलासंग लसपस नभएका) किशोरहरुलाई पुजारीको रुपमा छनौट गर्दछन् । छनौट गरिएका किशोरहरुले नङकेश र नुवाई धुवाई गरी नवरात्रभर पवित्र बनेर मन्दिरमा प्रवेश गर्दछन् । हरेक दिन बिहानमा तिनै किशोरहरु नुवाइधुवाई गर्ने र एक छाक खाना खाएर हविष्य बस्ने गर्दथे । अल्पज्ञान भएका र पूजाविधि थाहा नभएका कारण पूजाविधिमा त्रुटि होला भन्ने डरले पुजारी किशोरहरुलाई सहयोग सल्लाह र पूजाविधि सिकाउन गाउँका बूढापाकाहरु पनि केटाहरु सँगसँंगै मन्दिरमा रहने गर्दथे। कोटमा पूजा सुरु हुनासाथ पूजारीहरु मन्दिर प्राङ्गण भित्रै रहने बस्ने गर्दथे । उनीहरुको सुरक्षा र सहयोगार्थ जोसिला युवा एवं बृद्धहरु पनि संगसंगै मन्दिरमा रात बिताउन आउने गर्दथे। अहिलेका पुजारीहरु आफ्नै घरमा बस्ने भएकाले यो प्रचलन पुरै समाप्त भएको छ ।

फूलपाती शोभायात्रा

हरेक बडादसैं र चैतेदसैंमा यहाँ कालीकाको पूजाआजा हुने गर्दछ । कुलुङकोटे थुमथुमे राजाको पालादेखि नै षष्ठी तिथिको दिन कुलुङकोटका वास्तेहरु छाब्दी फाँटमा पुगेर त्यहाँ रहेको बेलको रुखमा पूजाआजा गरेर कालिकाको पूजाआजाको लागि बेलपत्र, शुभसाइतका प्रतिकका रुपमा घोप्टेफूल  गौरी सामाको फूल, जयन्ती लहरा र नवपत्रिका सहितका फूलपाती टिपेर डोलीमा सजाएर राख्ने गर्दथे । कृषकहरुको बारीमा रोपिएका उखु, हलेदो, केराकोबोट, धानको बाला र विभिन्न किसिमका अरु फूलपातीहरु संकलन गरेर डोलीमा सजायर राख्ने गरिन्थ्यो । त्यही फूलपातीको डोली वडादसैंको सप्तमीका दिन फूलपाती सवारीयात्राको शोभा बन्ने गर्दथ्यो ।
कुलुङका महामुखिया तथा मुखियाहरु, हरेक घरका कमसेकम एक÷एक जना ब्यक्तिहरु उखुका लाँक्रा र ध्वजापतकाका साथ फूलपाती शोभायात्रामा सहभागी हुने गर्दछन् । श्रध्दापूर्वक ल्याइएको कलश र फूलपातीको डोलीलाई फूलपाती बिसाउने चौतारामा बिसाएर मात्र कुलुङकोटको कोटघरमा फूलपाती भित्र्याउने गरिन्थ्यो । तर आजकल कुलुङमा फूलपाती भित्र्याउने कामले पूर्णत बिश्राम पाएको देखियो । वडादसैंको महाअष्टमी र महानवमीका दिनमा कालिकालाई अचल एवं जीवबलि चढाउने परम्परा अद्यापि जीवन्त रहेको पाउँदछौं । यस कोटमा चौबिसेकालीन युद्धका सामाग्रीहरु मध्ये भाला, खुकुरी, खड्ग एवं तरवारहरु अझै पनि कुलुङकोट कालीकाको मन्दिरका, सुरक्षित रुपमा रहेका छन् । तिनै हात हतियार र देवीको पुजाआजा गरी  परम्परा देखि सैनिक शक्ति प्रदर्शन गर्ने कार्यलय अहिले धार्मिक पछ्यौरा ओढाइएको पाउँदछौं । श्रद्धा भक्ति पूर्वक भवानीको पूजाआजा भए पनि वास्तवमा राज्यका सुरक्षा अङ्ग चुस्त र दुरुस्त छ भनी राज्यका नागरिकहरुलाई आस्वस्त बनाउनु पनि मूल उद्देश्य रहेको थियो ।
सरकारी पल्टनमा भर्ती भएका यहाँका लाहुरेहरुले आफ्नो छाउनीमा आफ्नो आरध्यदेवता भैरव र आरध्यदेवी खड्गकालीको मौलो गाडेर शक्तिको उपासना गर्ने रीतिथिति बाँधेका थिए । जुन परम्परा आज पनि हाम्रो समाजमा जरो गाडेर रहेको छ। कुलुङ निवासी ब्राह्मण, क्षत्री, नेवार, मगर, दमै, कामी लगायतका सबै जातजातिहरु मिलेर नवरात्रभर कालिकाको धुमधामका साथ पूजाआजा गर्ने गर्दछन्। कुलुङकोटमा कामीहरुले मन्दिरका खुँडा तरवार अर्जप्ने, पाइन चढाउने र मर्दना गर्ने, दमैहरुले नगरा तथा बाजा बजाउने गर्दथे । कलुङकोटमा बाजा बजाउने तथा हातहतियार अर्जाप्ने परम्परा तोडिएकोले अहिले बाजा बजाउने प्रचलन पनि हटेको बताइन्छ। मौला पूजाको लागि सरकारबाट कुनै सरसहयोग प्राप्त नहुने भएपछि यहींका स्थानीय वासिन्दाहरुले प्रत्येक घरधुरीबाट रकम संकलन गरी भगवतीलाई अचल बलि कुबिण्डो, घिरौंला र चलमा राँगा, बोका र कुखुराका बलि चढाउँदै आएका छन् । पूजा खर्चमा हरेक घरको दायित्व रहने भएकोले  देवीको प्रसाद पनि प्रत्येक घरधुरी सम्झेर बिलोभाग लगाउने गरिन्छ । गाउँका मुखियाको आदेशानुसार कोजाग्रत पूर्णिमाका दिनमा हरेक घरको एक÷एक जना मानिसहरु मन्दिरमा जम्मा भइ भजनकृतन र दोहोरी गीत गाएर रातभर जाग्राम बस्ने प्रचलन रहेको छ ।

कुलुङमा किन जाने ?

कुलुङ प्रकृति र संस्कृतिको दोभान हो । कुलुङ समुन्द्र सतह भन्दा ११९७ मिटर उचाइमा अवस्थित छ । उचाइमा रहेको कुलुङमा प्राकृतिक सौन्दर्यको रसस्वादन गर्न पाइन्छ। कुलुङको चुचुरालाई १२० डिग्री पारेर उत्तर तर्फ हेरियो भने चाँदी झैं टल्केका हिमालहरुको अनुपम दृश्यहरुको अवलोकन गर्न सकिन्छ । जस्म कुलुङकोटबाट धवलागिरी, अन्नपूर्णा दामोदर, माछापुच्छ«े्र मनास्लु, हिमचुली, बौद्ध, लमजुङ हिमालहरु, छिम्केश्वरी, मुच्चुक, मानहुँ डाँडाखुदी, घण्टाचुली, देवचुली, वरचुली, फिरफिरे, ढोर रजस्थल, थप्रेक, भूजिकोट, रुपाकोट, अर्घौकोट, कास्कीकोट लगायतका महाभारत पर्वतका श्रृङ्खलाहरु, चितवनका उपरदाङगढी परेवाकोट, चिसापानीगढी, सोमेश्वरगढी, चुरेश्रृङ्खला, चितवन तथा नवलपुरको बिशाल समथर मैदान, बुल्दी, सुखौराफाँट, सेतीमादी नदीले बनाएको उपत्यका एवं मस्र्याङदी नदीले बनाएको उपत्यकाहरुको अनुपम दृश्यहरुको अवलोकन गर्न सकिन्छ । कुलुङ शितल हावापानी र प्राकृत्तिक सौन्दर्यताले भरीपूर्ण रहेको स्थान हुनाले पनि यहाँ मगरहरुको सघन बसोबास रहेको पाउँदछौं । हाल कुलुङमा ७२ घरपरिवारमा ३६० जना जनसंख्या रहेको पाउँदछौं । यहाँका ७२ घरपरिवार मध्येमा ३१ घरपरिवार कृषि पेशामा, २० घरपरिवार पशुव्यवसायमा र १९ घरपरिवार घरवास कार्यक्रम (होमस्टे) व्यवसायमा जोडिन थालेका छन् ।
कुलुङका प्रायशः मगरहरु आफुलाई बृटिस, भारतीय र नेपाली सेनाको सेवामा समर्पित छन । वास्तवमा कुलुङ्गेहरुले गाउँलाई भन्दा जागिरलाई बढी माया दिएका छन् । “जननी जन्मभूमिश्च स्वर्गादपि गरिएसी” सम्झने कुलुङ निवासीहरु समयको परिवर्तन संगसंगै आफुलाई परिवर्तन गर्न नसक्दा यथास्थितिमा भेटिन्छन्। जागिर छंदा जागिरमा र पेन्सनमा निस्किंदा गाउँको विकास भन्दा पेन्सनमा नै रमाउनाले स्वर्गरुपि कुलुङ गाउँ विकास विहिन बन्न पुगेको पाउँदछौं । तनहुँसुरका नेवारहरुले झैं अलिकता टाठाबाठा  बाहुन तथा नेवारहरु “जननी जन्मभूमि” कुलुङलाई बिर्सेर नयाँ नयाँ स्थानमा रम्न पुगेका छन्। बन्दीपुरका लगनशील बासिन्दाहरुले जसरी बन्दीपुरलाई मृत शहरबाट पुर्नजीवन प्रदान गरे त्यो मूलमन्त्र आज कुलुङबासीले सम्झनै पर्ने बेला आएको छ । व्यास–१४ मा कच्ची सडक सञ्जाल हरेक घरघरमा पानीधारा, विजुली सेवाको विस्तार भएको कुरा पाँच वर्षमा बदलिएको केशवटार अविकासबाट विकासको बाटोमा श्रव्यदृश्य चित्रले बताउँछ । प्रकृति, संस्कृति र कला लगायतका जैविक विविधताले सम्पन्न व्यास–१४ का नागरिकहरु श्रीसम्पतीले परिपूर्ण बनी सुखी र सम्बृृद्धिमय बन्न सकुन हाम्रो यही शुभेच्छा रहेको छ ।

के कुलुङ गाउँका मानिसहरु लिच्छिवी मूलका कुलुङ हुन्?

खस, मगर र किराँत नेपालका आदिवासी जातिहरु हुन । खसलाई यक्ष जाति पनि भनिन्छ । यक्षका राजा कुवेर हुन् । रहन सहन र धर्म संस्कृतिका आधारमा मगर र क्षत्रीहरुको साइनो नजिक हुँदाहुँदै पनि क्षत्रीहरु बाहुनको साथमा र मगरहरु गुरुङतर्फ नजिकिए पछि क्षत्री–बाहुन र मगर–गुरुङ भन्ने नयाँँ शब्दजाल तयार हुन पुगि मगर र क्षत्रीहरु एक आपसमा टाढिन पुगेका हुन् भन्दा अतिशयोक्ति नहोला । मगर र क्षत्रीहरु दुबै यक्ष जाति हुन्। यक्षजातिका राजा कुवेरको आदि अक्षर कु र भोटबर्मेली भाषा अन्तरगतको लुङ (पर्वतको शिखर, कोट) शब्द समायोजन भइ यस स्थानको नाम कुलुङ रहन गएको अनुभूति हुने गर्दछ। यसरी यक्ष जातिका राजा कुवेर, कुवेरकी महारानी यक्षिनी र कुवेरका प्रजाहरु कुलुङ रहेछन् भनी अनुमान गर्न सकिन्छ जस्ले आफुलाई कुलुङको विकल्पमा किरात भनेर संवोधन गर्न पनि रुचाउँथे । आज पनि कुलुङ राई र मगर जातिको भाषामा केही समनता भेटिएका छन्। हाल आएर कुलुङहरुले आफ्नो जाति र भाषाको छुट्टै पहिचान कायम गर्दै आएका छन् । लेख्य प्रमाण नभेटिएता पनि तिनै कुलुङजातिको सर्वप्राचीन राजधानी तनहुँ जिल्ला व्यास–१४ को केशवटार नजिकको कुलुङकोट हुन सक्दछ  नि नभन्ने ?
जसरी नेवा प्रदेश काठमाण्डौमा बस्ने पहाडीया तथा मधिशे बाहुन र पश्चिमका खसीय मल्लहरुले कालान्तरमा आफुलाई नेवार जातिकै ब्राह्मण र क्षत्रीय जातिमा नै गणना गर्न रुचाए, त्यसरी नै यहाँका कुलुङजातिहरुले पनि कुलुङमा मगर आवादी ह्वात्तै बढेपछि आफूलाई मगर जाति नै भएको प्रमाणित त गरेका होइनन्? भनेर सोच्नु पर्ने बेला आएको छ । कतै कुलुङजातिहरुले सर्वप्रथम आवाद गरेको भूमि हुनाले यस भूस्वर्गलाई कुलुङ भन्ने गरिएको त होइन भनेर सहजै अनुमान गर्न सकिन्छ । हाल कुलुङजातिहरु नेपालको सोलुखुम्बुको महाकुलुङ, तेह्रथुम लगायत नेपालका २६ जिल्लाहरुमा यत्रतत्र छरिएर बसेका पाइन्छन् ।

कुलुङकोटमा पर्यटन

कुलुङ मगरजातिहरुको सघन बसोबास भएको स्थल हो । वि.सं. २०२५ सालसम्म बन्दीपुरमा रहेको तनहुँ जिल्लाको सदरमुकाम दमौली सर्न पुग्नु र पृथ्वीराजमार्ग छिर्कने भएर कमलबारी, घाँसीकुवा हुँदै दमौली पुगे पछि दमौली बन्दीपुर जाने मार्ग पनि ओझेलमा पर्दै गयो । कुलुङ जाने पदयात्रीहरुको संख्या दिन प्रतिदिन ह्वात्तै घट्यो । बिस्तारै कुलुङ गाउँ ओझेलमा पर्दै गयो । यहाँका ब्राह्मणहरु कोही सुखौरा, छाब्दी फाँट, दमँौली बजार र चितवनमा बसाइ सर्न पुगे । स्वर्गद्वारी लाग्ने कुलुङबाट दमौली, सुखौरा फाँट लगायतका फाँटहरुमा लाग्ने कुहिरोको श्वेतसागर, चाँदी झै टल्कने हिमश्रङ्खला, छिम्कालेखमा देखिने प्रातकालीन सूर्योदय एवं मानहुँ लामीडाँडामा साँझपख देखिने सूर्यास्तको अनुपम दृश्यहरुको अवलोकन गर्न सकिन्छ । विविधताले सिंगारिएको कुलुङ गाउँ पर्यटकहरुको मन जित्न सक्ने स्थल भएता पनि कुलुङकोट सम्म पुग्न सकिने साधन र श्रोतको अभावमा यहाँको पर्या–पर्यटन विकास गर्न नसकिएको कुरा वडा अध्यक्ष काजीमान श्रेष्ठले बताउनु भयो। जे होस आन्तरिक पर्यापर्यटन अभिबृद्धि गर्नमा स्थानीय निकायले चासो देखाएता पनि मूर्तरुप दिन सकेको पाईदैन । कुलुङ निवासीहरुमा आफ्नो गाउँमा पर्यटक भित्र्याउने  लगावताको सृजना हुनाले कुलुङको आन्तरिक पर्यटन अभिवृद्धिका साथसाथै स्थानीय कला र संस्कृतिको पनि जगेर्ना हुँदै आएको छ ।
मगर समुदायको प्रीय नाच भनेको कौरा हो । कुलुङको कौरा नाचको लोकप्रियता बढदै गएपछि कुलुङमा कौरा नाच नचाउन र नचाएको हेर्न जानेहरुको संख्या दिनप्रतिदिन बढदै गइरहेको आभाष मिलेको छ। कौरा जस्तै मगर समुदायमा, घाँटु, सोरठी, मारुनी र दोहोरी लोकगीतहरु घन्कने गर्दछन् । नाचगानका सौखिन मगर जातिहरु भएकाले गाउँगाउँमा आन्तरिक पर्यटन अभिबृद्धि हुँदै आएको छ । पर्यटनको विकासले स्थानीय समुदायको  आर्थिक सम्बृद्धिमा योगदान पु¥याउन सक्ने भएकोले वडा अध्यक्ष काजीमान श्रेष्ट पर्यटन विकासका योजनाहरु तय गर्नमा उत्सुक भएता पनि साधन र श्रोतका अभावमा आफैमा रुमल्लिन परेको तितो यथार्थ पनि नभएको कहाँ हो र ? कुलुङ गाउँमा उत्पादन हुने सुन्तलाले यहाँ सुतलाबारी होमस्टे जस्ता कार्यक्रमहरु राख्न सकिन्थ्यो । दमौली कुलुङ हुँदै बन्दीपुर जाने मोटर मार्ग अपरीहार्य छ । बन्दीपुर गाउँपालिकासंग कुलुङले एकीकृत पर्यटन कार्यक्रममा समावेस गर्न सक्यो भने कुलुङ एवं बन्दीपुर दुबै ठाउँको पर्यटन विकासमा सहयोग पुग्ने गर्दछ । बन्दीपुरसंगको सहकार्यताले यहाँको जनसमुदायको आर्थिक सम्बृद्धि हुनेमा कुनै दुविधा देखिंदैन ।
क) कुलुङ मगरहररुले राज्य गरेको थुम हो । यहाँका दुरुङ्च्या मगरहरु यस थुमका थुमथुमे राजाहरु हुन । अहिले पनि उनीहरुके बोलवाला रहेको छ । यहाँको सुरक्षागढीलाई ध्वस्त बनाइए पछि कुलुङले ऐतिहासिक पर्यटन अभिबृद्धि गर्ने नम्वरी पाङ्ग्रा गुमाएको छ । कुलुङमा पर्या–पर्यटन अभिबृद्धि गर्न यहाँका जनसमुदायले कुलुङको माटो र पानीको मूल संरक्षणको लागि गाउँमा रहेका नयाँ तथा पुराना पोखरीहरुको समुचित व्यवस्थापन, गाउँघरको सरसफाई, कुलुङ पर्यटन सूचना केन्द्र, ऐतिहासिक, धार्मिक र साँस्कृतिक झझल्को दिने संग्राहालय स्थापना गर्न जरुरी देखिएको छ ।
(ख) कुलुङमा घरबास कार्यक्रमः वि.सं. २०७७ सालदेखि कुलुङको १० घरमा घरबास कार्यक्रम (होमस्टे) सञ्चालन हुँदै आएको छ । हरियो वन कार्यक्रमसंगको साझेदारीमा अधिकारका लागि पहुँच कार्यक्रममा गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय एवं गैर सरकारी संस्थाले कुलुङमा घरवास कार्यक्रम सञ्चालन गरेका हुन् । उद्देश्य अनुरुपको कार्य गर्न गण्डकी प्रदेश सरकारले कुलुङ घरवास कार्यक्रमलाई सुरुमा १० लाख र समयमै कार्यक्रम सम्पन्न गरेको हुनाले पछि पाँचलाख आर्थिक सहयोग गरेको थियो भने स्थानीय पालिका व्यास नगरपालिकाले घरवास कार्यक्रम प्रभावकारी बनाउन १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
अहिले कुलुङगाउँमा आउने पाहुनाहरुलाई गाउँघरका करेसावारी उत्पादन गरिएका तरकारी, मकै तथा कोदोको ढिंडो, लोकल खसी, बोका, सुंगुर तथा कुखुराका मासुका साथमा अर्गानिक खाना प्रबद्र्धन गर्दै आएको पाइछ । कुलुङ मगरजातिहरुको सघन बसोबास रहेको स्थल हो । मगर समुदायको सबैभन्दा प्रीय नाच कौरा हो। केशवटार भित्रै सुकौरा गाउँ पनि पर्दथ्यो । अत्यधिक राम्रो रमाइलो नाच देख्दा मगर भाषमा “सु कौरा” भनेर सोध्ने गरिन्थ्यो । त्यही “सु कौरा“ कालन्तरमा गाउँको नाम नै सुकौरा भएको र सुकौरा शब्द अपभ्रंश भइ आजकल सुखौरा भन्ने गरिएको पाउँदछौं। कुलुङले आन्तरिक पर्यापर्यटनको अभिबृद्धिका साथसाथै कौरा, सोरठी, घाटु, मारुनी जस्ता नाच एवं दोहोरी लोकगीतहरुको संरक्षण तथा स्थानीय कला र संस्कृतिको पनि जगेर्ना गर्दै आएको छ । नाचगानका सौखिन मगर जातिहरु कै कारण गाउँ गाउँमा आन्तरिक पर्यटन अभिबृद्धि हुँदै आएको छ ।

कुलुङकोटमा कसरी पुग्न सकिन्छ ?

दमौलीबाट १८ कि.मि. दुरी तय गर्दै व्यास–१३ पोखरीभञ्ज्याङबाट व्यास–१४ केशवटार हुँदै कुलुङकोट पुग्न सकिन्छ भने पृथ्वी राजमार्गको छिर्कनेबाट ७ कि.मि.दुरी, केशवटारबाट ३ कि.मि., पहाडकीरानी बन्दीपुरबाट मुकुन्देश्वरीको बाटो हुँदै १२ किलोमिटर र तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीवाराही मन्दिरबाट ६ कि.मि.दुरी पार गरेर मात्र कुलुङ गाउँमा पुग्न सकिन्छ । दमौली छाब्दी कुलुङसम्मको पैदल यात्रा गरियो भने २ घण्टामा पैदलै सजिलै पुग्न सकिन्छ। यसै गरी केशवटारबाट कुलुङ ३० मिनेटमा र छिर्कनेबाट कुलुङ ४५ मिनेटमा आनन्दसाथ पुग्न सकिन्छ ।
चौविसीकालमा चार खण्डमा विभाजन भएको तनहुँको तनहुँसुर खण्डमा राजा कामारीदत्त सेन, बन्दीपुर खण्डमा माहिला राजकुमार हरकुमारदत्त सेन, चितवनमा राजेश्वर (विचित्र) सेन र हाल भारतको बिहारमा अवस्थित राजपुरको रामनगरमा जानकीदत्त सेनहरु तनहुँको प्रशासक भइ शासन गरेका थिए । पोखरीभञ्ज्याङ, केशवटार, कुलुङकोट, रामकोट, वेनीकोट मुच्चुक, बन्दीपुर, आँबु, धरम्पानी, सिञ्च्याङगढी, प्याउलीगढी, घण्टाचुली देवघाट, गैंडाकोट, भेडावारी समेतको भूभागको रजस्थल रहेको तनहुँको बन्दीपुर खण्डको रजस्थल कालान्तरमा तनहुँको शेषराज्यको रजस्थल सुरुमा बन्दीपुर र अन्तिममा घण्टाचुलीले बिंडो धान्न पुगेको थियो । वि.सं. १९४३ मा मात्र हरकुमारदत्त सेन तनहुँको विरासत राज्य रामनगर पुगेर त्यहाँको सामन्त सरहको राजा बनेर राजकाज गरेका थिए । सेन राजाहरुको चकचकी रहेको कुलुङकोटमा केही समय भित्रै गाँस वास कपासको साथ साथै शिक्षा, सञ्चार र यातायातको सुगमता पुग्न सक्यो भने पहाडकी रानी बन्दीपुर मात्रै होइन समग्र कुलुङकोटले आफ्नो दिव्य अनुहार फेर्न सक्दछ समग्र कुलुङकोटकोे चुचुरा फूलोस फलोश यही शुभकामना ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker