उपन्यास “अशून्यम्” र उपन्यासकार काशीनाथ न्यौपाने

देव बस्न्यात

हुन त गुरुद्वारा रचित उपन्यासको समिक्षा गर्न खोज्नु शिष्यहरुको दृष्टता गर्नु मात्र हो । तैपनि काशीनाथ न्यौपानेद्वारा लिखित ‘अशून्यम्’ उपन्यास पढेपछि केही लेख्नै पर्छ भन्ने हिम्मत बढ्यो । न्यौपाने साविक श्याम्घा गाविस हाल व्यास–६ मादीवेसीमा वि.सं. २००८ साल श्रावण महिनामा जन्मिएका हुन् । कानुन विषयमा स्नातक गरेता पनि पूर्वी साहित्य दर्शनका एक रत्नका लिन सकिन्छ । पिता नारायणदत्त न्यौपाने र आमा सन्तुमाया न्यौपानेका पुत्र काशीनाथ न्यौपाने नेपाली साहित्यका कुलदीपक पनि हुन् । उहाँका प्रकाशित कृतिहरुमा विसङ्गति (नाट्य काव्य–२०४६), आयाष (दर्शन विषय–२०५२) , व्यास जन्मभूमि र तनहुँका  ऐतिहासिक  सम्पदाहरु–२०५४, पहिलो कृति चौथो प्रकाशन (कविता संग्रह–०५५), वेदव्यास जन्मभूमिका सन्दर्भहरु–२०५७, विरजा महाकाव्य–२०५२, मदनीका उपन्यास–२०६६ र आत्मघात क्रान्ति–२०७१ र अप्रकाशित कृतिहरुमा नैयाँ जातिको सामाजिक अध्ययन, आनन्द रामायण (नेपाली भाषामा अनुवाद) रहेका छन ।
रेडियो नेपाल र विभिन्न पत्र पत्रिकाहरुमा उहांँका लेखहरु वाचन र प्रकाशन भइ सकेका छन् । पूर्वीय साहित्य दर्शनलाई साहित्यको मूल मर्म सम्झेर आफ्ना कृतिहरु प्रस्तुत गरेका न्यौपानेले पूर्वीय आध्यत्मिक दर्शन बारे आफ्नो व्यासत्व प्रकट गर्ने उत्कट चाहाना देखिन्छ। विभिन्न महाकाव्य, नाट्यकाव्य, धार्मिक ऐतिहासिक ग्रन्थ, धर्म–दर्शन र अनुवादीय कृतिहरुले उनको व्यासत्वलाई अझ प्रवाहित गर्दै लगेको पाएका छौं । त्यसैको उपज यो ‘अशून्यम्’ उपन्यास हाम्रो सामु आएको छ। न्यौपानेजी व्यास नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति, गण्डकी वाङ्मय प्रतिष्ठान तनहुंँका पूर्वअध्यक्ष, वेदव्यास पुस्तकालय तनहुँका अध्यक्ष, व्यासक्षेत्र विकास कोषका संस्थापक अध्यक्ष र हाल सो संस्थाका संरक्षक, संस्कृत मा.वि. दमौली तनहुँका शिक्षक र श्रीकृष्ण द्वैपायन वेदव्यास जन्मभूमि दमौली तनहुंँ नै हो भनि निरन्तर लेख लेखि विश्वमा प्रचार प्रसार गर्न अहोरात्र मरिमेटी खट्ने बिचार दर्शनका खानी, व्यास जन्मस्थलका अन्वेषक व्यासका अध्येता, श्रीकृष्ण द्वैपायन वेदव्यास सत्सङ्ग मण्डली दमौली तनहुंँका प्रवाचक हुन् । हरेक दिन धार्मिक प्रवचन दिने धर्म र दर्शनका विचार प्रवाहक न्यौपाने दमौलीका आदरणीय पुरुषरत्न हुन् ।
अशून्यम उपन्यासका माध्यबाट पनि पूर्वीय दर्शनको रसस्वादन गर्न सकुन भनेर दर्शन शास्त्रका प्रवचक न्यौपानेले निकै सरल भाषा शैली अप्नाउन लागिपरेका छन् । जो कोहीलाई सरल भाषामै पूर्वीय दार्शनको विश्लेषण गरेर बुझ्ने बुझाउन सक्ने प्रयत्न गरेका छन् भने विश्वमा अन्य चिन्तन र वादभन्दा पूर्वीय चिन्तन अब्बल छ भनि प्रमाणित गर्ने भरमग्दुर प्रयत्न पनि गर्दै आएका छन् । व्यासभूमिको सन्देश प्रवाहदेखि व्यासजीको १०८ फिट अग्लो मूर्ति निर्माणमा उनले खर्चदै आएको समय र निरन्तरको लगनशिलताले दिइएको अमूल्य सन्देशलाई हाम्रो सतही अध्ययनले यथार्थ कुराहरुको समिक्षा गर्न नसकिएला नै । हुन पनि प्रस्तुत उपन्यास अशून्यम्को समिक्षामा पनि त्यस्तै त्यस्तै नभेटिएला भन्न सकिन्न । जे होस अशून्यम् उपन्यासको सुरुदेखि अन्त्यसम्म पढेर केही लेख्ने जमर्को गरेको छु ।
पूर्वीसाहित्य दर्शनमा ० देखि ९ सम्मका अङ्कहरु पाइन्छन् जसलाई मूलअङ्क भन्ने गरिन्छ । जस्मा जोर अङ्कहरु जस्तै ८ को अङ्कलाई १,२,३,४,५,६,७,८,९ र १० अङ्कसंग गुणनफल निकाल्दा ८, १६, २४, ३२, ४०, ४८,५६,६४ ७२,८० हुने गर्दछ । यसरी निकाल्दा आएको गणनफल जोड्दा सर्वप्रथम आठ तत्पश्चात क्रमश ७,६, ५, ४,१२, ११, १० ९ र ८ हुने गर्दछ। यही घट्ने बढ्ने प्रकृयालाई मायाको अङ्क भन्ने गरिन्छ । यसैगरी ९ अङ्कको गुणनफल ९, १८, २७ ३६, ४५, ५४, ६३, ७२ र ९० हुन आउँछ । यहाँ हरेक गुणनफलाई जोडदै गयौ भने केबल ९ अङ्क मात्र आकर्षित हुन आउँछ । यही समान हुने अङ्क फललाई अक्षयको अङ्क तथा ब्रह्मप्रतिक अङ्क भन्ने गरिन्छ । अक्षय अङ्क घटबढ नहुने र मायाको अङ्का घटने र बढ्ने गर्दछ । यस्तो हुनु भनेको आपसमा माया बढ्नु र एकसी माया घट्नु हो । अङ्कमालामा हरेक नवौं अङ्कहरु पछि आउने अङ्कहरु पुनः दोहोरिएर आउने गर्दछन् ।
न्यौपानेका हरेक कृतिहरु अध्ययन गर्दैे जाने हो भने त्यस्तै त्यस्तै लक्षणहरु देखिन्छन् तर यो अपवादमा उत्रिएको छ। यात्रा संस्मरणका गौणपात्रलाई एकछिन हटाउने हो भने यस उपन्यासमा उपन्यासकारले केबल तीन जनालाई कथाका सुत्रधारको रुपमा प्रस्तुत गर्नु भएको छ । अङ्क तीनलाइ पनि नौ जस्तै अक्षय अङ्क मान्न सकिने देखिएको छ ।
न्यौपानद्वारा लिपिबद्ध भएको अशून्यम उपन्यास बुक हिल प्रकाशनले प्रकाशित गरेको छ । वास्तवमा अशून्यम् शून्यम्बाट एक हुँदै अनेक बन्न जाने प्रकृया हो । सूक्ष्म अवस्थामा रहेको स्थिरता नै शून्य र निरपेक्ष तत्व हो, जसबाट संसार र समयको एक साथ आरम्भ हुन पुग्दछ । जहाँ शून्यको परिकल्पना गरिन्छ त्यहाँ एकबाट अनेकको आरम्भता हुन पुग्दछ । न्यौपानेजीका कृतिहरु अक्षय अङ्कसंग तालमेल देखिन्छ । प्रस्तुत अशून्यम्मा उपन्यासका तीन खण्डहरुमा आरम्भ खण्डको, प्रथम भागमा ४ उपसर्ग, द्वितीय खण्डमा ३ उपसर्ग र बिटौरीमा समेत ९ वटा खण्डहरु भेटिन्छन् । यसैगरी यस उपन्यासका मूर्त पात्रहरुमा बाबा, छोरी र माझी गरी तीनजना देखिन्छन् भने लेखकका पिताद्वारा लिपिबद्ध यात्रा संस्मरणमा अमूर्त पात्रहरुमा गुरु गोरखनाथ र उनका पाँच साधक समेत भेटिदा प्रस्तुत उपन्यासमा मूर्त अमूर्त पात्राहरुको संख्या जोडदा ९ को संख्या नै भेटिन्छ । जुन अक्षय अङ्क हो । उपन्यासकारले पहिला पहिला हाम्रो बसाइ गाउँ र बेसीमा हुने कल्पना गरेका छन् । यर्थाथतामा पनि त्यही हो । त्यो गाउँ लेखक स्वयंको जन्मथलो श्याम्घा हो । उहाँका हजुरा बाबाले बनाएको गाउँको घर साततले दरवार थियो तर बेसीको घर भने खरको बाक्लो छाना भएको दुइ तले पाउँदछौं । बेसीको घर नाम मात्रको घर देखिन्थ्यो । घरमा कोही मानिसको बसोबास थिएन । मानिसको बसाइ नहुँदा घरका भित्ताहरुको पोताइ र त्यसै माथि लगाइएको कमेराका पाप्रा उप्केर भित्रका गाह्रो छर्लङ्ग देखिने भइसकेको थियो । वास्तविकता पनि त्यस्तै छ ।
जाम्न गलेखाम गीत लेखन र छायाँङ्कनका बेला श्याम्घा पुगेका लेखक अहिलेसम्म श्याम्घा जाने जमर्को गरेका छैनन् । तै पनि बाबाको डायरी छोरीलाई पढ्न लगाइएको स्मृतिका पानाहरु पनि उनको आफ्नै अन्तरहृदयबाट मुखरित भएका आवाजहरु हुन् भन्दा फरक पर्दैन। मासाहार के हो, शाकारहार के हो भन्ने विषयलाई उजागर गर्न लेखकले जसरी आत्मघात क्रान्ति उपन्यासको माध्यमबाट आफना विचारहरु न्यौपानेले उजागर गरेका छन् । त्यसैगरी आफ्ना व्यक्तिगत अनुभूति र मिश्रित आध्यात्मिक विचारहरुलाई प्रस्टिकरण गर्न उपन्यासकार न्यौपानेले अशून्यम् उपन्यासको माध्यम लिएका छन् ।
उपन्यासको प्रारम्भमा बाबु छोरी नाताका दुइ यात्रीहरु अनायस आफ्नो पैतृक थलो श्याम्घामा आइपुग्दछन् । उनीहरु हावाहुरी, झरी, बादल नभनेर वेपर्वाहका साथ लामो समय पश्चात पैतृक थलोमा आइपुगेका थिए । भोटे ताल्चामा खिया लागेकोले मुस्किलका साथ घरको ढोका खोलिन पुगेको थियो । वेपर्वाह आएका यात्रीहरु संयमित हुँदा हुँदै पनि छोरीले अनायस हजुरबुबाका मधुस खोल्न पुग्छिन्। मधुस भित्र आफ्नै हजुरबुबाले अभिलेख गरेको यात्रासंस्मरणहरु सुरक्षित भेटिन्छ । मधुस भित्रको यात्रा संस्मरणका सन्दर्भ संस्मरण बाचिकामा छोरी, श्रोतामा नीजको बाबा र नीजहरुकै सेवक माझी देखा पर्दछन् । यात्रा संस्मरण पढ्ने या नपढ्ने दोधार भइरहेको बेलामा बाबाले छोरीलाई बाबाको दैनन्दिनी पढ्न आदेश गर्दछन् ।
उपन्यासका प्रमुख साधरण पात्रका रुपमा सुरुमा यहाँ बाबा, छोरी र माझीलाई मात्र प्रस्तुत गरिएको छ । बाबाले अभिलेख गरेको यात्रा संस्मरणमा भने अघोर, सद्योजात, वामदेव, तत्पुरुष र इशानहरुलाई साधकपात्रहरुमा र गुरुगोरखनाथ र सन्तु नारायणलाई सिद्धपुरुषहरुको रुपमा अघि सारिएको छ । यात्रा संस्मरणको पाना अध्ययन गर्दा उपन्यासकारले कल्पनालाई बढी प्रधानता दिइएको पाउँदछौं। उपन्यासकारले एउटा कल्पनाबाट आफ्नो चेतनशील शरीरको निर्माण प्रक्रिया कसरी बन्न पुगेको र यसलाई कुन नियम विनियमले निर्देशित गरेको छ भन्ने प्रस्ट्याउन प्रसस्त कसरत गरेको पाउँदछौं ।
समग्रमा यस उपन्यासमा उपन्यासकारले मुख्य १० जना पात्रहरुका माध्यमबाट सोह्रवटा जिज्ञासाहरुलाई कविराज सन्तुनारायण मार्फत प्रष्टाउने काम गरेका छन् । यस उपन्यासमा देखाइएका प्रमुख पात्र सन्तुनारायण सायद लेखक स्वयंकै आफ्नै पिता नारायणदत्त न्यौपाने हुन सक्दछन् भनेर अनुमान किन नगर्ने? मानिसको जन्म मृत्यु र यो धरती एवं जगत ब्रह्माण्ड अशून्यमबाट सुरु भएको र कल्पनायुक्त शून्यको अवस्था पनि अशून्यमबाट भएको निचोड निकाल्दै उपन्यासकारले उपन्यासको नाम नै अशून्यम् राखेको पाउँदछौं । उपन्यासकार न्यौपाने यथार्थ परक कल्पनाले जीवन प्रकटीकरण प्रतिविम्वित गर्ने कुरामा विश्वास राख्नुहुन्छ । यसैले उनले जहाँ कल्पनाको अभाव हुन्छ त्यहाँ वास्तविकताको धरातल मेटिने विश्वास भेटिन्छ। अशून्यम उपन्यासमा उपन्यासकार न्यौपानेले अशून्यम्को कल्पना गरेका छन् तर असून्यममा शून्य भेटिएकाले कल्पनाको सागरमा एक बन्न पुगेको र फेरी अरु कल्पना गर्दा एकबाट अनेक सृजित हुन पुगेको बताएका छन् । मानिस बोल्दाबोल्दै एकपछि अर्को र अर्कोपछि झन अर्को कल्पना गर्न भ्याउँछ । एकबाट अर्को र अर्कोबाट अर्को हुँदै अनेक हुन पुगेको हो भन्न सकिन्छ । यही आएर उपन्यासकार न्यौपानेले एउटा कल्पनाबाट अर्को कल्पनाको कल्पना गर्नु पाप नभएर भौतिक जगतको मूलसार मान्नु भएको छ। कल्पना नै जीवनको सुत्रधार हो र कल्पना नै वास्तविक जगतको सारतत्व हो भनेर उपन्यासकारले जोड दिएका छन् ।
यसैले उपन्यासकारले उपन्यासको प्रथम भागमा कल्पना शक्ति सिद्धान्त प्रस्तुत गरेका छन् । यही आएर उपन्यासकारले कुनै पनि भौतिक बस्तुको सिर्जना कल्पनाबाट भएको मान्नु भएको छ । त्यसैले कल्पनाबाट नै सशून्यबाट एक र एकबाट अनेक सिर्जना हुन पुगेको स्वीकार्दै कल्पना त्यो शक्तिको रुप हो जुन प्रत्यक्ष रुपमा भौतिक अभौतिक नियममा बाँधिएका मानेका छन् । कल्पनामा हस्तक्षेप नभइ रहँदासम्म अनन्त रुपमा भौतिक तत्वहरु सिर्जना भइरहन्छन्। कल्पनाबाट सिर्जित बस्तुहरु अनेक भएको तर एउटै सुत्रबाट बनेका हुनाले विभिन्न पदार्थहरुमा प्राकट्य हुने गर्दछन् । अज्ञानताबाट ज्ञानको सिर्जना हुने हुँदा कल्पनाको मूल आधार भनेको प्रकाश तथा ज्ञान नै रहेछ भन्ने कुरा बुझाउन प्रयत्न गरिएको छ । आखिरमा उपन्यासकारले ज्ञान भनेको दिव्य स्वरुपको प्रकाश हो भन्ने संकेत गर्नु भएको छ ।
उपन्यासको प्रथम भागमा न्यौपानेले कल्पनाको संरचना, कल्पनाको आकार, समय र शून्य एक (०–१) र जीवन प्रकटीकरणमा कल्पना र जीवनका विकासक्रम, कल्पना जीवन र ब्रह्मयात्रा  र अन्त्यमा जीवन र जगत के हो भन्ने विषयहरु समेट्नु भएको छ भने द्धितीय भागमा जीवनको प्रकटीकरण कसरी हुन्छ भन्ने विषयमा उपन्यासकारले प्रकाश पार्नु भएको छ ।
उपन्यासकार न्यौपानेले निशालाई कालको अन्तिम घडी मानेका छन् । यहाँ निशा भनेको अन्धकारलाई इङ्गित गरिएको छ। लेखकले यस दुनियाँमा  जीवन र जगत तथा सत्य र असत्य दुबै रहेको स्वीकारेका छन्। कल्पना शक्ति स्वयं अज्ञान भएर पनि ज्ञानबाट उदय हुने विश्वास राखेका छन् । वास्तवमा ज्ञानबाट सृष्टि बिस्तार हुने अनुभूती गर्नु भएको छ। मानिसमा बुनै बस्तु प्रति इच्छावृति चढ्दा कल्पना सिर्जना हुन पुग्दछ।  यही कल्पना भोक्ता र भोग्य पनि हो। यही आएर भोक्तालाई जीवन र भोग्यलाई जगत स्वीकारिएको पाउँदछौं। त्यही भएर जीवन र जगत एउटै श्रोतबाट बनेको भन्न मिल्दछ । जीवनसंग संयोग र अवस्था घुलमिल हुन सक्दछन् । जहाँ नयाँ कल्पना तथा विचारहरु प्रवाहित हुन पुग्दछन् त्यही कल्पनाहरु स्वतहः प्रज्वलित हुँदै जाने गर्दा रहेछन् भन्ने महसुस हुन्छ । ज्ञान, क्रिया र पदार्थ समेतको त्रिवेणीबाट मात्र जीवन सार्थक बन्दो रहेछ भनि हामीले अनुभव अनुभूती प्राप्त गरेका छौं । वास्तवमा यो नै सापेक्ष र अरु निरपेक्ष रहेछन भन्ने बुझिन्छ पनि । आखिर सापेक्षतामा बस्तुहरु भेटिने र निरपेक्षतामा बस्तुहरु विस्थापन हुने एवं हराउने गर्दा रहेछन, यो उपन्यास मार्फत उपन्यासकारले आफ्नो धारणाहरु अघि सारेको पाउँदछौं ।
अन्त्यमा, विद्वान प्राध्यापक सर्वराज आचर्यले पदार्थको आधार कल्पना, कल्पनाको आधार चेतना, चेतनाको आधार शून्यता शून्य रुपको आधार स्थिरता वा अशून्य हुन जाँदा सर्वत्र अभेद सिद्ध हुन जाने र इश्वरातित अवस्था नै मोक्ष वा निर्वाण हो र जीवनको श्रोतको अवस्था हो भन्ने विचार प्रकट गरेका छन् । आखिर यहाँ यस चेतन प्रकृतिको रहस्य बुझेर साक्षी भाव नबसेसम्म निर्वाण प्राप्त हुन नसक्ने रहेछ भन्ने उद्घोष गरिएको छ । उनले यहाँ पूर्णमौन अचल स्थिति वा स्थिरता नै निर्वाण हो भन्ने निष्कर्ष निकालेको पाइन्छ। यस पृथ्वीका हरेक साधकको यात्रा अशून्यता तर्फ हो भनिएको छ ।  समस्त ब्रह्माण्डका पदार्थ अशून्यमा निहित छन्, मृत्यु अचेतन पदार्थ वा इश्वरीय अवस्थामा परिणत भई हराउनु हो भने दृष्टिकोण उपन्यास भित्र नारायण प्रवचनका क्रममा प्रस्तुत गरिएको पाइन्छ ।
कृतिकार न्यौपानेले उपन्यासको बिट मार्ने क्रममा पनि उपन्यासको सुत्रधार र बिटमार्ने समयमा बाबा, छोरी र माझी तीनपात्रहरुलाई उपन्यासका वास्तविक पात्र मान्ने प्रयास गरेका छन्। प्रस्तुत उपन्यासमा यात्रासंस्मरण पढी सकिएको थिएन ता पनि यात्रा संस्मरण पढनलाई समयले नेटो काटेकोले उपन्यासकै बुजु्रक श्रोता मध्येको एकपात्र माझी प्रभात–कालको उज्यालोको अनुभूति गर्दै घर फर्कने बाटोको यात्रा तय गरी हाल्दछ । यात्री आफ्नो यात्रालाई अविरल बढाउँछ । यहाँ समयले कसैलाई पर्खदैन भनेर उपन्यासको बिट मारिएको छ । समग्रमा अशून्यम उपन्यास मार्फत वैदिक विषयका ज्ञाता लेखकले  जगतको प्राकट्य, यसका श्रृष्टिकर्ताका विषयमा प्राध्यापक सर्वराज आचर्यले नवदृष्टिकोण दिएको बताउँदै उनले लेखनी र चेतना शक्तिको प्रशंसा गरेका छन्। यसैगरी प्रा.डा. पदमप्रसाद देवकोटाको नजरमा काल्पनिक दर्शनको रुपमा अशून्यमा धारणा रहेको पाएका र डा. प्रभा कैनीले अशून्यम उपन्यासकार न्यौपानेले जीवन र जगत बुझेको हुनाले न्यौपाने दार्शनिक उपन्यासकार बोध भएको महसुस गरेकी छन् । उपन्यासकार न्यौपानै स्वयंले जन्म, उमेर मृत्यु र जगत ब्राह्माण्ड नै अशून्यबाट सुरु भएको र कल्पनायुक्त शून्यको अवस्था अशून्यम् भएको धारणा ब्यक्त गरेका छन् ।
श्रोत सन्दर्भ स्रोत ः
१, अशून्यम् उपन्यास– काशीनाथ न्यौपाने
२, उपन्यासकार न्यौपाने प्राध्यापक सर्वराज आचार्य
३, न्यौपानेको उपन्यास कृति अशून्यम लोकार्पण न्यूजलाइन्स मिडिया २०८० चैत्र १०
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker