पर्यटन बाहेक तनहुँका सबै क्षेत्र खुल्ला !

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । कोरोना संक्रमण दर घट्दै गएको र व्यवसायीहरुले निषेधाज्ञा हटाउन आग्रह गर्न थालेपछि स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेको हो । नयाँ भेरियन्ट सहितको दोश्रो लहरको कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले तनहुँमा गत वैशाख २३ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएपछि अहिले निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसंगै जिल्लाका पर्यटन क्षेत्र बाहेक शहर बजार क्षेत्रमा व्यापार व्यवसाय, होटल, रेष्टुरेण्ट, पार्टीप्यालेसका साथै शिक्षण संस्थाहरु खुल्न थालेका छन् । लामो समय बन्दाबन्दी गर्दा व्यवसाय, शिक्षण सिकाइ लगायतका क्षेत्रमा नकरात्मक असर पर्दै गएको र कोरोना संक्रमण दर पनि कम हुँदै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्ने गरी निषेधाज्ञा खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

जिल्लामा निषेधाज्ञा खुकुलो बनेसंगै व्यापार व्यवसाय, शिक्षण संस्था तथा सर्वसाधारणको दैनिकी विस्तारै लयमा र्फकन थालेको छ । स्थानीय प्रशासनले स्मार्ट लकडाउनको अवधारणा अनुसार अगाडि बढ्ने योजना बनाएको प्रजिअ आचार्यले बताए ।

निषेधाज्ञा खुकुलो बन्दै गएपछि नागरिकस्तरबाट लापरवाही बढ्दा व्यापार व्यवसाय सञ्चालन गर्न पनि त्रास बढेको व्यास-२ भेटघाटचोकका व्यापारि रमेश गिरी बताउँछन् । स्वास्थ्य सुरक्षाका सामाग्रिको प्रयोग गरी व्यवसाय खुल्ला गरिएको भएपनि ग्राहकहरुको लापरवाहीजन्य गतिविधिले कोरोना संक्रमण फैलने पो हो कि भन्ने त्रास बढेको उनले बताए । चाडपर्व भित्रीसक्दा पनि कोरोना कहरका कारण उपभोक्तामा कुनै उत्साह नदेखिएको व्यास-२ सफासडकका व्यापारी सिद्धिक मियाँ बताउँछन् । उनले भने, ‘तीज पर्वमा पनि सोचे जस्तो व्यवसाय भएन, अहिले उपभोक्ताहरु दैनिक खाद्यन्न जोडजाडमा बढि ध्यान दिएका छन्, कोरोना संक्रमण जोखिम कायमै रहेकाले पनि होला कुनै उत्साह छैन, व्यापार व्यवसाय खोल्ने र बन्द गर्ने मात्र भएको छ ।’ नभएको व्यापारीहरुको गुनासो गर्न थालेका छन् ।

तनहुँका १० वटै पालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड र कोभिड-१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि-२०७८ मा उल्लिखित सूचक अनुसार पर्यटकीय क्षेत्र बाहेक अन्य क्षेत्रलाई खुल्ला गर्दै लगेका छन् । धेरै विद्यार्थी संख्या भएका विद्यालयहरुमा जोरविजोर प्रणालीबाट विद्यार्थीहरु सहभागि गराइ भौतिक रुपमा पठनपाठन सञ्चालन गरिएको छ । २५ जनाभन्दा नबढ्ने गरी न्यूनतम सहभागितामा तालिम तथा प्रशिक्षणका कार्यक्रम, ५० प्रतिशतमा नबढ्ने गरी बेलुका ६ बजेसम्म सञ्चालन गर्ने गरी पार्टीप्यालेस, होटल तथा रेस्टुरेन्ट बेलुका ९ बजेसम्म अन्य सेवा तथा व्यवसाय बेलुका ७ बजेसम्म सञ्चालनको अनुमति दिइएको छ ।

जिल्लामा सबै क्षेत्र खुल्ला भएका र स्वास्थ्य वीज्ञहरुले कोरोनाको तेश्रो लहरको जोखिम बढेको भन्दै सचेत गराइरहेपनि लापरवाही र भिडभाडजन्य गतिविधि बढ्दै गएको छ । निषेधाज्ञा खुकुलो बने पनि कोरोना संक्रमण जोखिम कायमै रहेको र हाम्रा ठूला चार्डपर्वहरु नजिकिएका हुँदा स्वास्थ्य सुरक्षामा ध्यान दिन व्यास नगरपालिकाका जनस्वास्थ्य अधिकृत प्रमोद सोतीले बताए । तेश्रो लहरको कोरोना संक्रमण फैलिएमा तत्काल रोकथाम तथा न्यूनिकरणका लागि आवश्यक तयारी अवस्थामा रहन स्वास्थ्य संस्था तथा स्थानीय पालिकाहरुलाई जिल्ला कोभिड व्यवस्थापन समिति तनहुँले अनुरोध गरेको छ ।

स्वास्थ्य कार्यालय तनहुँको पछिल्लो तथ्याङ्क अनुसार वैशाख महिना यता ६ हजार ४५८ जनाको पिसिआर र ७ हजार ६५१ जनाको एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गर्दा ५ हजार २०६ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमित मध्य हालसम्म ४ हजार ९३९ जना निको भएका छन् भने संक्रमणबाट ११६ जनाको मृत्यु भएको छ । तनहुँमा १५१ जना सक्रिय संक्रमित मध्ये १४१ जना होम आइसोलेसनमा बसेका छन् भने १० जनाको संस्थागत आइसोलेशनमा राखेर उपचार भइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker