शुक्लागण्डकी र आँवुखैरेनीका भूमिहीनलाई पुनः निवेदन खुला
भञ्ज्याङ समाचारदाता/दमौली

राष्ट्रिय भूमि आयोगले तनहुँका दुइ पालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि पुनः निवेदन खुला गरेको छ ।
आयोगले शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि निवेदन दिन ३५ दिने सूचना जारी गरिएको हो । आयोगले सूचना प्रकाशन गर्दै आफ्नो वडामा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको छ ।
शुक्लागण्डकी र आँबुखैरेनीले विभिन्न कारण देखाइ लगत संकलनको काम सम्पन्न हुन नसकेको भनी आयोगमा पुनः सूचना प्रकाशनका लागि अनुरोध गरेको थियो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले यसअघि निवेदन दिन छुट भएकालाई लक्षित गरी पुनः निवेदन संकलन गर्न लागिएको बताए ।
दुइ पालिकामा भदौ २ देखि ३५ दिनभित्र स्थानीय तहबाट वडामा तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत पेश गर्न आग्रह गरिएको छ । यसअघि निवेदन परिसकेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले पुनः निवेदन दिनु नपर्ने तर निस्सा लिन सम्बन्धित वडामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
यसअघि जिल्लाका दशवटै पालिकामा लगत संकलन गरिसकिएको थियो । शुक्लागण्डकी र देवघाटका एक/एक वडामा जग्गा नापीको कामसमेत सुरु भइसकेको छ ।
राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार शुक्लागण्डकी नगरपालिका-७ र देवघाट गाउँपालिका-५ मा जग्गा नापजाँचको काम जारी छ । हालसम्म बन्दिपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका-१ र २, देवघाट गाउँपालिका-५, भानु नगरपालिका-१, व्यास नगरपालिका १, २, ३ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको छ ।
जिल्लाका दश पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ को निवेदन दर्ता भएको छ ।










